close

बाँझो खेत हरभरा हुने आशमा कृषक (भिडियाे खबर)

बाँझो खेत हरभरा हुने आशमा कृषक (भिडियाे खबर)

ADVERTISEMENT

नुवाकोट- ‘आकाशको फल : आँखा तरी मर’  उखानसरह रहेको नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नम्बर २ को ‘बुङबुङे-माझीटार’ सिँचाइ योजनाले अब सार्थकता पाउने भएको छ । झन्डै ३ सय घरधुरी किसानको १७ सय रोपनी जग्गामा बाह्रै महिना सिँचाइ सुविधाको परिकल्पना साथ सुरु भएको योजनाले अलपत्र हुने अवस्था पार पाउन लागेको हो ।


फाँटैफाँटका समथर भूभागले भरिएको भए पनि नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नम्बर  २ का विभिन्न बस्तीका उर्बर भूमि यतिबेला बाँझै छन् । करिब ८ किलोमिटरको दूरीमा पर्ने धादिङसँगको सीमा छुट्याउँदै बगेको कोसी खोलामा पर्याप्त पानी छ । 

 

त्यहीँ खोलाको बाँध बाँधेर पानी ल्याउन २०५४ मा सुरु भएको ‘बुङबुङे-माझीटार’ सिँचाइ योजनामा किसानले सयौँ दिन श्रमदान गरेर कुलोको स्वरूप दिएपनि अझै अन्तिम गन्तव्यसम्म पानी पुर्‍याउन सकिएको छैन । यही योजनामा विभिन्न समयमा राज्यकोषबाट १ करोड ७५ लाख रुपैयाँ लगानी गरेर बनाइएका सिँचाइको संरचना पनि जीर्ण बन्दै गएको छ ।


तर, अहिले जलस्रोत तथा सिचाइ विकास डिभिजन कार्यालय नुवाकोट जीर्ण योजना खोज्दै त्यसलाई पूरा गर्न तम्सिएपछि आशा पलाएको स्थानीय उपभोक्ता रामबहादुर थापा मगर सुनाउँछन् ।


यो वर्ष जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले २५ लाख रुपैयाँ बजेट उपलब्ध गराएसँगै उपभोक्तामा खुसी छाएको छ । आवश्यकताको आधारमा सिँचाइ अभावले टारी खेतबारी बाँझै छाडेर कामको खोजीमा विदेश पुगे पनि कोरोनाका कारण गाउँ फर्किएका युवालाई अब यहीको बाँझो खेतमा हरियाली बनाउँदै आर्थिक उपार्जनमा लगाउन सकिने बुङबुङे-माझीटार सिँचाइ आयोजनाका अध्यक्ष कृष्णप्रसाद नेपालले बताए ।

 

तत्कालका लागि जिल्लाका योजनाको खोजीको क्रममा देखिएको ‘बुङबुङे-माझीटार’ सिँचाइ योजना पूरा गर्न बहुवर्षीय योजनामा समावेश गरेर बजेट सुनिश्चित गरेको छ । खेर गएको पानी प्रयोग गरी सिँचाइ सुविधा पुर्‍याएर किसानको आर्थिक उपार्जन बढाउन पहल गरिरहेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, नुवाकोटका प्रमुख हरिप्रसाद गुरागाईंले बताए ।


कृषि उब्जनीको लागी भण्डारण स्थल रहेको नुवाकोट जसरी यहाँको टार र फाँटले भरिएका छन्, त्यसको लाभ किसानले उठाउन पाएका छैनन् । ‘बुङबुङे-माझीटार’ सिँचाइ योजना पूरा हुँदा ३ सय घरधुरी किसानको १७ सय रोपनी सिञ्चित हुने थियो ।