close

सूर्योदयका किसानलाई उन्नत जातको गाई उपहार 

सूर्योदयका किसानलाई उन्नत जातको गाई उपहार 

Trulli
ADVERTISEMENT

इलाम- सूर्योदय नगरपालिकाले गाईपालन व्यवसाय सञ्चालन गर्न किसानलाई उन्नत जातको गाई दिन थालेको छ । विभिन्न समस्याले आर्थिक अवस्था कमजोर भएर घर परिवार चलाउन नसक्ने विपन्न परिवारलाई उन्नत जातको गाई वितरण गर्न लागेको हो ।

 

नगरपालिकाको किसानसित समृद्ध कार्यक्रम अन्तर्गत दीर्घ रोगले आर्थिक अवस्था कमजोर भएका घरपरिवार, विपन्न एकल महिला, दलित परिवार, विदेशबाट दुःख पाएर स्वदेश फर्किएका युवा, विपन्न र आर्थिक समस्यामा परेकालाई गाई दिइएको नगर प्रमुख रणबहादुर राईले जानकारी गराए ।

 

‘एक घर एक उन्नत गाई’ नगरको नीति अनुसार गाई वितरण कार्यक्रमले नगरवासीको आर्थिक जीवनस्तर उकास्न सहयोग पुग्ने नगरको बिस्वास छ । नगरको दीर्घकालीन योजनामा प्रतिदिन २ लाख लिटर दुध उत्पादन गरी मिल्क होलिडेको अन्त्य गर्दै दुग्धजन्य पदार्थको उद्योगको विकास गर्ने बताइएको छ । नगरपालिकाको गाई प्रर्वधन कार्यक्रमबाट एक सय घर परिवार लभान्वित हुने नगरपालिकाले जनाएको छ । 

 

८२ लाखको गाई वितरण गर्ने

 

नगरपालिकाले ८२ लाख बराबरको गाई वितरण गर्न लागेको छ । गाईपालनलाई दिगो व्यवस्थापन गर्न लागत मूल्यको ८० प्रतिशत नगरपालिका र किसानको २० प्रतिशत साझेदारीमा गाई किनेर वितरण गर्न लागेको कार्यक्रम संयोजक देबेन्द्र शर्माले जानकारी गराए । 


 
साझेदारी लगानीले गाई पालन व्यवसायलाई दिगो व्यवस्थापन गर्न सहयोग गर्ने नगरपालिकाले जनाएको छ । व्यवसाय सञ्चालन गर्न चाहना भएका, लगानी नभएकालाई पनि आवश्यकता हेरेर थप अनुदान दिने लागेको कार्यक्रम संयोजक शर्माको भनाइ छ ।


नगरपालिकाले व्याएको तीन महिना ननाघेको बाछा÷बाछी सहित दिनको १२ लिटर दुध दिने उन्नत जातको एक वा दुई बेतको गाई र तेस्रो बेतको भए बाछी सहितको १५ लिटर दुध दिने गाई वितरण गर्न लागेको छ । 


पाँच दिनसम्म गाई पालन सम्बन्धि तालिम दिएर वितरण गरिरहेकोमा यसवर्ष किसानको घरमै घुम्ती शिविर अन्तर्गत तालिम दिएर गाई हस्तान्तरण कार्यक्रम गरिरहेको छ ।

 

नगरपालिकाले ६५ हजार देखि एक लाख तीस हजार बराबरको गाई खरिद गरि बितरण गरिरहेको पशु सेवा शाखाले जनाएको छ । 

 

नगरपालिकाको गाईपालनमा किसानसँग गरेको साझेदारी कार्यक्रमले उन्नत जातको गाईको खपत बढाएर दुध उत्पादनमा सहयोग मिल्ने आशा गरेको छ । यसका साथै जिल्ला बाहिर जाने गाईलाई स्थानीय क्षेत्रमै उपयोग गर्न सहयोग मिलेको बताइएको छ । 

 

गाईको बिमा नगरपालिकाले गरिदिने

 

नगरपालिकाले किसानलाई दिएको गाईको बिमा समेत गरिदिएको छ । छनौटमा परेको किसानले तोकिएको मापदण्डको गाई किन्ने भएपछि नगरपालिकाको पशु शाखाको प्राविधिकले चेकजाँच गरेर नगरपालिकाले खरिद गर्ने बताइएको छ ।

 

गाई पाल्ने किसानलाई नगरपालिकाले तालिम दिएर घाँस उत्पादनका लागि बिउँ समेत वितरण गरिरहेको कार्यक्रम संयोजक देबेन्द्र शर्माले जानकारी गराए । उनले अनुदानमा दिएको गाई पाल्ने किसानलाई नगरपालिकाले दिएको घाँस र प्राविधिक सहयोगले किसानलाई हौसला मिल्ने विश्वास व्यक्त गरे ।

 

किसानलाई गाई वितरण कार्यक्रमले नगरपालिकामा प्रतिदिन २ लाख लिटर दुध उत्पादन गरी मिल्क होलिडेको अन्त्य हुनेछ । यसका साथै दुग्धजन्य पदार्थको उद्योगको विकास र व्यवसाय समेत बढ्ने नगरको भनाइ छ ।