close

इलाम नगरका किसानलाई टर्कीका ओखरकाे बिरुवा 

इलाम नगरका किसानलाई टर्कीका ओखरकाे बिरुवा 

Trulli
ADVERTISEMENT

इलाम- इलाम नगरपालिकाले किसानलाई दाँते ओखरको बिरुवा वितरण गरेको छ । किसानलाई वैकल्पिक आर्थिक स्रोत जुटाउन सहयोगस्वरूप नगरपालिकाले ओखरका बिरुवा वितरण गरेको हो ।


नगरपालिकाको वडा नम्बर १, ३ र ४ को साँखेजुङ, पुवामझुवा, माईपोखरी र बरबोटेका ५० जना किसानलाई ओखरका बिरुवा वितरण गरिएको छ । उनीहरूलाई टर्कीबाट ल्याइएको च्याङ डलर जातको ओखरको बिरुवा वितरण गरिएको नगरपालिकाका सूचना अधिकारी रामकुमार साहले जानकारी दिए ।


प्रतिकेजी ७ सयदेखि ८ सय रुपैयाँसम्म बिक्री हुने ओखरले किसानको आम्दानी स्रोत बढाउन सहयोग पुग्ने हुँदा निःशुल्क बिरुवा वितरण गरिएको नगरप्रमुख महेश बस्नेतले बताए । 

 

‘किसानको आर्थिक जीवन स्तर सुधारेर व्यवसायी बनाउन कृषिमा लगानी गरिरहेका छौँ’, प्रमुख बस्नेतले भने, ‘ओखर रोपेर किसानले आम्दानीको स्रोत बनाउन सहयोग पुग्ने उद्देश्यले बिरुवा वितरण गरेका हौँ ।’


कृषि शाखाको निगरानी

 

नगरपालिकाले किसानलाई ३ लाख ५० हजार रुपैयाँको बिरुवा बाँडेको छ । बाँडिएको ओखर १ हजार २ सयदेखि २ हजार ३ सय मिटरसम्मको उचाइमा रोप्न सकिने कृषि प्राविधिक बताउँछन् । 

 

किसानलाई वितरण गरेको बिरुवाको आवश्यक निगरानी नगरपालिकाको कृषि शाखाले गर्नेछ । रोपेपछि बिरुवाको अवस्थाबारे निरन्तर कृषि प्राविधिकको सम्पर्कमा रहनसमेत नगरप्रमुख बस्नेतले किसानलाई आग्रह गरे ।

 

कृषि वैज्ञानिक उपेन्द्र नेपालका अनुसार यो जातको ओखर दोमट माटोमा उपयुक्त हुन्छ । बिरुवा ३० दिनअगाडि खनेको ३ फिट गहिरो खाडलमा रोप्नुपर्ने हुन्छ ।


 
बिरुवाका लागि खनिएको खाल्डोमा पोटास, युरिया र कुहिएको गोबर मलको उचित मात्रा मिलाएर लगाउनुपर्छ । यो ओखरको बिरुवाले रोपेको तेस्रो वर्षदेखि नियमित फल दिन थाल्ने कृषि वैज्ञानिक नेपालले बताए ।