close

दाँते ओखरले भरिँदै रुकुम पूर्वका कान्ला

दाँते ओखरले भरिँदै रुकुम पूर्वका कान्ला

Trulli
ADVERTISEMENT

रुकुम पूर्व– लुम्बिनी प्रदेशको हिमाली जिल्ला रुकुम पूर्वका कृषक दाँते ओखर खेतीमा आकर्षित भएका छन् । प्रशस्त हाडे ओखर पाइने रुकुम पूर्वका किसानका लागि टर्कीबाट १९ हजार दाँते ओखरका कलमी बिरुवा ल्याइएको हो । 

 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ रुकुमपूर्वले सञ्चालन गरेको ओखर जोन कार्यक्रमअन्तर्गत ओखरका बिरुवा खरिद गरेर ल्याइएको हो । 

 

परियोजनाका कार्यालय प्रमुख डा. रवीन्द्रनाथ चौबेले क्षेत्रगत आधारमा २ जातका ओखरको बिरुवा ल्याइएको बताए । रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकासँगै सिस्ने र भूमे गाउँपालिकाको माथिल्लो क्षेत्रका लागि फर्नर जातको पोथी र फर्नेट जातको भाले बिरुवा ल्याइएको प्रमुख डा. चौबेले जानकारी दिए ।

 

उनका अनुसार रुकुम पूर्वको तल्लो भेगका लागि भने चेन्डलर जातको पोथी र फ्यांकीवट जातको भाले बिरुवा ल्याइएको छ । यो वर्ष ल्याइएका यिनै बिरुवाले ८÷१० वर्षपछि मातृ बिरुवाको रूपमा काम गर्ने डा. चौबेले उल्लेख गरे । त्यसपछि बाहिरी देशबाट बिरुवा आयात गर्नुपर्ने बाध्यता अन्त्य हुने उनको भनाइ छ ।

 

किसानलाई अनुदानमा वितरण

 

किसानको मागका आधारमा टर्कीबाट आयात गरिएका ओखरको बिरुवा ५० प्रतिशत अनुदानमा वितरण गरिने कार्यालयले जनाएको छ । टर्कीबाट बिरुवा खरिद गरेर ल्याउँदा प्रतिबिरुवा ५ सय ५० रुपैयाँ पर्न गएकाले कृषकलाई भने प्रतिबिरुवा २ सय २५ रुपैयाँमा वितरण गरिनेछ । 

 

रुकुम पूर्वका ३ वटा गाउँपालिकामध्ये सिस्नेको वडा नम्बर ३ बाहेक अन्य ३० वटै वडामा ओखर जोन कार्यक्रम लागू गरिएको छ । ओखर पाइने सम्भावित सबै क्षेत्रका किसानलाई मागका आधारमा दाँते ओखरको कलमी बिरुवा वितरण भइरहेको कार्यालयले जनाएको छ । अहिले परियोजनाअन्तर्गत क्षेत्र विस्तार र चक्लाबन्दीको कार्यक्रम भइरहको छ । 

 

सिँचाइ समस्या कायमै 

 

ओखरका लागि रुकुम पूर्व उपयुक्त ठाउँ भए पनि सिँचाइको भने अभाव छ । कार्यालयले यो आर्थिक वर्षमा चक्लाबन्दी कार्यक्रममार्फत सिँचाइ योजनाको काम अगाडि सारेको डा. चौबेले बताए । 

 

जिल्ला ओखर जोन कार्यक्रम लागू भएको पहिलो वर्षमा परीक्षणका लागि भारतको जम्मु कास्मिरबाट ८ हजार हाराहारी बिरुवा ल्याइएको थियो । परीक्षण सफल भएपछि गत वर्ष टर्कीबाटै ३ हजार ८ सय बिरुवा ल्याइएकामा यो वर्ष १९ हजार बिरुवा ल्याइएको हो । 

 

कार्यालयबाट मात्रै ३० हजार हाराहारी दाँते ओखरका बिरुवा वितरण भइसकेको छ । रुकुम पूर्वमा किसानदेखि जनप्रतिनिधि र राजनीतिमा सक्रिय व्यक्तिले पनि दाँते ओखरको खेती गरिरहेका छन् ।