close

मकै जोगाउन पालो कुरेर बाँदर धपाउँदै किसान

मकै जोगाउन पालो कुरेर बाँदर धपाउँदै किसान

Trulli
ADVERTISEMENT

बागलुङ– मकै लगाएको महिना दिन नहुँदै जैमिनी नगरपालिका वडा नम्बर १ कुश्मीसेराको ठूलाखेत फाँटैभरिका बिरुवामा गवारोको समस्या देखियो । कृषि प्राविधिकको सहयोगमा विषादीको प्रयोग गरेर किसानले बिरुवा बचाए । 


मकैको बिउ खोस्रेर बाँदरले खाँदा पहिलो ७ दिन किसानलाई बिउ जोगाउनै गाह्रो भयो । उम्रिएको मकैमा गबारो लागेपछि किसानको बास खेतमै भयो । बिरुवा डेढ महिनाका भए । अहिले मकै दोस्रो पटक गोडमेल गरेर मल दिने बेला भएको कृषि प्राविधिक रवीन्द्र शर्माले
बताए । उनका अनुसार किसानलाई अब बाँदरको चिन्ता छ ।

 

बढ्दै गरेको मकैको डाँठ भाँचेर बाँदरले सत्यनाश गर्छ । डाँठ गुलियो हुने भएकाले फल नलाग्दै पनि ठूलाखेतको फाँटमा बाँदरको बिगबिगी हुन्छ । जैमिनी नगरपालिकाले मकै विकास कार्यक्रम बनाएर यहाँको १ हजार हेक्टर जमिनमा मकै लगाएको छ । ४ वटा वडामा विस्तार गरिएको मकै कलस्टर कार्यक्रमअन्तर्गत कुश्मीसेरामा २५० हेक्टर जमिनमा मकै लगाइएको हो ।

 

छिस्ती, जैदी र अर्जेवाका मकै उत्पादन राम्रो हुन्छ । त्यहाँ पनि बाँदरदेखि गबारो र दुम्सीसम्मको समस्या रहेको शर्माले बताए । किसानलाई ५० प्रतिशत अनुदान दिएर उत्पादन बढाउने योजना नगरपालिकाको छ । 

 

किसान र नगरको साझेदारीमा खरिद भएको बिउले बिरुवा त दियो तर फल लाग्न नपाउँदै बाँदरले लुछाचुँडी गर्न थालेपछि किसानले बाँदर हेर्ने पालो लगाएका छन् ।

 

मकै क्लस्टर उपभोक्ता समितिले सार्वजनिक सूचना जारी गरेरै बाँदर हेर्न भनेको छ । ‘एक पटक बाँदरको हुल पस्यो भने फाँट रित्याउँछ । अबको डेढ महिना बाँदरको गोठालै बस्नुपर्छ’, उपभोक्ता समितिका अध्यक्ष कुश्मराज आचार्यले भने, ‘फाँटमा मकै लगाएका सबै किसानलाई सातामा २ पटक पालो पर्ने गरी सूची बनाएका छौँ ।’ 

 

मकैको राम्रो उत्पादन हुने फाँटलाई ३ वटा क्लस्टरमा बाँडेर सोहीअनुसारको पालो तोकिएको आचार्यले जानकारी दिए । ‘आफ्नो खेती जोगाउनु छ । मात्रै पुछारमा हुनेको नासिने र सिरानमा हुनेको जोगिने नहोस् भन्ने हो,’ उपभोक्ता समितिका सचिव बाबुराम शर्मा भन्छन्, ‘पालो परेको दिन सबै किसान खेतमा पुग्नैपर्छ । अन्यथा उपभोक्ता समितिले कारबाही गर्छ ।’ 

 

मकै हेरालु जाने किसानको खाजा खर्च उपभोक्ता समितिले उपलब्ध गराउने भनेको छ । बाँदर हेर्नकै लागि यहाँका किसानले फाँटको पुछारमा बाँदर गोठ बनाउन थालेका छन् । घामपानी ओतिने गरी ३ वटै क्लस्टरमा बाँदरगोठ बनाउन थालेको अगुवा किसान गोपाल आचार्यले बताए ।

 

‘बाँदरको हुल एक्लैले धपाउन कठिन हुन्छ । हेर्न जानेको काम गाउँलेलाई खबर गर्ने हो’, उनले भने, ‘मकै नभित्राउने बेलासम्म सबै किसानलाई बिहान ५ देखि बेलुका ७ बजेसम्म सतर्क रहन सूचना गरेका छौँ ।’
 

 

ठूलाखेतलगायत जैमिनीका मकै फल्ने फाँटका नजिक खोला र वनजंगल रहेकाले बाँदरको आतंक धेरै हुने गरेको छ । बस्तीभन्दा तल्लो भागमा रहेका ठूलाखेत फाँट, सुम्सा फाँट, बेलबगरको फाँट र चौरको फाँटलगायतमा मकै उत्पादन राम्रो हुन्छ ।

 

मकै बिउ उत्पादन गर्दैै बागलुङे किसान

 

रोप्ने बेलामा बिउँ अभाव भएपछि बागलुङमै मकैको बिउ उत्पादन थालिएको छ । बाहिरी जिल्लाबाट मूल बिउ ल्याएर कृषि ज्ञान केन्द्रको सहयोगमा किसानले मकैको बिउ उत्पादन थालेका हुन् ।

 

यो वर्ष मकै रोप्ने समयमा यहाँका किसानलाई उन्नत जातको मकैको बिउ अभाव भएको थियो । कृषि ज्ञान केन्द्र बागलुङले २० हजार किलोग्राम मकै बैतडीबाट ल्याएर किसानलाई उपलब्ध गराएको थियो । सोही बिउका बिरुवा अहिले यहाँका अधिकांश किसानको खेतबारीमा हुर्किरहेका छन् ।

 

मकै जोन बैतडीबाट ३००० किलोग्राम मूल बिउ ल्याएर आउँदो वर्षका लागि बागलुङमै बिउ उत्पादन थालिएको कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले बताए । मनकामना ३ जातको सेतो मकैको बिउ बागलुङमा खोजी हुने गरेको छ । मूल बिउमा ५० प्रतिशत अनुदान दिएर केन्द्रले किसानलाई उपलब्ध गराएको छ । 
 

बडिगाड गाउँपालिकाको जलजला, बरेङ गाउँपालिकाको सुखौरा, सल्यान र बाटाकाचौर तथा बागलुङ नगरपालिकाको कुँडुलेमा बिउ उत्पादनका लागि सेतो मकै लगाइएको छ । माटो र वातावरणका हिसाबले अनुकूल रहेको ४ हेक्टर जमिनमा मकैको बिउ उत्पादनका लागि मूल बिउ लगाइएको हो ।

 

‘मूल बिउबाट उत्पादन हुने बिउ ५ वर्षसम्म लगाउन मिल्छ,’ उनले भने, ‘५ पुस्ता हुने बेलासम्म अब बिउको अभाव हुने छैन ।’ १००० किलोग्राम मूल बिउबाट ८००० किलोग्राम बिउ उत्पादन गर्ने लक्ष्य केन्द्रको छ । यो वर्षको असारसम्म २४ हजार किलोग्राम बिउ तयार हुने उनले बताए । 

 

‘किसानले तयार गरेको बिउ हामी खरिद गर्छौं र उनीहरूलाई नै ५० प्रतिशत अनुदानमा उपलबध गराउँछौँ,’ भट्टराई भन्छन्, ‘बागलुङका अधिकांश फाँटमा मकैको राम्रो उत्पादन हुन्छ । यसबाट किसानले फाइदा लिन सक्छन् ।’ बेँसीका फाँटमा उन्नत जातका मकै लगाउन प्रोत्साहन गरिरहेको केन्द्रले उच्च भूभागमा माटोअनुसारको स्थानीय जातका मकै लगाउन सिफारिस गर्ने गरेको छ ।

 

‘पहिले यहाँ पनि बिउ उत्पादन हुन्थ्यो । किसानलाई समस्या थिएन,’ भट्टराई भन्छन्, ‘बीचमा कृषि कार्यालय खारेज हुँदा किसानलाई सल्लाह दिने कोही नभएका कारण पछिल्ला केही वर्ष बिउ उत्पादनमा समस्या आयो ।’ बिउका लागि उत्पादन भएको मकैसमेत किसानले खानामा उपभोग गर्ने गरेकाले समस्या आएको बाली विकास अधिकृत दिनेश पाठक बताउँछन् । 
 

यो वर्ष किसानले १ सय ४० रुपैयाँ प्रतिकिलोग्राम मकै किनेर लगाएका छन् । मकैको बिउ उत्पादन हुने क्षेत्र र मकै बाली लगाइएका सबै फाँटमा फलेको मकै जोगाउन ज्ञान केन्द्रले स्थानीय सरकारलाई आग्रह गर्दै आएको छ । मकैमा फौजी किरा र बाँदरले धेरै क्षति गरेको छ ।
बागलुङमा पहेँलो मकैको तुलनामा सेतो मकैको माग उच्च छ । उत्पादनमा समानता भए पनि सेतो मकैको बिउ माग्नेहरू धेरै रहेको कृषि ज्ञान केन्द्रको तथ्यांकले देखाउँछ । 

 

कृषि विकास कार्यालय खारेजीसँगै निरास भएका किसानले पर्वतमा रहेको ज्ञान केन्द्रबाट लाभ लिन सकेका थिएनन् । १ वर्षअघि स्थापना भएको कृषि ज्ञान केन्द्र बागलुङले प्रोत्साहन र सहयोगका कार्यक्रम ल्याएपछि किसान उत्साहित छन् ।