close

धमाधम बन्दैछ बर्दिवासमा मोडल एग्रो भिलेज (भिडियो खबर)

धमाधम बन्दैछ बर्दिवासमा मोडल एग्रो भिलेज (भिडियो खबर)

ADVERTISEMENT

महोत्तरी- गाउँ-गाउँमा स्थानीय सरकार बनेपछि देशैभरिका ग्रामीण क्षेत्रका पालिकामा बसोबास गर्ने सर्वसाधारणको एउटै अपेक्षा रह्यो कि उत्पादनले बजार पाओस्, बिचौलियाको अन्त्य होस र व्यावसायिक कृषिले फड्को मारोस् । धेरै पालिकाले भुगोल अनुसार कृषिमा गुरुयोजना पनि बनाए । कतिपय पालिकाले योजना कार्यान्वयनमा ल्याएपछि स्थानीय सरकारप्रति किसानको विश्वास पनि बढेको छ ।

 

संघीय सरकारको नीति अनुसार हरेक पालिकाका सरकार कृषिको विकासमा कम्मर कसेर नलागेका भने होइनन् । तर, ढिलासुस्ती र काम गर्ने गतिलाई बढाउन नसक्दा कृषिमा गुरुयोजना बनाएपनि कार्यान्वयन हुन सकेन । अहिले महोत्तरीको मेयर कृषि कार्यक्रम अन्तगर्तको एग्रो भिलेजको कार्य सुस्त गतिमा अघि बढीरहँदा स्थानीयको अपेक्षामा अवरोध सृजना भइरहेको छ । 

 

महोत्तरीको बर्दिवास नगरपालिकामा पनि निर्वाहमुखी कृषि पेशालाई अवलम्बन गरिरहेका किसानको अवस्था र कृषि क्षेत्रको समभाव्यता अध्ययन गरेर १० वर्षे कृषि विकास गुरुयोजना २०७५ सालमा नै निर्माण भएको थियो । अझ यही स्थानीय सरकारको कार्यकाल अवधिभरमा सकिने कार्यको फेहरिस्त तयार गर्दा पनि योजना अपेक्षित रुपमा अगाडी बढन नसक्दा आलोचना भने खेपिरहेको छ । बर्दिवास कै मसानघाट भन्ने ठाउँमा ८४ बिघा क्षेत्रफलमा अगाडी बढाइएको मोडेल एग्रो भिलेजको कार्य सुस्त भएपनि केही आधार भने निर्माण भएका छन् । अहिले पालिकाले ६ महिनाभित्र सबै विकास गर्ने दावी गरेको छ । 


उत्पादनलाई जुनसुकै मौसममा पनि विक्री गर्न मिल्ने गरी ३ हजार मेट्रिक टन क्षमताको विशाल शीत भण्डार निर्माण पनि सुरु गरिएको छ । मोडेल एग्रो भिलेज कै अवधारणा अन्तर्गत हाइटेक नर्सरी पनि महत्वपुर्ण अङ्गको रुपमा लिइएको छ । उच्च प्रविधियुक्त नर्सरीले जुनसुकै समयमा जुनसुकै बिरुवा उपलब्ध गराउने हुँदा बिउ र बेर्ना सम्बन्धी साबिकको अवधारणामा आमूल परिवर्तन ल्याउने आकलन गरिएको छ । नर्सरीको लागि १ हजार ८ वर्गमिटर क्षेत्रफल छुट्याएर देश कै नमूना ग्रीन हाउसको काम धमाधम भइरहेको छ ।

 

मोडेल एग्रो भिलेज अन्तर्गत नै मेसिनरी कस्टम हायरिङ्ग केन्द्र स्थपनाको प्रकृया अगाडी बढाइएको छ । जसले कृषि प्रणालीलाई यान्त्रिकरण गरी खर्च र समयको बचत गर्दै किसानलाई थप कृषिकर्ममा होमिन ठूलो भुमिका निर्वाह गर्नेछ । डिजिटल अक्सन मार्केटको लागि एउटा भवन ठेक्का लगाइसकिएको छ । उक्त मार्केटबाट किसानले उत्पादन गरेको जुनसुकै वस्तु बजारीकरणमा महत्वपूर्ण टेवा पुग्ने दावी स्थानीयकै छ । 


किसानहरुको फसललाइ होल्ड गरी गुणस्तर बिग्रन नदिन फसल ब्यवस्थापन केन्द्रको स्थापना गरिदै छ । मोडेल एग्रो भिलेजको अर्को महत्वपूर्ण अङ्ग एनिमिल ब्रीडिङ्ग सेन्टरको तयारी हो । फोहोर ब्यवस्थापन तथा जैविक मल उत्पादन केन्द्रको स्थापना प्रक्रिया अगाडी बढाइएको छ । यस्तै, ग्रीन हाउस र नेट हाउस निर्माण हुँदैछ । जसमा सबै खाले सिंँचाई प्रणाली जडान गर्न धमाधम काम भइरहेको छ । यसका लागि परामर्श दिने कम्पनीसँग सम्झौता समेत भइसकेको छ ।

 

कृषि र सूचनाका लागि आइसिटी सेन्टरको व्यवस्था गरिँदै छ । यी सबै निर्माण गर्दासम्म झण्डै ८० करोड खर्चको आकलन गरिएको छ । गुरुयोजनामा उल्लेख गरिएका मोडेल एग्रो भिलेजको अवधारणामा आधारित रहेर आधारभूत कार्य सबै सुरुवात भएपनि यसलाइ अघि बढाउन समस्या बनिरहेको विषयलाई नगरवासीले खवरदारी गर्न जरुरी देखिएको छ ।