close

चक्लाबन्दी खेती किसानलाई चौदण्डीगढीले बाँड्यो ट्रयाक्टर

चक्लाबन्दी खेती किसानलाई चौदण्डीगढीले बाँड्यो ट्रयाक्टर

Trulli
ADVERTISEMENT

उदयपुर- उदयपुरको चौदण्डीगढी नगरपालिकाले कृषिलाई आधुनिकीकरण गर्न हाते मिनिट्रेलर वितरण गरेको छ । परम्परागत रूपमा गरिँदै आएको कृषि पेसालाई आधुनिकीकरण गर्न मिनिट्रेलर वितरण गरिएको हो । नगरपालिकाले नगर क्षेत्रभरिका चक्लाबन्दी खेती गर्ने किसानलाई ९ वटा मिनिट्रेलर वितरण गरेको हो । 


नगरपालिकाको ५० प्रतिशत अनुदानमा वडा नम्बर १० मा चक्लाबन्दी खेती गर्न ९ वटा मिनिट्रेलर वितरण गरिएको हो । चक्लाबन्दी खेतीअन्तर्गत धानबाली पकेट क्षेत्र कार्यक्रमबाट खेती गर्ने किसानलाई उत्पादन लागत कम गराउन मिनिट्रेलर वितरण गरिएको नगरपालिकाले बताएको छ ।


मिनिट्रलरले कम लागत लाग्ने र नाफा वृद्धि हुने, आधुनिक उत्पादन विधि र प्रविधि प्रयोगमा सहजीकरण हुने, कृषि पूर्वाधार सुधार्न सहज हुने, दिगो कृषि र प्राकृतिक संसाधनको प्रभावकारी प्रयोग हुने र कृषि गतिविधि प्रभावकारी हुने भएकाले किसानलाई चक्लाबन्दी खेतीमा आकर्षित गराउन मिनिट्रेलर वितरण गरिएको नगरप्रमुख खगेन्द्र राईले बताए । 


किसानलाई २ लाख रुपैयाँ पर्ने मिनिट्रेलर नगरले १ लाख अनुदान र कृषकको १ लाख लागत सहभागिता छ । नगरले चक्लाबन्दी खेतीका लागि हाते ट्रयाक्टर खरिद गर्न १२ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । खण्डित हुँदै गएको जग्गालाई पुनः समायोजन र पुनर्स्थाजना गर्ने प्रक्रियालाई चक्लाबन्दी प्रणाली भनिन्छ ।


नगरपालिकाको वडा नम्बर १० हडियाबाट मिनिट्रेलर वितरण थालिएको छ । नगर प्रमुख राई, उपप्रमुख रीताकुमारी चौधरी र वडाध्यक्ष रामकुमार खड्काले संयुक्त रूपमा किसानलाई मिनिट्रेलर हस्तान्तरण गरे ।