close

नागरिकका हातहातमै कृषि तथा पशुपक्षीको फेहरिस्त

नागरिकका हातहातमै कृषि तथा पशुपक्षीको फेहरिस्त

Trulli
ADVERTISEMENT

उदयपुर- उदयपुरको उदयपुरगढी गाउँपालिका प्रविधिमैत्री भएको छ । केही महिनाअघि गाउँपालिकाका सबै वडामा बिजुली बत्ती बाल्न सुरु गरेर उज्यालो पालिकाको पहिचान बनाएको उदयपुरगढी प्रविधिमैत्री बन्न सफल भएको हो । 


उदयपुरको पुरानो सदरमुकामसमेत रहेको उदयपुरगढीले कृषि तथा पशुपक्षीको तथ्यांक व्यवस्थापन प्रणाली सुरु गरेसँगै प्रविधिमैत्री पालिकाको पहिचान बनाउन सफल भएको हो ।


गाउँपालिकाको कृषि तथा पशुपक्षी शाखाले वेबसाइट निर्माण गरी विद्युतीय माध्यमबाट पालिकाका सम्पूर्ण सूचना राख्न सुरु गरेको छ । शाखाले बनाएको वेबसाइटमा लग इन गरी गाउँपालिकाको कृषिसम्बन्धी सबै गतिविधि र सूचना हेर्न पाइने उदयपुरगढीका कृषि शाखा प्रमुख पारस फुयालले बताए ।


‘आइटी प्राविधिकले अहिले काम गरिरहनुभएको छ । यो वेबसाइट निर्माण भएपछि किसानलाई धेरै फाइदा हुन्छ । किसानले कुन बाली कसरी लगाउनेदेखि मल, बिउबिजनलगायत सम्पूर्ण जानकारी पाइनेछ’, उनले भने ।


सेवाप्रदायकको विवरणदेखि बाली पात्रो, मल क्यालकुलेटर, मौसमको जानकारीसमेत वेबसाइट र मोबाइलमा हेर्न पाइनेछ । पालिकालाई प्रविधिमैत्री बनाउने नीतिअनुसार किसानलाई सुविधा पुगोस् भनेर सूचना प्रणालीको विकास गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद सुवेदीले बताए । 


उदयपुरगढीका ९९ प्रतिशत स्थानीय कृषि पेसामा संलग्न भएकाले पनि किसानलाई सूचनामा पहुँच पुगोस् भनेर तथ्यांक व्यवस्थापन प्रणाली विकास गरिएको हो ।  प्रमुख प्रशासकीय अधिकृत सुवेदीले भने, ‘तथ्यांक व्यवस्थापन प्रणालीको सबैभन्दा राम्रो पक्ष भनेको बाली पात्रो र सेवाप्रदायकको विवरण हो ।’


बाली पात्रोमा कुन बाली कुन समय कसरी लगाउने भनेर हेर्न सकिन्छ भने सेवाप्रदायकमा पालिकाभित्रका दुग्ध डेरीको विवरण, एग्रोभेटको विवरण, सहकारीको विवरण, दुग्ध चिस्यान केन्द्र, फार्म, मासु पसल, तरकारी पसल, नर्सरी, गोदामको एकीकृत अभिलेखसमेत उपलब्ध हुनेछ ।


बाली पात्रोमा खाद्य बाली, तरकारी बाली, दाल, मसलाजन्य बाली कसरी, कुन समय लगाउनेबारे किसानले घरमै बसेर थाहा पाउन सक्नेछन् । परीक्षणको रूपमा सञ्चालनमा आएकाले असार मसान्तसम्म आईटीले काम सम्पन्न गर्ने गरी सम्झौता भएको हुँदा साउनपछि मात्र वेबसाइट सञ्चालनमा ल्याइने प्राविधिक सहायक फुयालले जानकारी दिए । परीक्षणकै क्रममा कृषि शाखातर्फको मात्र तथ्यांक राखिएको र पछि पशु शाखाको समेत विवरण हेर्न मिल्ने वेबसाइट बनाइनेछ ।