close

उदयपुर कृषि ज्ञान केन्द्रले बाँड्यो किसानलाई हाते ट्रयाक्टर

उदयपुर कृषि ज्ञान केन्द्रले बाँड्यो किसानलाई हाते ट्रयाक्टर

Trulli
ADVERTISEMENT

उदयपुर- कृषि ज्ञान केन्द्र उदयपुरले कृषिलाई यान्त्रिकीकरणसँगै आधुनिकीकरण गर्दै प्रविधिमैत्री बनाउने उद्देश्यले किसानलाई मिनीटिलर वितरण गरेको छ । केन्द्रले परम्परागत रूपमा गरिँदै आएको कृषि पेसालाई आधुनिकीकरण गर्न मिनीटिलर वितरण गरेको हो ।


उदयपुरका ८ वटै स्थानीय तहका कृषि समूह तथा किसानलाई मिनीटिलर वितरण गरिएको हो । किसानलाई ७५ प्रतिशत अनुदानमा ४१ वटा मिनीटिलर, धान काट्ने मेसिन ब्रस कटर ३ वटा र रिपर ६ वटा गरी ५० वटा कृषि औजार वितरण गरिएको छ । 

 

१३ वटा कृषि समूह र ३७ किसानलाई आवश्यकताको आधारमा कृषि औजार उपलब्ध गराएको हो । ज्ञान केन्द्रले विभिन्न एचपी पावरका ३५ लाख ८९ हजार १ सय २५ रुपैयाँ मूल्याको मिनीटिलर वितरण गरिएको हो ।


कार्यालयले किसानको मागअनुरूप २४ हजार ६ सय २५ पर्ने ब्रस कटरदेखि पावरको आधारमा ६८ हजार ९ सय ५० देखि १ लाख ८७ हजार १ सय ५० रुपैयाँ पर्ने मिनीटिलर उपलब्ध गराएको छ ।


चक्लाबन्दी खेतीलाई प्रोत्साहन गर्दै किसानलाई उत्पादन लागत कम गराउन मिनीटिलर वितरण गरिएको हो । मिनीटिलरले कम लागत लाग्ने र आय वृद्धि हुने, आधुनिक उत्पादन विधि र प्रविधि प्रयोगमा सहजीकरण हुने, कृषि पूर्वाधार सुधार गर्न सहज हुने, दिगो कृषि र प्राकृतिक संसाधनको प्रभावकारी प्रयोग हुने, व्यावसायिक रूपमा कृषि गर्न सजिलो हुने र कृषि गतिविधि प्रभावकारी हुने भएकाले किसानलाई चक्लाबन्दी खेतीमा आकर्षित गराउन मिनीटिलर वितरण गरिएको हो । 

 

मिनीटिलर हस्तान्तरण गर्दै जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्गबहादुर परियारले कृषिमा प्रविधि हस्तान्तरणले किसानको जीवनस्तर उकास्न भूमिका खेल्नुका साथै लागत घटाउन योगदान पुर्‍याउने बताए ।


कृषिबाट मात्र समृद्धि हुने भएकाले परम्परागत खेती प्रणालीलाई आधुनिकीकरण गर्न सके उत्पादनमा वृद्धि गर्न कृषिमा यान्त्रिकीकरण अभियान थालेको कृषि ज्ञान केन्द्र उदयपुरका निमित्त प्रमुख महेन्द्रबहादुर चौधरीले जानकारी दिए ।