close

लुम्बिनी प्रदेशमा यो वर्ष अहिलेसम्म ४६ प्रतिशत रोपाइँ

लुम्बिनी प्रदेशमा यो वर्ष अहिलेसम्म ४६ प्रतिशत रोपाइँ

Trulli
ADVERTISEMENT

रूपन्देही- लुम्बिनी प्रदेशमा यो वर्ष करिब ४६ प्रतिशत रोपाइँ सकिएको छ । प्रदेशभर धान खेती हुने कुल ३ लाख ३४ हजार ६७५ हेक्टर क्षेत्रफलमध्ये १ लाख ५३ हजार ३ दशमलव ५ हेक्टरमा रोपाइँ सकिएको हो ।


भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको तथ्यांकअनुसार प्रदेशमा ४५ दशमलव ७ प्रतिशत रोपाइँ सकिएको छ । यो तथ्यांक ११ असारसम्मको हो । यही अवधिमा गत वर्षको तुलनामा रोपाइँ कम भएको छ । गत वर्ष यो बेला ४८ दशमलव २ प्रतिशत रोपाइँ सकिएको थियो ।


लुम्बिनीको रोल्पामा यो वर्ष सबैभन्दा बढी ९० प्रतिशत रोपाइँ सकिएको छ । जिल्लामा धान खेती हुने ४ हजार ८९० हेक्टर क्षत्रफलमध्ये ४ हजार ४०१ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ । यसैगरी प्युठानमा ८० प्रतिशत रोपाइँ सकिएको छ ।


धान खेती हुने ६ हजार २ सय हेक्टर क्षेत्रफलमध्ये ४ हजार ९ सय ६० हेक्टरमा रोपाइँ सकिएको छ । बर्दिया र रुकुम पूर्वमा ६३ प्रतिशत रोपाइँ सकिएको छ । मन्त्रालयका ११ असारसम्मको तथ्यांकअनुुसार गुल्मीमा सबैभन्दा कम ७ प्रतिशत रोपाइँ भएको छ ।


धान खेती हुने कुल १० हजार २४६ हेक्टर क्षेत्रफलमध्ये ८३९ हेक्टरमा मात्रै रोपाइँ सकिएको हो । लुम्बिनी प्रदेशको सबैभन्दा बढी धान खेती हुने कपिलवस्तुमा यो वर्ष २४ दशमलव ९ प्रतिशत मात्रै रोपाइँ सकिएको छ । यो तथ्यांक गत वर्षको तुलनामा २ दशमलव ८ प्रतिशतले कमी हो । गत वर्ष यही अवधिमा २७ दशमलव ७ प्रतिशत रोपाइँ सकिएको थियो ।

 

जिल्लामा कुल खेतीयोग्य जमिन ८३ हजार हेक्टर क्षेत्रफलमध्ये ७१ हजार ५ सय हेक्टरमा धान खेती हुने गरेको छ । गत वर्ष भने ६४ हजार ३ सय ५० हेक्टर क्षेत्रफलमा रोपाइँ भएको थियो । यो अवधिसम्म यो वर्ष १७ हजार ८ सय हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ ।


यसैगरी कपिलवस्तुपछिको धान खेती हुने दोस्रो जिल्ला रूपन्देहीमा ५५ प्रतिशत रोपाइँ सकिएको छ । यही अवधिमा गत वर्ष ५६ दशमलव ८ प्रतिशत रोपाइँ भएको थियो । जिल्लामा कुल ८२ हजार ६२२ खेतीयोग्य जमिनमध्ये ६९ हजार ७०० हेक्टर क्षेत्रलफलमा धान खेती हुने गरेको छ ।


गत वर्ष भने ६७ हजार ५५० हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ भएको थियो । यो वर्ष ३८ हजार ३ सय ३५ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको हो । धान खेती हुने मुख्य जिल्लामध्येकै दाङमा ६० प्रतिशत रोपाइँ सकिएको छ । जिल्लामा हालसम्म २३ हजार २२६ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको हो ।


जिल्लामा कुल ६९ हजार ९५० हेक्टर खेतीयोग्य जमिनमध्ये ३८ हजार ७१० हेक्टरमा धान खेती हुँदै आएको छ । गत वर्ष भने ३७ हजार ९३६ हेक्टरमा रोपाइँ भएको थियो । यसैगरी नवलपरासीको सुस्ता पश्चिममा यो वर्ष ६० प्रतिशत रोपाइँ सकिएको छ । कुल १३ हजार ९०५ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको हो । जिल्लामा २३ हजार १७५ हेक्टर क्षेत्रफलमा रोपाइँ हुँदै आएको छ ।

 

पाल्पामा ३० दशमलव ७ प्रतिशत रोपाइँ सकिएको छ । धान खेती हुने कुल ९१०० हेक्टर क्षेत्रफलमध्ये २ हजार ७९७ हेक्टरमा रोपाइँ सकिएको हो ।  यसैगरी अर्घाखाँचीमा ५७ दशमलव ८ प्रतिशत, बर्दिया र रुकुम पूर्वमा ६३ प्रतिशत रोपाइँ सकिएको छ ।  लुम्बिनी प्रदेश कृषि विकास निर्देशनालयका वरिष्ठ बाली विकास अधिकृत शालिग्राम गौतमका अनुसार यो साता अन्त्यसम्म प्रदेशमा ६० देखि ६५ प्रतिशतसम्म रोपाइँ सकिने अनुमान गरिएको छ ।


मौसमले साथ दिए साउन पहिलो सातासम्म रोपाइँ सकिनेछ । ‘मनसुनले साथ दिएका कारण अकासे पानीको भर पर्नुपर्ने सुक्खा ठाउँमा पनि रोपाइँ भइरहेका छन्,’ गौतमले भने, ‘यही अवस्था रहे रोपाइँ छिटै सकिन्छ । उत्पादनमा पनि वृद्धि हुने अवस्था देखिन्छ ।

 

असार मध्यसम्म बाँकेमा २५ प्रतिशत रोपाइँ

बाँकेमा असार मध्यसम्म २५ प्रतिशत रोपाईं सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी एवं बाली संरक्षण अधिकृत सकिल अहमदका अनुसार बाँकेमा १५ असारसम्म २५ प्रतिशत रोपाइँ सकिएको हो ।


यो गत वर्षको भन्दा करिब १५ प्रतिशत बढी हो । सूचना अधिकारी अहमदका अनुसार गत वर्ष यसबेलासम्म करिब १० प्रतिशत आसपास रोपाइँ भएको थियो ।


यो वर्ष असार सुरुमै पानी परेका कारण धान रोपाइँमा तीव्रता आएको हो । जिल्लामा सबैभन्दा बढी बैजनाथ गाउँपालिकामा र राप्तिसोनारी क्षेत्रमा धान रोपाइँ भएको छ ।


बाँकेमा करिब ३७ हजार हेक्टरमा धान खेती हुने गरेको छ । रोपाइँका लागि जिल्लामा पानी अभाव भने नरहेको अहमदले बताए ।