close

छुपुमा छुपु रोपेर धान...

बाउसे र रोपाहारले भरिए शुक्लागण्डकीका खेत

छुपुमा छुपु रोपेर धान...

बाउसे र रोपाहारले भरिए शुक्लागण्डकीका खेत

Trulli
ADVERTISEMENT

तनहुँ- मध्य असारको दिन । क्रंक्रिटका संरचनाले खेत घट्दै गएको शुक्लागण्डकी नगरपालिका वडा नम्बर ६ खैरेनीकुना फाँटमा मान्छेको हुल थामिनसक्नु छ । कोरोना त्रासमै पनि मुखमा मास्क लगाएरै सयौँ धान रोपाइँका लागि भेला भए । बिहान ११ बजेको आसपास फाँटमा पञ्चेबाजा घन्कन थाल्यो, जतिबेला त्यहाँ औपचारिक कार्यक्रमले बिट मारिसकेको थियो । पाका उमेरका एकाध महिलाले असारे भाका गुञ्जाए । कार्यक्रममा अतिथिको रूपमा उपस्थित सरोकारवाला पञ्चेबाजा र असारे गीतको तालमा दबदबे हिलो (खेत) मा पसे ।


स्थानीयसँगै जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले र कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले हल गोरु समाएर खेतमा डोब लगाउन थाले ।  गण्डकी प्रदेशसभा सदस्य आशा कोइराला र जिसस उपप्रमुख पवित्रा पौडेललगायत जनप्रतिनिधिले हरियो धानको बिउ दबदबे हिलोमा छुपु-छुपु रोपे । स्थानीय महिला पनि धान रोप्न कस्सिए । हिलो छ्याप्दै नाचेर रमाए ।


शुक्लागण्डकीमा मनाइएको १८औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्वसमा देखिएको दृश्य औधी रमाइलो लाग्थ्यो । दरगाउँ कालिका कृषि तथा सहकारी संस्थाले कृषि ज्ञान केन्द्र तनहुँको सहकार्यमा खैरेनीकुना फाँटमा पहिलो पटक रोपाइँ महोत्सव गरेको हो ।


सहरीकरणले यो फाँटमा बडेमानका कंक्रिटका संरचना ठडिँदै गरेका छन् । अबका केही वर्षमा यसपालि धान रोपिएको खेतको गह्रामा अबका केही वर्ष घडेरीमा बिक्री नहोला भन्न सकिने अवस्था छैन । कार्यक्रममा सहभागीले पनि यही चिन्ता दर्शाए । खेतीयोग्य सिञ्चित जमिनमा घरटहरा ठड्याउन रोक्नुपर्नेमा उनीहरूको जोड थियो ।


गण्डकी प्रदेशसभा सदस्य कोइरालाले कृषिप्रधान मुलुक कृषिमा आत्मनिर्भर नभएको टिप्पणी गरिन् । ‘हामीकहाँ खेतीयोग्य जमिन जति पनि छन्, फाँटहरू छन् । ती फाँटमा दिनानुदिन विकासका नाममा कंक्रिट उत्पादन गरिरहेका छौँ । घर ठड्याइरहेका छौँ । यसले परनिर्भरतातर्फ लैजान्छ’, उनले भनिन् । भोलिका दिनमा खाद्य संकटमा फस्ने हुँदा अब उत्पादनयोग्य जमिनलाई संरक्षण गरेर उत्पादनमा जोड दिनुपर्ने उनले सुझाइन् ।

 

बाँझा जमिनलाई पनि उत्पादनमा लगाउनुपर्नेमा उनको जोडबल छ । ‘राज्यले पनि जमिनको उपयोग कसरी गर्न सकिन्छ भनेर नीत बनाउन आवश्यक छ’, उनले भनिन् । भूमिको वर्गिकरण गरेर उत्पादन नहुने स्थानमा मात्र बस्ती बसाल्नुपर्ने उनको भनाई छ । जिल्ला समन्वय समित तनहुँका प्रमुख वाग्लेले ३ वटै तहका सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर गरेको लगानीअनुरूप प्रतिफल प्राप्त नभएको सुनाए । ‘कृषि वस्तुको आयात दिनानुदिन बढ्दो छ । निर्यात बढाउन सकिएको छैन । हामी कृषिमा आत्मानिर्भर बन्न नसकेको यसैले पुष्टि गर्छ,’ उनले भने ।

 

कृषिमा दक्ष जनशक्ति र आधुनिक प्रविधि अभावका कारण पनि उत्पादन बढ्न नसकेको उनको बुझाइ छ । सिँचाइ सुविधा पुगेका जमिनको संरक्षण गर्दै घरटहरा निर्माणमा रोक लगाउनुपर्ने जिसस प्रमुख वाग्लेले बताए । यो वर्ष असार सुरुमै मनसुन सुरु भएपछि तनहुँमा धमाधम धान रोपाइँ भइरहेको छ । कोरोना कहरमा मास्क लगाएर हलगोरु नारेर दबदबे हिलो बनाउन व्यस्त छन्, रोपाहारलाई चाहिँ हरियो बिउलाई दबदबे हिलोमा छुपुछुपु रोप्ने चटारो । 


टारी खेत र फाँटमा हली, बाउसे र रोपाहारको ताँती लामै देखिन्छ ।  चैते धान रोपिएको फाँटमा भने चैते धान थन्काएर असारे धान रोप्ने चटारोले किसानलाई भ्याई-नभ्याई छ । १५ असारसम्म तनहुँमा ४० प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिए । उनका अनुसार यहाँ ११ हजार ५ सय हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ । २ हजार ५ सय हेक्टरमा चैत धान खेती हुने गरेको तथ्यांक छ ।

 

किसानलाई फलामे हलो र हाते ट्रयाक्टर

राष्ट्रिय धान दिवस अवसर पारेर शुक्लागण्डकी वडा नम्बर ६ का किसानलाई अनुदानको फलामे हलो र हाते ट्रयाक्टर वितरण गरिएको छ । कृषि ज्ञान केन्द्रको ५० प्रतिशत अनुदानमा १८ जनालाई फलामे हलो वितरण गरिएको वडा सदस्य बुद्धिबहादुर थापाले बताए ।


१ हजार ४ सय रुपैयाँ पर्ने हलो वितरण गरिएको हो । ६८ हजार ५ सय रुपैयाँ पर्ने हाते ट्रयाक्टर पनि मंगलबार नै हस्तान्तरण गरियो । यस्तै, ज्ञान केन्द्रले सोही वडाका किसानलाई अनुदानमा १ हजार ६ सय किलो उन्नत जातको धान बिउ वितरण गरेको थापाले जानकारी दिए ।