close

उदयपुरमा हालसम्म १२ प्रतिशत मात्रै रोपाइँ

उदयपुरमा हालसम्म १२ प्रतिशत मात्रै रोपाइँ

Trulli
ADVERTISEMENT

उदयपुर- ‘धान उत्पादनमा वृद्धि खाद्य सुरक्षामा आत्मनिर्भरता र समृद्धि’ नारासहित १८औँ राष्ट्रिय धान दिवस उदयपुरमा पनि मनाइएको छ । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १३ बेहडवामा राष्ट्रिय धान दिवस अवसरमा चक्लाबन्दी खेती प्रवर्द्धन गर्दै मेसिनबाट धान रोपाइँ दिवस मनाइएको हो ।


सहारा कृषि सहकारी संस्थाले चक्लाबन्दी खेती प्रवद्र्धन गरिरहेको छ । त्रियुगाले खानी, कृषि, पशु र वन, उद्योग व्यापार, पर्यटन त्रियुगाको धन र कृषिलाई समृद्धिको आधार बनाएको छ ।

 

सहकारीले चक्लाबन्दी खेतीका लागि ३ सय ५ घरपरिवारको सहकारी गठन गरी १६० बिघामा चक्लाबन्दी गरेको छ । चक्लाबन्दी खेतीको २५ वर्षे योजना बनेको छ । परम्परागत निर्वाहमुखी कृषि छाडेर व्यावसायिक कृषि प्रणालीद्वारा चक्लाबन्दी खेती थालिएको हो ।


चक्लाबन्दी खेतीले उत्पादन लागत घटाउने र उब्जनी वृद्धि हुने भएकाले यसमा जोड दिइएको नगरप्रमुख बलदेव चौधरीले बताए ।  ‘चक्काबन्दी खेतीमा धान मात्र होइन, तरकारी, दलहन, पशुपालन र हरेक किसानको घरलाई होमस्टे बनाई कृषि पर्यटन केन्द्रको रूपमा विकास गर्न खोजेका छौँ’, नगरप्रमुख चौधरीले भने ।

 

यसलाई नगरपालिकाकै कृषि नमुना गाउँ बनाउने योजना रहेको उनले जानकारी दिए । धान दिवसमा नगरप्रमुख चौधरीले मेसिनले धान रोपेर उद्घाटन गरे । दिवस मनाइरहँदा उदयपुरमा १२ प्रतिशत मात्र धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र उदयपुरले जनाएको छ । उदयपुरमा बर्खे धान १३ हजार ३८० हेक्टरमा लगाइन्छ । 


त्रियुगाले बेहडवामा गत वर्षदेखि चक्लाबन्दी खेती अगाडि बढाएको छ । मेसिन तथा आधुनिक प्रविधिले थोरै समय धेरै क्षेत्रमा खेती गरी आम्दानी लिन सकिने अवस्था आएको किसान दीर्घलाल चौधरी बताउँछन् । चक्लाबन्दी खेती वडा नम्बर १३ मा हुँदै आएको वडाध्यक्ष पशुपति चौधरीले बताइन् । दिवस अवसरमा हिले दौड प्रतियोगितामा महिलालाई सहभागी गराइएको थियो ।