close

स्मार्ट गाउँकाे स्मार्ट कृषि

स्मार्ट गाउँकाे स्मार्ट कृषि

Trulli
ADVERTISEMENT

गुल्मी- गुल्मीको छत्रकोट गाउँपालिका वडा नम्बर १ हुँगाका दानबहादुर पल्ली स्मार्ट कृषि गाउँका स्मार्ट कृषक हुन् । उनको कृषि मोह गज्जबको छ । उनले बारी टमाटरका टनेल र तरकारीले भरिएपछि खुसीले मन हौसिएको छ ।

 

पल्लीको सपना भारतीय लाहुुरेदेखि युरोपसम्मको हो । अधुरो सपनाले थुप्रै पैसा पनि डुबाए तर सोचेअनुसार परदेश भएन । फर्किएर सबै पसिना कृषिमा बगाएका छन्। त्यसैले पल्ली अहिले जिल्लाका सफल कृषि उद्यमीमध्येमा पर्छन् ।

 

उनले व्यावसायिक बंगुरपालन र तरकारी उत्पादन गर्छन् । गुल्मीसहित पाल्पा, अर्घाखाँची, स्याङ्जा र रूपन्देहीमा बंगुरको कारोबार राम्रो हुने भएकाले खर्च कटाएर वार्षिक १२ देखि १५ लाख रुपैयाँ घरमै बसेर कमाउँछन्, पल्ली ।

 

गत वर्षको सिजनमा २ सय क्विन्टल टमाटर बेचेका पल्लीले अहिले ४ सय क्विन्टल बेच्ने योजना बनाएका छन् । हुँगा गाउँमा दानबहादुरजस्ता ५० जना कृषकले व्यावसायिक तरकारी उत्पादन गरिरहेका छन् ।

 

सोही गाउँका लेखनाथ भण्डारी पनि व्यावसायिक तरकारी खेतीबाट सन्तुष्ट छन् । उनले कार्यक्रम सञ्चालन भएपछि बाँझो बारी राख्ने अवस्था नरहेको बताए । स्मार्ट गाउँ कार्यक्रमले सीप, प्रविधी, अनुदान र ऊर्जा बढेकाले व्यावसायिक रूपमा तरकारी खेती गर्नेहरूको लहर बढेको भण्डारीले जानकारी दिए ।

 

‘हिउँदमा पनि बाँझा खेतबारी बेमौसमी तरकारीले हरिया बनेका छन् । त्यो कार्यक्रमले थपेको आत्मबलको परिणाम हो,’ उनले भने, ‘उत्पादनसँगै बजारीकरणमा पनि ध्यान पुर्‍याउनुपर्छ ।’


कृषि ज्ञान केन्द्र गुल्मीमार्फत हुँगामा २०७६ बाट स्मार्ट कृषि कार्यक्रम सञ्चालन भएको छ । सोही कारण २ सय ५० रोपनी क्षेत्रफलमा स्थानीय कृषकले व्यावसायिक तरकारी खेती गरिरहेका स्मार्ट कृषि गाउँ कार्यक्रम हुँगाका सचिव बुद्धिबहादुर सारुले बताए ।

 

स्मार्ट गाउँ कार्यक्रमका लागि पहिलो वर्ष लुम्बिनी प्रदेश सरकारको ५० लाख र पकेट समूहको १० लाख र दोस्रो वर्ष लुम्बिनी प्रदेश सरकारको ३७ लाख ५० हजार, स्थानीय सरकारको ७ लाख ७८ हजार ५ सय र कृषकको श्रमदान ३ लाख ३७ हजार ५ सय गरेर ४८ लाख ७५ हजार रुपैयाँ खर्च भएको कार्यक्रमका फोकल पर्सन तथा कृषि ज्ञान केन्द्र गुल्मीका कृषि अधिकृत हरिप्रसाद आचार्यले बताए । 

 

उनका अनुसार स्मार्ट गाउँ कार्यक्रमअन्तर्गत छत्रकोट गाउँपालिकामा तरकारी उत्पादन, मदानेमा गाईभैँसीपालन, धुर्कोटमा तरकारी उत्पादन र बाख्रापालन, गुल्मीदरबारमा खाद्यान्न बाली उत्पादन, मुसीकोट नगरपालिकामा मौरीपालन, चन्द्रकोटमा तरकारी उत्पादन र बाख्रापालन तथा रुरुक्षेत्रमा आलु र तरकारीको व्यावसायिक उत्पादन भइरहेको छ ।


यो कार्यक्रम लुम्बिनी प्रदेश सरकारको गौरवको परियोजना हो । व्यावसायिक कृषि तथा पशुपालनको माध्यमबाट नागरिकलाई पोषक, सिँचाइ, बजार र सामाजिक तथा लैगिंक रूपमा स्मार्ट बनाउने उद्देश्य कार्यक्रमको रहेको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख कोमल शाहीले जानकारी दिए ।

 

पछिल्लो समय जिल्लामा व्यावसायिक कृषि र पशुपालन गर्नेको संख्या वृद्धि भएको छ । प्रदेश र स्थानीय सरकारले करोडौँ रुपैयाँ कृषि र पशुपालन क्षेत्रमा खर्च गरेका छन् । तर, बजारीकरणको दिगो व्यवस्थापन नहुँदा कृषकले सोचेअनुसारको लाभ भने लिन सकेका सकेका छैनन् ।


स्मार्ट कृषि गाउँको अनुगमन गर्न पुगेकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले गाउँमा कृषकको तरकारी उत्पादन देखेर प्रभावित भएको प्रतिक्रिया दिइन् । उनले जिल्लाको उत्पादन जिल्लाकै बजारमा नपाउने अवस्थाको अन्त्य गर्न स्थानीय तहले समन्वय गर्नुपर्नेमा जोड दिइन् ।

 

‘जिल्लाको मुख्य बजारमा जिल्लाकै उत्पादन छैन । हाम्रो तरकारी बुटवल पुर्‍याएर उपभोक्ताले कहिलेसम्म बाहिरको तरकारी खाने ?’ उनले भनिन्, ‘स्थानीय सरकारले त्यसको विकल्प खोज्नुपर्छ ।’