close

बाख्रा उपहार पाएपछि खत्याडका किसान मख्ख

बाख्रा उपहार पाएपछि खत्याडका किसान मख्ख

Trulli
ADVERTISEMENT

मुगु- मुगुको खत्याड गाउँपालिकाले किसानलाई बाख्रा वितरण गरेको छ । गाउँपालिकाभित्रका किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले उन्नत र बोयर जातका बोका बाख्रा वितरण गरिएको हो ।


किसानलाई आत्मनिर्भर र व्यावसायिक बनाउन कृषि र पशु क्षेत्रमा विभिन्न योजना ल्याइएको गाउँपालिकाले जनाएको छ । बोयर जातका बाख्रा वितरणपछि उन्नत जातका बोकाबाट राम्रो आम्दानी लिन सहयोग पुग्ने पालिकाको अपेक्षा छ । 


गाउँपालिकाको ससर्त अनुदानबाट १५ लाख र पालिकाको सहयोगमा ३० लाख रुपैयाँ बराबरको लागतमा खत्याडका १२ जना बाख्रापालकलाई बोका बाख्रा वितरण गरिएको हो । 


कार्यक्रममा १ सय ८० बाख्रा र १२ बोका गरी १९२ वटा बोयर जातका बाख्रा वितरण गरिएको खत्याड गाउँपालिकाका पशु शाखा अधिकृत वासुदेव कार्कीले बताए । 


उनका अनुसार गाउँ कार्यपालिकाले गठन गरेको समितिको निर्णयअनुसार पालिकाका उत्कृष्ट किसानलाई बाख्रा वितरण गरिएको हो । 


पालिकाभरका किसानसँग दरखास्त आह्वान गरेकामा १२ जना कृषक फार्म छनोटमा परेपछि प्रत्येक किसानलाई १६ वटा बाख्रा वितरण गरिएको हो ।


बाँकेको प्रगतिशील बहुद्देश्यीय सहकारी संस्था महादेवपुरी वडा नम्बर ५ धकेडीबाट बोयर जातका बाख्रा ल्याई वितरण गरिएको खत्याड गाउँपालिका अध्यक्ष उब्जनबहादुर शाहीले बताए ।