close

पशुको क्षतिपूर्ति वितरण गर्दै तुल्सीभन्ज्याङ साना किसान कृषि सहकारी

पशुको क्षतिपूर्ति वितरण गर्दै तुल्सीभन्ज्याङ साना किसान कृषि सहकारी

Trulli
ADVERTISEMENT

स्याङ्जा- स्याङ्जाको गल्याङमा रहेको तुल्सीभन्ज्याङ साना किसान कृषि सहकारीले मृत्यु भएका पशुको क्षतिपूर्ति वितरण गरेको छ । संस्थाले पशुधन सुरक्षण (बिमा) कार्यक्रमअन्तर्गत बिमा गरेर मृत्यु भएका पशुको क्षतिपूर्ति किसानलाई वितरण गरेको हो ।

 

कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले पशुपालक कृषकका लागि नगरपालिकाले सबै सहयोग गर्ने प्रतिबद्वता जनाए ।


उनले गल्याङमा कृषकका लागि नगरपालिकाले महत्त्वपूर्ण कार्य गरिरहेको बताए । नगरप्रमुख अधिकारीले दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदानको व्यवस्था एवं निःशुल्क पशु बिमाको कार्यक्रमलाई किसानले सदुपयोग गर्नुपर्नेमा जोड दिए ।

 

अधिकारीले भने, ‘गल्याङमा कृषकले पाएको अनुदानको व्यवस्थालाई सदुपयोग गर्दै आत्मनिर्भर बन्ने मात्र नभई व्यावसायिक ढंगले अगाडि बढ्नुपर्छ ।’ गल्याङमा दूध किनेर खानुपर्ने अवस्था भएकामा अहिले दैनिक २ हजार लिटर निर्यात गर्न सकिएकााले किसानमा उत्साह आइरहेको दाबी गरे ।


नगरप्रमुख अधिकारीले दूध, मासु वा कृषि उपज नबिकेर फाल्नुपर्ने अवस्था नरहेको भन्दै बिक्रीको ग्यारेन्टी नगरपालिकाले लिएको जानकारी दिए । गल्याङले निःशुल्क पशु बिमा गरिरहेको र पशुको मृत्यु भए त्यसको क्षतिपूर्ति पाउने व्यवस्थाले सबै ठाउँमा नहुने हुँदा यसको सदुपयोग गर्न आग्रह गरे ।

 

गल्याङ नगरपालिका पशु शाखा प्रमुख सुशील अर्यालले किसानले पाएको अनुदानलाई व्यावसायिकतामा रुपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याए । संस्थाको सभाहलमा भएको गल्याङ नगरपालिकामा पशु बिमा गरेका कृषकलाई ७ लाख ५० हजार रुपैयाँ वितरण गरिएको छ ।


यो वर्ष १५ लाख रुपैयाँ पशुपालक कृषकलाई पशुधन सुरक्षण (बिमा) कार्यक्रमअन्तर्गत रकम वितरण गरिएको तुल्सीभन्ज्याङ साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष दलबहादुर सिंजालीले बताए । संस्थाका प्रबन्धक शम्भुनारायण अधिकारीले पशु धन बिमा सुरक्षणका लागि नगरपालिकाले गरिरहेको काममा सहजीकरण हुँदै आएको जानकारी दिए ।


गल्याङ नगरपालिका वडा नम्बर ५ रुपाखानीका कृषक कुलबहादुर रानाले क्षतिपूर्ति पाउँदा खुसी लागेको बताए । रानाले भने, ‘१ लाख २० हजार रुपैयाँमा गाई किनेको थिएँ । १ लाख ८ हजार पाएँ । गाई मरे पनि आफूले खर्चिएको रकम क्षतिपूर्ति पाएपछि थप हौसला मिलेको छ ।’
संस्थाले किसानको घरघरमा पुगेर पशु बिमा गर्ने गरेको छ भने गल्याङ नगरपालिकाले बिमा रकम कृषकलाई फिर्ता दिने गरेको छ ।