close

लिम्चुङबुङमा प्रभावकारी बन्दै अध्यक्ष कृषि परियोजना

लिम्चुङबुङमा प्रभावकारी बन्दै अध्यक्ष कृषि परियोजना

Trulli
ADVERTISEMENT

उदयपुर- उदयपुरको लिम्चुङबुङ पालिकामा परम्परागत कृषि प्रणाली अपनाउँदै आएका किसान विस्तारै व्यावसायिक किसान बन्दै गएका छन् । गाउँ–गाउँका किसानले निर्वाहमुखी कृषिलाई व्यावसायिकीकरण गर्न थालेपछि ग्रामीण क्षेत्रमा आर्थिक गतिविधि बढ्न थालेको छ । 

 

पछिल्लो समय गाउँघर कृषिमा आधुनिकीकरणतर्फ उन्मुख हुँदै गएको देखिन्छ । उदयपुरको दुर्गम लिम्चुङबुङ गाउँपालिकाका किसान अहिले व्यावसायिक खेतीमा उन्मुख हुँदै  गएका छन् ।


पालिकाले युवालाई लक्षित गरी अध्यक्ष कृषि परियोजना सुरु गरेको छ । त्यसमा पनि वैदेशिक रोजगारबाट फर्किएका युवालाई कृषिमा आकर्षित गर्न तालिम दिँदै आएको छ । तालिमपछि उनीहरूलाई अध्यक्ष कृषि परियोजनाबाट अनुदानको समेत व्यवस्था गरेको गाउँपालिकाले बताएको छ । 

 

युवा लक्षित ५० प्रतिशत कृषि अनुदान पाएपछि लिम्चुङबुङ पालिकाका युवा व्यावसायिक कृषि प्रणालीमा होमिएका छन् । युवा लक्षित कार्यक्रम राखेकामा वडा नम्बर ३ वाराहा पिप्लेका केशवकुमार खत्री हर्षित छन् । उनलाई पालिकाले खुकुरापालन व्यवसाय गर्न ५० प्रतिशत अनुदानमा ५० हजार रुपैयाँ उपलब्ध गराएको थियो । उनको खुकुरापालन अहिले गाउँकै नमुना बनेको छ ।  उनले भने, ‘हामीलाई विश्वास गरेर पालिकाले अनुदान उपलब्ध गरायो । अनुदानको सदुपयोग गरेर काम गरेर देखायौँ । अहिले बोइलर र लोकल कुखुरा अन्यत्र निर्यात गर्ने स्थितिमा पुगेको छु ।’


५० हजार पालिकाको अनुदान र ५० हजार रुपैयाँ व्यक्तिगत लगानीबाट सुरु गरेको व्यवसायले अहिले राम्रो प्रतिफल दिन सुरु गरेको किसान खत्रीको भनाइ छ । 
अहिले लिम्चुङबुङ पालिकाको अनुदानमा खत्रीले सुपर एकीकृत कृषि तथा पशुपक्षी फार्म खोलेर कुखुरापालन गरिरहेका छन् । उत्पादित लोकल कुखुरा प्रतिकेजी ५५० र बोइलर प्रतिकेजी ३०० रुपैयाँमा बिक्री गर्दै आएको छ । खत्रीले होम डेलिभरीको व्यवस्था पनि दिँदै आएका छन् ।

 

लिम्चुङबुङको आर्थिक वर्ष २०७७/७८ को स्वीकृत कार्यक्रमअनुसार वैदेशिक रोजगारीबाट फर्किएका युवालाई उपलब्ध गराएको ५० प्रतिशत अनुदानले खत्रीले फर्म दर्ता गरेर कुखुरापालन व्यवसाय सञ्चालन गरेका हुन् ।  पालिकाले दिएको ५० हजार रुपैयाँमा आफ्नो ५० हजार थपेर १ लाखमा खत्रीले व्यवसाय सुरु गरेको पालिका अध्यक्ष मेजरकुमार राईले बताए । 

 

लिम्चुङबुङमा अध्यक्ष कृषि परियोजना लागू गरेपछि किसानको जीवनस्तरमा सुधार भएको छ । ‘वैदेशिक रोजगारबाट गाउँमै केही गर्छु भनेर फर्केका युवा लक्षित कार्यक्रम प्रभावकारी बन्दै गएको छ’, पालिका अध्यक्ष राईले भने ।

 

पालिकाले युवालाई स्वरोजगार बनाउने उद्देश्यअनुसार गत वर्षको गाउँसभाबाट लिम्चुङबुङ अध्यक्ष कृषि परियोजनाले व्यक्तिका साथै स्वय व्यक्तिलाई त फाईदा समग्र पालिकाकै उत्पादकत्व बढेको उनको बुझाइ छ । तरकारी र मासुजन्य उत्पादनमा गाउँपालिका आत्मनिर्भर बनिसकेको अध्यक्षको भनाइ छ ।


गत आर्थिक वर्षमा परियोजनाअन्तर्गत स्वदेश तथा वैदेशिक रोजगारबाट गाउँ फर्केका युवालाई मागमा आधारित कृषि युवा लक्षित कार्यक्रमबाट ५० प्रतिशत अनुदानमा ७५ वटा फर्मले कार्यक्रम सञ्चालन गरिरहेका छन् ।


एकल, विपन्न, सीमान्तकृत वर्गलाई मागमा आधारित व्यावसायिक खेती गर्न ७० प्रतिशत अनुदान उपलब्ध गराउँदै आएको अध्यक्ष राईले जानकारी दिए ।
पिप्लेका कुखुरापालक खत्रीले उत्पादन गरेको कुखुराको विज्ञापन फेसबुकमा गर्दै आएका छन् ।