close

व्यासले किसानलाई अनुदानमा आलुको बीउ दिने

व्यासले किसानलाई अनुदानमा आलुको बीउ दिने

Trulli
ADVERTISEMENT

तनहुँ–व्यास नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा उन्नत आलुको बीउ वितरण गर्ने भएको छ । विभिन्न कृषक समूह, सहकारी, सामूहिक खेती र व्यक्तिलाई समेत गरी नगरपालिकाले जनकदेव र एमएस उन्नत जातका करिब ३३ टन आलुको बीउ वितरण गर्न लागेको हो ।

 

तीमध्ये यहाँका किसानले गतवर्ष उत्पादन गरी चितवनको कोल्डस्टोरमा भण्डारण गरी राखिएको करिब १७ टन आलुको बीउ तनहुँ ल्याएर वितरण गर्न लागिएको व्यासनगरपालिका कृषि शाखाका कृषिप्रसार अधिकृत कुशल नहर्कीले जानकारी दिए ।  ‘चितवनको कोल्डस्टोरबाट आलुको बीउ ल्याएर किसानलाई वितरण गर्ने योजना बनाएको हौं’, उनले भने, ‘अपुग करिब १६ टन आलुको बीउ त्रिवेणीबाट खरिद गरेर वितरण गर्ने योजना छ ।’

 

 नगरपालिकाले चितवनको कोल्डस्टोरमा लैजानका लागि प्रतिबोरा रु ३५० गरी ६२९ बोराका लागि कूल रु दुई लाख २० हजार एक सय ५० ढुवानी खर्च गरेको उनले बताए । उनले भने, ‘किसानलाई जनकदेव रातो र एमएस निलो उन्नत जातका आलुको बीउ वितरण गरिनेछ ।’

 

व्यासनगरपालिका मातहत रहेका चौध वटै वडाका किसानको माग अनुरुप वडा कार्यालयबाट सिफारिस भएर आएका किसानलाई आलुको बीउ वितरण गरिने उनले बताए । गतवर्ष प्रथम श्रेणीको वितरण गरिएकोमा आउँदो वर्ष स्थानीय जातको आलुको बीउ उत्पादन गर्ने लक्ष्य राखिएको सो शाखाले जनाएको छ ।