close

गाईभैंसी पालेर नमुना किसान बन्दै यादव

गाईभैंसी पालेर नमुना किसान बन्दै यादव

Trulli
ADVERTISEMENT

सप्तरी–स्वदेशमै केही गर्नुपर्दछ भन्ने मनोकांक्षा राखेर गाईभैंसीपालन गर्दै आएका सप्तरीका रमेशकुमार यादव जिल्लामै नमुना किसानको परिचय बनाउन सफल भएका छन् । यादवले हाल राजदेवी पशु सहकारी संस्था स्थापना गरी तिरहुत वडा नम्बर १ स्थित पशु फार्म सञ्चालनमा ल्याई सफल किसानका रूपमा आफूलाई स्थापित गरेका हुन् ।


उनले हाल आफ्नो फार्ममा २५ वटा होल्स्टेन एवं जर्सी क्रसका गाईभैँसी र २९ वटा मुर्रा क्रस पालिरहेका छन् । यी गाईभैंसीबाट दैनिक साढे ३ सय लिटर दूध बिक्री हुने गरेको उनले बताए । तर, लगानीअनुुसार दूधबाट मुनाफा लिन नसकिएको यादव सुनाउँछन् । ‘दूध बिक्रीका साथै फार्ममा बाच्छीसमेत उत्पादन गर्दै आएको छु’, यादवले भने, ‘फार्ममा रहेका गाईभैंसीबाट जन्मिइका बाच्छीको स्याहारसुुसार गरेर राम्रोसँग हुुकार्उन सकिए दूध बिक्रीले भन्दा यसबाट राम्रो आम्दानी लिन सकिन्छ ।’


नश्ल बाच्छी १ लाख रुपैयाँसम्ममा बिक्री हुने र दूध बिक्रीभन्दा बाच्छी बिक्रीले बढी फाइदा मिल्ने किसान यादवको भनाइ छ । उत्पादित दूध राजविराज र बरमझियास्थित पेडा पसलमा बिक्री गर्दै आएको उनले बताए । ‘बजारमा अहिले सबै चीजको मूल्य बढेको छ । दूधको भाउ कमी भएकाले पनि लागतअनुुसार मुूल्य नपाउँदा किसान मर्कामा परेका छन्’, यादवको गुनासो छ ।


अहिले केही जग्गामा घाँस रोपेको र दाना आफैंले बनाउँदै आएको बताउने यादवले १० कठ्ठामा गाईभैंसीको गोठ बनाएर पशुपालन गरिरहेका छन् । फार्ममा ५ जनालाई रोजगारी दिएको र अहिलेसम्म सरकारी अनुुदान कतैबाट नपाएको गुुनासो उनको छ । ‘राज्यले दूधमा जसरी मूल्य निर्धारण गरेको छ, दानामा पनि सोहीअनुसार हुनुपर्छ’, उनले भने ।


भारतबाट दूध आयात बन्द गरी स्वदेशकै उत्पादनलाई बढावा दिन सके मात्र किसानको लागत खेर नजाने उनले बताए । यादव त्रिरहुत गाउँपालिका वडा नम्बर १ का नेकपा माओवादी केन्द्रका सक्रिय कार्यकर्तासमेत हुन् । ३० वर्षीय यादव त्रिकोलका सफल किसानका रूपमा परिचित मात्रै नभई गाईभैंसीपालन गर्ने अगुवासमेत बनेको स्थानीय समाजसेवी उमेश भदेशवारले बताए ।