close

सुरु भयो ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना

सुरु भयो ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना

Trulli
ADVERTISEMENT

काठमाडौं–कृषि मन्त्रालयले विश्व बैंकसँगको साझेदारीमा ग्रामीण उद्यम तथा आर्थिक विकास (रिड) आयोजना सुरु गरेको छ । आयोजना सञ्चालनका लागि ९ अर्ब ५० करोड रुपैयाँ बढी लगानी गरिनेछ ।

 

ग्रामीण उद्यम तथा आर्थिक विकास परियोजनाको कृषि तथा पशुपक्षी विकासमन्त्री महेन्द्रराय यादव र मालदिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद जेर्भाेसले बिहीबार संयुक्त रूपमा उद्घाटन गरे ।


कार्यक्रममा कृषिमन्त्री यादवले कृषि क्षेत्रको रुपान्तरण गर्न कार्यक्रम सुरु गरिएको बताए । साना किसान र सहकारीले उत्पादन गरेका वस्तुलाई बजार सुनिश्चित गर्न यो परियोजना महत्त्वपूर्ण हुने उनले विश्वास व्यक्त गरे ।
साना उत्पादक र किसानको आय बढाउन, कृषि उद्यमशीलता प्रवद्र्धन गर्न र ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना गर्न यसले सघाउने मन्त्री यादवले जानकारी दिए ।

विश्व बैंकका देशीय निर्देशक जेर्भाेसले परियोजनाले नेपालको समावेशी विकासलाई सघाउ पुग्ने विश्वास व्यक्त गरे । परियोजनाले कफी, चिया, फलफूल र औषधी उत्पादनजस्ता क्षेत्रलाई उत्प्रेरित गर्ने उनको भनाइ छ । 


आयोजनाबाट कोभिड–१९ पछिको पुनरुत्थानमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । रोजगारी सिर्जना गर्दै ग्रामीण बजार सम्बन्ध सुदृढ गर्ने, उद्यमशीलता प्रवद्र्धन गरी नेपालको कृषि क्षेत्रलाई बढावा दिने लक्ष्य राखिएको छ ।


ग्रामीण उद्यमीका लागि दिगो सम्बन्ध बढाउन प्रदेश १, २, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमलाई समेट्ने पाँच वटा आर्थिक करिडोरमा चुनिएका नगरपालिकामा यो परियोजना कार्यान्वयन गरिँदै छ । 


यो परियोजना सरकारको कृषि विकास रणनीति सन् २०१५–२०३५ सँग मिल्दोजुल्दो रहेको विश्व बैंकले विज्ञप्तिमार्फत जानकारी दिएको छ । परियोजनाले पूर्वाधार निर्माणमा कामका लागिसमेत सघाउ पुर्‍याउने र महिलासहित ५७०० बढी व्यक्तिका लागि छोटो अवधिको रोजगारी सिर्जना गर्ने विश्व बैंकको अपेक्षा छ ।