close

कृषि जोन कार्यक्रमले दाङका किसान उत्साहित

कृषि जोन कार्यक्रमले दाङका किसान उत्साहित

Trulli
ADVERTISEMENT

देउखुरी– दाङका विभिन्न स्थानमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कृषि जोन लागू भएको छ । उक्त कार्यक्रम लागू भएपछि किसान उत्साहित भएका छन् । 

 

जिल्लाको देउखुरी क्षेत्रमा मकै जोन, घोराही क्षेत्रमा माहुरी जोन र पश्चिम दाङमा तोरी जोन एकाइ लागू भएको छ । यस्ता कृषिजन्य परियोजना लागू भएपछि दाङका कृषक खुसी भएका छन् । राप्ती गाउँपालिका–२ पाखापानीकी सुनिता चौधरीले मकै सुपरजोन कार्यक्रमअन्तर्गत मकैखेती गरेकी छिन् । एउटा याममा मात्र मकै खेती गर्ने गरेकामा अहिले उनले तीन यामसम्म खेती गर्दै आएकी छिन् । 

 

‘एउटा याममा रु ८० हजार बराबरको मकै बिक्री हुन्छ’, उनले भनिन्, ‘अनुदानमा कृषियन्त्र, उन्नत बीउ पाएपछि खेती गर्न सहयोग पुुगेको छ ।’ बाह्रै महिना मकै खेती हुने गरेको छ । ‘परम्परागत रुपमा रोपिएको भन्दा उन्नत तरिकाले रोपिएको मकैको उत्पादन बढी हुन्छ’, चौधरीले भनिन् । देउखुरी क्षेत्रमा हिउँदे, बसन्ते र वर्षे गरी तीन याममा मकै खेती हुने गरेको छ । परम्परागत खेतीभन्दा तोरी जोन कार्यक्रममार्फत उन्नत जातको तोरी लगाउँदा फाइदा भएको तुलसीपुर–९ का रीता खत्रीले बताइन् ।  ‘तोरीमा लाग्ने रोगबारे कृषि प्रविधिकले सल्लाह दिने भएकाले उत्पादनमा वृद्धि भएको हो’, उनले भनिन् । गत वर्ष  दुई लाखको तोरी बिक्री गरेको खत्रीले बताइन् । 

 

तुलसीपुर–१९ का तिलक खत्रीले व्यावसायिक रुपमा मौरीपालन गरेका छन् । बीस घारबाट थालेका उनीसँग अहिले ८० घार माहुरी छन् । ‘तोरी फुल्ने याममा माहुरीको चरन प्रसस्त हुने गरेको छ ।’ मौरी सुपरजोन कार्यक्रमले कृषकलाई व्यावसायिक बनाएको छ । 

 

दाङलाई तोरीमा आत्मनिर्भर बनाउन तोरी सुपरजोन कार्यक्रम सञ्चालन गरिएको कार्यक्रम संयोजक महेश रेग्मीले जानकारी दिए । किसानलाई बिस्तारै समेट्दै लैजाने र तोरी उत्पादन वृद्धि गर्ने लक्ष्य रहेको उनले बताए । परियोजना एकाइले २० घारभन्दा धेरै आधुनिक मौरीपालन गर्दै आएका किसानलाई मौरी जोनमा आबद्ध गर्ने गरेको छ । आबद्ध भएका व्यवसायीको क्षमता विकास, सीप विकास र घार तथा प्रविधिमा सहयोग  गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कृषि क्षेत्रको उत्पादन र यस कार्यक्रमले खेत जोत्ने ट्याक्टर, बीउ छर्ने, गोडमेल गर्ने, मकै छोडाउने मेसिनजस्ता कृषि यन्त्र खरिद गर्दा किसानले ५० प्रतिशत लागत सहभागिता जुटाउन पर्छ । 

 

उत्पादकत्व वृद्धि गर्ने आवश्यक प्रविधि तथा उत्पादन सामग्रीको व्यवस्था, बाली र वस्तु उत्पादनमा यान्त्रीकरण, प्रशोधन तथा बजारीकरणको लागि आवश्यक पूर्वाधारको व्यवस्था गर्न सञ्चालन गरिएको हो । कृषिमा आधारित अर्थतन्त्रलाई कृषिजन्य उद्योगमा रुपान्तरित आधुनिक, व्यावसायिक, दिगो एवं आत्मनिर्भर बनाउनु यो कार्यक्रमको लक्ष्य हो । 

 

दाङमा करिब साढे ३०० हेक्टरमा उन्नत जातको तोरी खेती गरिएको छ । तोरी उत्पादनले आयआर्जनमा वृद्धि भएको छ । यो कार्यक्रम आव २०७३÷७४ देखि दाङका सबै पालिकामा सञ्चालित छ । आर्थिक वर्ष २०७७/७८ को अन्तसम्ममा मकै सुपरजोनमा दुई हजार ९०० हेक्टर, तोरी जोनमा ७५० हेक्टर र मौरी जोनमा १३ हजार ४०० घारमा विस्तार भएको छ । मकै सुपर जोनमा १०१, तोरी जोनमा ४३ तथा मौरी जोनमा १४२ सहकारी समूह, निजी उद्यमी र व्यवसायी आबद्ध छन् ।