close

काभ्रेको फस्कोटमा फस्टिँदै किबी 

काभ्रेको फस्कोटमा फस्टिँदै किबी 

Trulli
ADVERTISEMENT

काभ्रे– काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर ११ फस्कोटमा १६ वर्षदेखि किबीको स्याहार गर्दै आएका बुद्ध स्याङतान यसबाट मनग्गे आम्दानी हुने बताउँछन् ।


थाक्रोभरि फिँजिएको लहरोमा लटरम्म किबी फलिरहेको छ । टाढाबाट हेर्दा खासै केही नदेखिने लहराको थाक्रोभित्र पुगेर हेर्दा भने मनै लोभ्याउने गरी लटरम्म फलेको किबीले काम गर्नेलाई थप मिहिनेत गर्न हौसला मिलेको छ ।  किबी खेतीको स्याहारसुसार गर्ने काम स्याङतान परिवारले गर्दै आएको छ ।

 

काम गर्ने आँट र जाँगर भए रोजगारीका लागि विदेश जानुपर्दैन भन्ने उदाहरण किबी खेतीले दिएको छ । उनका अनुसार अब मंसिर दोस्रो–तेस्रो सातादेखि किबी टिप्ने र ग्रेडिङ गरेर बजारीकरण गर्ने काम सुरु हुनेछ ।  हिमालयन अर्गानिक किबी फर्मले उत्पादन गर्दै आएको सो खेती १६ रोपनी जग्गामा भइरहेको छ ।
एउटा बोटमा ६० देखि ७० किलोसम्म फल्ने गरेको छ । फराकिलो क्षेत्रफलमा रोप्नुपर्ने भएकाले एक रोपनीमा करिब २० बोटसम्म खेती गर्न सकिने उनको भनाइ छ । रोपेको बोटबाट एक रोपनी क्षेत्रफलमा वार्षिक १ लाख रुपैयाँ बढी आम्दानी हुने गरेको स्याङतानले बताए । यस हिसाबले यो खेतीबाट वार्षिक १६ लाख रुपैयाँसम्म आम्दानी हुँदै आएको उनको भनाइ छ । 

 

०६२/६३ बाट रोप्न सुरु गरेको सो खेती रोपेको तीन वर्षदेखि फल लाग्न थालेकामा  अहिले वार्षिक रूपमा निरन्तर उत्पादन र बिक्री हुँदै आएको स्याङतानले बताए । ‘अहिले वार्षिक ६÷७ टन उत्पादन हुन्छ’, उनले भने, ‘उत्पादित किबी गुणस्तरीय भएकाले बिक्री भएन भनेर चिन्ता लिनुपर्ने अवस्था छैन । स्तरअनुसारको उत्पादनको मूल्य पाउने गरेको छ ।’ 

 

नार्कमा जागिरे पाण्डेले अवकाशपछि किबी बगैँचा स्थापना गरेपछि मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ९ बेतेनी लितीका उनले व्यावसायिक रूपमा किबी खेतीमा काम गर्ने अवसर पाएका हुन् ।


सामान्यतया किबी फलेको २४० दिनमा फल पाक्ने गर्दछ । ‘वैशाखमा फल्न सुरु गरेर मंसिरसम्म पाकेर बेच्न तयार हुन्छ’,  उनले भने, ‘ग्रेडिङको आधारमा आधा किलोको ए ग्रेडको ३५०, बी ग्रेडको २५० र सी ग्रेडको १५० देखि २०० रुपैयाँसम्म बिक्री हुन्छ ।’ 


खेती गर्नेले एक पटक टिपेर थुपार्ने गरेका कारण समस्या आउने गरेको देखेको तर आफूहरूले गरेको खेतीमा भने मागको आधारमा टिप्ने र बजारीकरण गर्ने गरेका कारण खासै समया नभएको उनको भनाइ छ । 

 

पाकेर धेरै टिप्नुपर्ने अवस्था आए चिस्यान केन्द्रमा लगेर राख्ने गरेको कारण खासै समस्या नहुने उनले बताए । एक पटक लगाएपछि ५०–६० वर्षसम्म फल दिने किबीमा खासै रोग नलाग्ने भएकाले दुःख धेरै गर्नु नपर्ने र निरन्तर फल लिन पाउने भएका कारण पनि खती गर्न सहज हुने उनको भनाइ छ । 


किबी खेतीसँगै सो फर्मबाट बिरुवासमेत बिक्री गर्दै आएको छ । सो फर्ममा फल बिक्रीका साथै नर्सरीसमेत राखेर थप आयआर्जन गर्दै आएको हो । कामदार स्याङतानका अनुसार भूकम्प अगाडि वर्षको ६/७ हजार गोटा बिरुवा बेच्ने गरेकामा त्यसपछि भने अहिले १ हजारदेखि १ हजार ५०० रुपैयाँसम्म बिरुवा बिक्री हुने गरेको उनले सुनाए । 


सबै अर्डरअनुसार नै बिरुवा उत्पादन गरी थप आम्दानी गर्दै आएका छन् । यहाँ उत्पादन भएका किबी काठमाडौंको भाटभटेनी सुपरमार्केटमा ग्रेडिङ गरेर प्याकेट बनाई बिक्री गर्दै आएको उनले बताए ।


फर्म सञ्चालक पाण्डेले तेमाल गाउँपालिका वडा नम्बर ६ ठूलो पसलमा करिब ५०–६० रोपनीमा ड्रागन फ्रुट र मेकाडेमिय नटको खेती गरिरहेका छन् । यसअघि सबै परिवारसहित सो फार्ममा काम गरेका उनले छुट्टै गर्ने सोच बनाएको सुनाए । त्यसका लागि चार पाँच रोपनी जग्गा व्यवस्थापनमा लागिरहेको उनको भनाइ छ । अहिलेसम्म उनले मासिक २० हजार रुपैयाँमा फार्म सञ्चालक डा. सूर्यप्रसाद पाण्डेकहाँ काम गर्दै आएका छन् ।

 

सोही फार्ममा काम गरेको अनुभवको आधारमा नर्सरी सुरु गर्न लागिएको उनले बताए । खेती सुरु गरेदेखि त्यही काम गर्दै आएका उनी अब आफैं किबीलगायत एभोकाडो, कागतीको नर्सरी व्यवसाय सञ्चालन गर्ने तयारीमा छन् ।


‘स्थापनाकालदेखि नै यही काम गरेँ, अब आफंैले लगानी गरेर छुट्टै नर्सरी व्यवसाय सुरु गर्ने गरी सबै तयारी गरिसकेको छु’, उनले भने, ‘उत्पादन हुने बिरुवा बिक्री गर्न कुनै समस्या नहुने भएकाले नर्सरी व्यवसाय गर्ने तयारीमा छु ।’


समुद्री सतहबाट १ हजार मिटरभन्दा माथिको उचाइमा किबीको उत्पादन लिन सकिन्छ । फलफूलमध्ये सबैभन्दा धेरै पौष्टिक तत्त्व भएको फलको रूपमा किबीलाई मानिन्छ । किबीको फल र बिरुवा दुवैबाट फाइदा लिन सकिन्छ । एउटै रुखमा ५० देखि ७० किलोग्रामसम्म फल लाग्छ भने प्रतिकिलो ४०० देखि ६०० रुपैयाँसम्म सजिलैसँग बिक्री हुने गरेको किसानको भनाइ छ ।