close

हराउन थाले तीतेमाछा

Trulli
ADVERTISEMENT

पाँचथर– जिल्लाको उत्तरपूर्वी क्षेत्रमा पर्छ, याङ्बरक गाउँपालिका । यहाँको स्थानीय खोलामा पाइन्छन्, अनौठा जीवनचक्र बोकेका रैथाने जातका माछा । ती माछा हातको बूढीऔँलाभन्दा ठूला हुँदैनन् । ती माछा स्वादिष्ट र पोषिलो हुन्छन् । भनिन्छ, तीनमा औषधीय गुण भए पनि केही तीतो हुन्छ । स्थानीय ती माछालाई तीतेमाछा भन्छन् ।


यी माछा याङ्वरक गाउँपालिकाको इङ्वाखोला, मेवाखोला, खोङ्खोला, नुवाखोला, पाँचथर–ताप्लेजुङ सीमा भएर बग्ने काबेली खोलामा पाइन्छन् । पाँचथरकै फालेलुङ गाउँपालिका र ताप्लेजुङका केही खोलामा पनि तीतेमाछा पाइने स्थानीय बताउँछन् ।


रैथाने जातका यी माछाको जीवनचक्र अनौठो किसिमको हुन्छ । फुल पार्ने सिजनमा यी माछा आश्चर्यलाग्दो गरी हुल बाँधेर खोलाको उद्गमस्थलतिर उक्लिन्छन् । जेठदेखि भदौ अन्तिमसम्म यी माछाले फुल पार्ने स्थानीय समीर बेघा लिम्बू बताउँछन् ।


तीतेमाछाले फुल पार्ने निश्चित मूल हुन्छ, जुन मूलमा फुलबाट भुरा निस्कन्छन्, ती पनि अर्को साल फुल पार्न उही मूलमा पुग्ने विश्वास गरिन्छ ।  फुल पार्न खोलाको उद्गमस्थलतिर उक्लेका तीतेमाछा फुल पारिसकेपछि खोलाको मूल प्रवाहतिर ओर्लिन्छन् । त्यतिबेला तीतेमाछाको सिकार गरिन्छ । 


तर, अहिले सिजनमा पनि तीतेमाछा पाउन छाडिएको स्थानीय ओमप्रकाश माङ्मुले बताए । ‘पहिले–पहिले सिजनमा एक रातमै १५० किलोसम्म तीतेमाछा पारिन्थ्यो’, उनले भने, ‘यो वर्ष ४–५ किलो पनि परेनन्, तीतेमाछा आउनै छाडे ।’


माङ्मुका अनुसार पाँच वर्षदेखि तीतेमाछा आउने क्रम घट्दै गएको हो । खोलामा अनधिकृत रूपमा करेन्ट लगाएर माछा मार्ने प्रवृत्ति बढ्नु, बाढी–पहिरोजस्ता प्राकृतिक प्रकोप र पुल, सडकलगायत निर्माणका काम गरिँदा तीतेमाछाले फुल पार्ने मूल पुरिनुजस्ता कारणले हराउँदै जान थालेका हुन् । 


तीतेमाछा यहाँका स्थानीय खेलामा पाइने महत्त्वपूर्ण जलचर हुन् । अझ इङ्वाखोलाका तीतेमाछालाई विशेष र महत्त्वपूर्ण मानिन्छ । पवित्र तीर्थस्थल तिम्बुङपोखरीको निकासबाट बग्ने इङ्वाखोलाका तीतेमाछालाई स्थानीय औषधीको रूपमा लिन्छन् । यहाँको तीतेमाछा र त्यसको सुप खाँदा जिउ दुखाइ बिसेक हुने र स्फूर्ति आउने स्थानीय बताउँछन् ।


इङ्वाखोलमा मात्र पहिले तीतेमाछा आउने १६ वटा मूल थिए । अहिले तीन वटा मात्र छन् । ती मूलमा पनि तीतेमाछा आउन छाडेका छन् । यी माछालाई ऐतिहासिक महत्त्वको माछाको रूपमा समेत लिइन्छ ।


लिम्बुवान इतिहासका अध्येता मलिसा याक्थुङ्बाका अनुसार नेपाल एकीकरणका क्रममा तत्कालीन शाह राजाहरूले लिम्बुवानलाई दिएका लालमोहरमा समेत ‘तितेमाछा’ उल्लेख छ । 


तीतेमाछाको सुकुटी माग देश–विदेशसम्म हुने गरेको छ । यसको सुकुटीको मूल्य प्रतिमाना (कुरुवा) पाँच सय रुपैयाँ पर्ने स्थानीय बताउँछन् । देश–विदेशका आफन्तलाई तीतेमाछाको सुकुटी कोसेलीको रूपमा पठाइदिने प्रचलन पनि छ । तीतेमाछा लोप हुँदै जान थालेपछि सरोकारवाला भने चिन्तित बनेका छन् । तीतेमाछा संरक्षणका लागि स्थानीय सरकारले समुदायमा आधारित संरक्षण नीति ल्याउनुपर्ने संरक्षण अभियन्ता मंगल बेघा बताउँछन् । 

 

पालिकाले देखाएन संरक्षणमा चासो 
स्थानीय खोलाको सौन्दर्यको रूपमा रहेका तीतेमाछा लोप हुँदै गए पनि स्थानीय पालिकाले संरक्षणमा चासो देखाएको छैन । अहिलेसम्म तीतेमाछा संरक्षणका लागि पालिकाबाट कुनै ठोस योजना नबनेको याङ्बरक गाउँपालिका उपाध्यक्ष कमलकुमारी योङहाङले बताइन् । 

 

तीतेमाछा जोगाउन पालिकाले आगामी दिनमा योजना बनाउने उपाध्यक्ष योङहाङको भनाइ छ । याङ्बरक वडा नम्बर २ का वडाध्यक्ष देउकुमार योङहाङले पनि बेला–बेला तीतेमाछा संरक्षणको सवाल उठ्ने गरेको सुनाए । तर, वडा कार्यालयले पनि अहिलेसम्म संरक्षणको योजना भने बनाउन नसकेको उनको भनाइ छ । 

 

कुनै बेला तीतेमाछा सिकार गर्न टेन्डर गरिन्थ्यो
कुनै तीतेमाछा आउने सिजनमा यसको सिकार गर्न स्थानीयबीच प्रतिस्पर्धा हुने गरेको स्थानीय बताउँछन् । सोही कारण एकापसमा झगडा हुने क्रम बढेपछि सार्वजनिक मूलमा तीतेमाछा मार्न टेन्डर आह्वान हुन्थ्यो ।

 

स्थानीय बुद्धिजीवी मचिन्द्र बेघाका अनुसार तत्कालीन फलैचा गाउँ पञ्चायतले २०३० देखि सार्वजनिक मूलमा तीतेमाछा मार्न ठेक्का लगाउने प्रचलन सुरु गरेको थियो ।

 

यसलाई गाउँ पञ्चायतपछि तत्कालीन गाउँ विकास समिति, आदिवासी जनजाति महासंघ गाउँ समन्वय परिषद् र अहिलेको वडापालिकासम्मले निरन्तरता दिए । तर, तीतेमाछा नै आउने छाडेपछि केही वर्षदेखि टेन्डर आह्वान गर्न छाडिएको याङ्बरक गाउँपालिका वडा नम्बर २ को वडा कार्यालयले जनाएको छ ।