close

परनिर्भरता हटाउन तानसेनमा आलुको पकेट क्षेत्र विस्तार 

परनिर्भरता हटाउन तानसेनमा आलुको पकेट क्षेत्र विस्तार 

Trulli
ADVERTISEMENT

पाल्पा– पाल्पाको तानसेन नगरपालिका–१४ अर्गलीलाई आलुको पकेट क्षेत्र विस्तार गर्न लालिएको छ । पहाडी जिल्ला पाल्पालाई आलुमा आत्मनिर्भर बनाउन आलु पकेट क्षेत्रका रुपमा विकास गर्न लागिएको हो । तानसेन नगरपालिका र ग्रामीण आर्थिक विकास सङ्घ (रेडा) को सहयोगमा उन्नत जातको आलुको बीउ वितरण गरिएको हो । कार्डिनल उन्नत जातको ११ हजार ४५० किलोग्राम, खुमल रातो २ हजार ५० किलोग्राम, जनक देव ३०० किलोग्राम वितरण गरिएको रेडाका कार्यक्रारी निर्देशक लीलाबहादुर कार्कीले बताए । 

 

आलु उन्नत कृषि समूहका झण्डै दुई सय घरपरिवारले व्यावसायिक रुपमा आलु खेती गर्ने जनाइएको छ । प्रत्येक समूहका सदस्यले न्यूनतम एक सय किलोग्राम आलु खेती गर्नुपर्ने निर्देशक कार्कीले बताए । प्रति एक रोपनी जग्गामा आलु खेती गर्नुपर्नेछ । उपयुक्त हावापानी रहेकाले आलु पकेट क्षेत्र विस्तार गर्न थालिएको तानसेन नगरपालिका प्रमुख अशोककुमार शाहीले बताए । सिँचाइको सहज सुविधा भएकाले यस क्षेत्रमा व्यावसायिक रुपमा आलु उत्पादन गरी आत्मनिर्भर बनाउन खोजिएको हो । तानसेन नगरपालिकाले बेरोजगार तथा विदेश फर्केका युवा लक्षित गरी उत्पादनमूलक कार्यमार्फत आत्मनिर्भर बनाउन थालिएको नगरप्रमुख शाहीले बताए ।

 

तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डेले अर्गेलीलाई आलु पकेट क्षेत्रका रूपमा विकास गरी कृषकहरूलाई आयआर्जनको माध्यमबाट स्वरोजगार बनाउने योजनाका साथ आलु पकेट क्षेत्र कार्यक्रम सञ्चालन गरिएको बताए । वडाध्यक्ष कमल रानाले आलु संरक्षण गरेर राख्नका लागि कोल्ड स्टोरको निर्माण गरिने योजना रहेको बताए । अर्गेलीमा सिँचाइका लागि प्रशस्त पानी रहेकाले आलुको उत्पादनको सम्भावना रहेको उनले बताए । तानसेन नगरपालिकाले गरिब तथा बेरोजगार युवाहरुको आर्थिक हैसियतमा सुधार ल्याउन व्यावसायिक रुपमा पशुपालन तथा कृषि क्षेत्र कार्यक्रम ल्याएको छ । महिलाहरु समूह निर्माण गरी बाख्रा तथा घाँस खेतीप्रति आकर्षित छन् । 

 

जिल्लाको रामपुर नगरपालिका र रम्भा गाउँपालिको आलुमा परनिर्भरता हटाउन बीउ  किसानलाई अनुदानमा वितरण गरेको छ । कृषि ज्ञान केन्द्र पाल्पाले समेत आलु खेतीका निम्ति समूहमार्फत काम गरिरहेको जनाएको छ । जिल्लाका अधिकांश स्थानीय तहमार्फत आलुखेतीलाई प्रोत्साहन गरी आलुमा आत्मनिर्भर बन्न अनुदानमा वितरण गरिएको रम्भा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए ।