close

बेलकाको रामनगर कृषि पर्यटनको केन्द्र बन्दै

बेलकाको रामनगर कृषि पर्यटनको केन्द्र बन्दै

Trulli
ADVERTISEMENT

उदयपुर–  बेलका नगरपालिकालाई माछामा आत्मनिर्भर बनाउने उद्देश्यले उदयपुरको बेलका नगरपालिका–२ स्थित रामनगरमा व्यावसायिक माछापालन सुरु गरिएको छ । 

 

बेलका माछा सहकारी संस्था दर्ता गरेर नगरपालिकाको साझेदारीमा व्यावसायिकरूपले माछा पालन गर्न थालिएको  हो । कोशी नदीको किनारमा खाली रहेको १४६ बिघा  जमिन नगरपालिकासँग भाडामा लिएर गत बैशाखदेखि माछा पालन सुरु गरिएको संस्थाका अध्यक्ष अशोक कार्कीले जानकारी दिए ।


हाल ३३ वटा पोखरी बनाई ३ लाख २८ हजार माछाका भुरा छाडिएको उनले बताए । अहिले दुई केजीसम्मका माछा भइसकेको र विक्री गर्न पनि थालिएको छ । प्रदेश सरकारको  ४५ लाख र सहकारीको  ५५ लाखको लगानीमा फार्म सुरु गरिएको हो । उदयपुरमा माछा जोनको कार्यक्रम परेकाले यस अघिदेखि व्यावसायिकरूपले माछा पालन गर्दै आएका कार्कीको सकृयतामा बेलका नगरमा माछा फार्म खोलिएको सहकारी संस्थाका सदस्य शरद कोइरालाले बताए  । 

 

कृषि पर्यटनको केन्द्र बनाइने

 

बेलका नगरको सदरमुकाम रामपुरबाट करिव चार किमी दक्षिणपूर्वमा रहेको कोशी टप्पु क्षेत्रलाई कृषि पर्यटकीय गन्तव्य बनाउने गरी काम थालिएको छ । निकट भविष्यमा ७०० विघा जमिनमा ५० वटा पोखरी बनाउने तयारी गरिएको छ । उक्त पोखरी वरपर फन पार्क, कर्टेज निर्माण, र बोटिङसमेत गर्न मिल्ने गरी डिपिआर गर्न लागिएकोे अध्यक्ष कार्कीले जानकारी दिए । 

 

‘कोशीको किनारलाई प्रदेश कै आकर्षक गन्तव्य बनाउन हामी लागेका छौँ । यसमा प्रदेश सरकार र स्थानीय सरकारको सहयोग रहेको छ,’ उनले भने, ‘यहाँ पाइने बदेल, हरिण, मृग, अर्नालगायत अन्य जङ्गली जन्तु अवलोकन गर्न सकिने छ । पर्यटकहरुलाई यही उत्पादन भएको माछा, अन्य सागसब्जी खुवाएर बिदा गर्छौ ।’ पर्यटकहरुलाई धेरै दिनसम्म राख्न प्राङ्गारिक खानेकुरा मात्र पाउने घरबास, होटल र स्विमिङ पुल निर्माणको तयारी थालिएको छ । विशेषगरी माछाका परिकारहरु बनाउने र माछाका सुकुटी विदेश निर्यात गर्ने गरी व्यवसाय थालिएको अध्यक्ष कार्कीले बताए ।  

 

यहाँ कोशी किनारबाट सूर्योदय हेर्न, कोशी टप्पु बन्यजन्तु आरक्ष वरपर रहेका हरिण, मृग, बदेल, अर्नाजस्ता जनावर देख्न सकिन्छ ।  यस क्षेत्रमा ठूलो मात्रामा एलानी जमिन छ । कोशी कटानबाट बनेको समथल भूभागमा विभिन्न जिल्लाबाट आएका कृषकहरुले भैसी पालन र कृषि पेशा गर्दै आएका छन् । यहाँ उत्पादन भएका तरकारी उदयपुर, र सुनसरीका बजारमा बिक्री हुँदै आएको छ ।