close

कुरिलोले भरिलो हुँदै किसानका गोजी

कुरिलोले भरिलो हुँदै किसानका गोजी

Trulli
ADVERTISEMENT

झापा–झापाको कन्काई नगरपालिका वडा नम्बर ६ का ३८ वर्षीया सविता खनालले कुरिलो खेतीबाट राम्रो आम्दानी लिन थालेकी छन् । उनले गत वर्ष पाँच कठ्ठा जमिनमा लगाएको खेतीबाट ३ लाख ५० हजार रुपैयाँ आम्दानी भएको बताइन् । उनले भनिन्, ‘कस्तो हुँदो रहेछ भनेर थोरै खेती गरेका थियौँ । आम्दानी गज्जबै भयो ।’ 


उनले यो वर्ष एक बिघा जमिनमा व्यावसायिक रूपमा कुरिलो खेती विस्तार गर्ने गरी बेर्ना उमारिरहेकी छन् । ६ महिना जति प्लास्टिकको थुँगामा उमारेर हुर्काएको बिरुवा रोपेको तीन महिनादेखि नै आम्दानी हुने गरेको उनको अनुभव छ । गत वर्ष लोकल जातको (मेरी वासिङ्टन) कुरिलोको बेर्ना लगाएकी उनले यो वर्ष हाइब्रिड जातको कुरिलो बेर्ना हुर्काइरहेकी छन् ।


उनले १० ग्राम हाइब्रिड जातको कुरिलोको बिउको मूल्य ४ हजार रुपैयाँ पर्ने बताइन् । कृषिमा श्रीमान् दधिराम न्यौपानेको दरिलो साथ पाएकी उनले गत वर्ष प्रतिकेजी ३ सयदेखि १ हजार २०० रुपैयाँ होलसेलमा कुरिलोको टुसा बिक्री गरेको बताइन् ।


कोरोनाका कारण व्यापार व्यवसाय बन्द भएपछि दमक नगरपालिका वडा नम्बर ३ मा दुई जना युवा मिलेर कुरिलो खेती सुरु गरे । उनीहरूले एग्रो फर्म प्रालि कम्पनी दर्ता गरेर व्यावसायिक रूपमा १० कठ्ठामा कुरिलो खेती लगाए ।

 

नारायण योङहाङ, याम भण्डारीको संयुक्त लगानीमा सुरु गरेको फार्मले बेर्ना लगाएको सात महिनादेखि नै आम्दानी दिन सुरु गरेको थियो । उनीहरूले कोरोना महामारी फैलिइरहेका बेला प्रतिकेजी १ हजार ४०० रुपैयाँले बिक्री गरेको बताए ।

 

फार्म सञ्चालक योङहाङले सुरुमा दैनिक ५ देखि १० केजी मात्र टुसा उत्पादन हुने गरेको कुरिलाले हाल दैनिक ५० केजी उत्पादन दिन थालेको जानकारी दिए । ‘कुरिलोको सब्जी या सुपमा इम्युनिटी पावर बढी हुँदो रहेछ’, उनले भने, ‘विगतमा कोरोनाका संक्रमितले मगाउँथे । हामीले घर–घरमै पुर्‍याइदियौँ ।’


हाल यसको बजार मूल्य प्रतिकेजी ५०० रुपैयाँ रहेको उनले बताए । अन्य तरकारीमा जस्तो कुरिलोमा रासायनिक मल प्रयोग नभई पिना, गोबर मल, कुखुराको सुली लगाइने हुँदा शतप्रतिशत अर्गानिक हुने उनको दाबी छ ।

 

कुरिलोको माग जिल्लामै बढिरहेको हुँदा बजारको समेत समस्या नरहेको उनको भनाइ छ । २५ वर्षदेखि दमकमा बबिन कृषि भण्डार सञ्चालन गर्दै आएका वसन्त न्यौपानेले दुई वर्षयता मात्र कुरिलोको बिजन राम्रोसँग बिक्री हुन थालेको बताए । कोरोना कालमा मान्छेले कुरिलोको महत्त्व बुझेपछि मात्र जिल्लामा यसको खेती बढ्न थालेको उनको बुझाइ छ । 


‘विगतमा दुई चार प्याकेट बिजन राख्थेँ । कसैले खोज्दैनथे’, उनले भने, ‘कोभिड–१९ का संक्रमितले जब यसको टुसा खोज्न थाले अनि मात्र किसान बिजन खोज्दै आउन थाले ।’ कुरिलोको बिजनको मूल्य प्रतिकेजी २ लाख ५० हजार रुपैयाँ पर्ने उनले बताए । उनले गत वर्ष काठमाडौंबाट दुई केजी र यो वर्ष तीन केजी कुरिलोको विजन ल्याएर बेचेको सुनाए । उनका अनुसार झापामा यसको व्यावसायिक खेती गर्ने किसान १५ देखि २० जनासम्म छन् ।
कृषि ज्ञान केन्द्र झापाका प्रमुख निलकमल सिंहले कुरिलोलाई एक औषधीजन्य वनस्पति रूपमा लिइने बताए । यो दोमट, बलौटे र पारिलो घाम लाग्ने माटोमा हुने हुँदा झापा कुरिलो खेतीका लागि उर्बरभूमि रहेको उनको भनाइ छ ।


जिल्लामा विगतमा फाट्टफुट्ट मात्र यसको खेती हुने गरे पनि हाल व्यावसायिक रूपमा सुरु हुन थालेको उनले जानकारी दिए । ‘कुरिलो बहुवर्षीय बाली हो’, उनले भने, ‘एक पटक लगाएपछि राम्रो रेखदेख भए यसबाट ५ देखि ७ वर्षसम्म उत्पादन लिन सकिन्छ ।’


कुरिलो पौस्टिक तथा पच्न सजिलो तरकारी भएकाले बिरामी तथा कमजोर व्यक्तिलाई खान दिने धेरै पुरानो प्रचलन हो । विगतमा जंगलमा उम्रिएको कुरिलो खोजेर खाने चलन भए पनि यसको व्यावसायिक खेती भने भर्खरै हुन थालेको मेचीनगर वडा नम्बर १३ का ७५ वर्षीय हर्क इधिंगोको भनाइ छ ।