close

अझै तोकिएन उखुको मूल्य

उखुको मूल्य प्रतिक्विन्टल ६५० रुपैयाँ कायम गर्न माग

अझै तोकिएन उखुको मूल्य

उखुको मूल्य प्रतिक्विन्टल ६५० रुपैयाँ कायम गर्न माग

Trulli
ADVERTISEMENT

काठमाडौं– सरकारले समयमै उखुको मूल्य नतोक्दा किसान अन्योलमा परेका छन् । तराईका दुई दर्जन जिल्लामा लाखौँ किसानले व्यावसायिक रूपमा उखु खेती गर्दै आए पनि क्रसिङ सिजन सुरु हुनै लाग्दासमेत यो वर्षका लागि सरकारले उखुको मूल्य तय गर्न सकेको छैन । 

 

सरकारले उखुको मूल्य तोक्न चासो नदेखाएपछि किसान सिंहदरबारको ढोका धाउन बाध्य छन् । गत बिहीबार कृषि मन्त्रालयमा किसान प्रतिनिधिले कृषिमन्त्री महेन्द्र राय यादव, कृषि सचिव गोविन्द शर्मालाई भेटेर दबाब दिएका थिए । तर, अहिलेसम्म मूल्य तोक्न सरकारले सकेको छैन ।

 

भेटमा किसानले उत्पादन लागत र चिनीको बिक्री मूल्यको आधारमा न्यायोचित मूल्य तय गर्न माग गरेको उखु उत्पादक महासंघ अध्यक्ष कपिलमुनि मैनालीले जानकारी दिए । यो वर्षका लागि उखुको मूल्य प्रतिक्विन्टल ६ सय ५० रुपैयाँ कायम गर्न किसानको माग छ ।

 

‘यो वर्षका लागि उखुको न्यूनतम मूल्य प्रतिक्विन्टल साढे ६ सय रुपैयाँ कायम गर्न माग गरेका छौँ,’ अध्यक्ष मैनालीले भने, ‘उत्पादन लागतको आधारमा मूल्य नतोकिए उखु खेती गर्न सकिँदैन । त्यसले चिनी उद्योग बन्द हुने अवस्था आउनेछ । यसबारे सरकार र उद्योगीको ध्यानाकर्षण गराएका छौँ ।’ कृषि मन्त्रालयका प्रवक्ता प्रकाश सन्जेलले यो वर्षका लागि उखुको मूल्य यही साता तोक्ने तयारी भइरहेको बताए । यो वर्ष उखुको मूल्य विगतको भन्दा वैज्ञानिक र व्यावहारिक हुने उनको दाबी छ ।

 

कृषि मन्त्रालयका अनुसार यो वर्ष उखुको मूल्य तोक्न मन्त्रालयले उखु पकेट क्षेत्र मानिने तराईका १० जिल्लामा गएर स्थलगत अध्ययन गरेको थियो । प्रत्येक जिल्लाबाट ३० बढी अध्ययन नमुना संकलन गरिएको मन्त्रालयले बताएको छ ।

 

गत वर्ष सरकारले उखुको मूल्य प्रतिक्विन्टल ५ सय ४४ रुपैयाँ ३३ पैसा तोकेको थियो । उखुको मूल्य ३८६ रुपैयाँ १६ पैसा, ढुवानी खर्च एवं मुनाफा ९२ रुपैयाँ ८९ पैसा र सरकारले दिने प्रतिक्विन्टल अनुदान ६५ रुपैयाँ २८ पैसा मिलाएर गतवर्ष ५ सय ४४ रुपैयाँ ३३ पैसा मूल्य निर्धारण भएको थियो । गत वर्ष अघिल्लो वर्षको तुलनामा क्विन्टल ८ रुपैयाँ मात्रै मूल्य बढेको थियो । तर, यो वर्ष उखुको मूल्य गत वर्षभन्दा प्रतिक्विन्टल १ सय ६ रुपैयाँ बढी निर्धारण गर्न महासंघले माग गरेको छ ।


लागतअनुसार मूल्य नपाउँदा तराईमा विगत केही वर्षदेखि उखु खेती घट्दै गएको छ । लागत अनुपातमा मूल्य नपाइने र सरकारले तोकेकै मूल्य पनि उद्योगीले समयमै नदिँदा किसानले उखु खेती गर्नै छाडेका छन् ।

 

बन्द हुँदै चिनी उद्योग

 

उखु अभावमा चिनी उद्योग बन्द हुने अवस्थामा पुगेका छन् । केही वर्षअघिसम्म हिउँदका ४/५ महिना चल्ने चिनी उद्योग उखु अभावमा अहिले २ महिनामै बन्द हुन थालेका छन् । 

 

इन्दु शंकर चिनी उद्योगका प्रशासन प्रमुख ठाकुर नेपालका अनुसार २÷४ वर्षअघिसम्म मंसिरमै चिनी उद्योग सञ्चालमा आउँथे । तर, यो वर्ष पुस पहिलो सातामा पनि उद्योग सञ्चालन हुने/नहुने भन्ने अन्योल छ ।

 

सर्लाहीको इन्दु शंकर र महोत्तरीको एभरेस्ट चिनी उद्योगबाहेक देशका सबैजसो उद्योगले किसानलाई तोकिएको मूल्यसमेत समयमै दिएका छैनन् । यस कारण किसानले उखु खेती मासेर अन्य अन्नबाली लगाउन थालेका छन् । तराईका सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, रौतहट, बारा, पर्सा, नवलपरासी, रूपन्देहीलगायत जिल्लामा व्यावसायिक उखु खेती हुँदै आएको छ ।  गत वर्ष नेपालमा १ लाख २० हजार मेट्रिक चिनी उत्पादन भएको सरकारी तथ्यांक छ । मुलुकमा वार्षिक २ लाख ५० हजार मेट्रिक टन चिनी माग छ ।