close

सैनामैनाद्वारा गाईभैँसीलाई न्यानो बनाउन ‘काउम्याट’ वितरण 

सैनामैनाद्वारा गाईभैँसीलाई न्यानो बनाउन ‘काउम्याट’ वितरण 

Trulli
ADVERTISEMENT

बुटवल– रुपन्देहीको सैनामैना नगरपालिकाले पहिलो पटक गाईभैँसीको गोठलाई न्यानो बनाउन आज म्याट वितरण गरेको छ । नगरपालिकाको समन्वयमा पशु विकास शाखाले साना कृषि औजार तथा यन्त्र, उपकरणअन्तर्गत ५० प्रतिशत अनुदानमा यहाँका २१ व्यावसायिक कृषक फर्ममा रहेका गाईभैँसीलाई ओछ्याउन १९८ वटा ‘काउम्याट’ वितरण गरेको हो । त्यसैगरीे शाखाले २० कृषकलाई २० विद्युतीय च्यापकटर पनि वितरण गरेको छ । 

 

कृषकलाई उक्त च्यापकटर र म्याट वितरण गर्दै सैनामैना नगरपालिका प्रमुख चित्रबहादुर कार्कीले व्यावसायिक कृषि पेशा गर्ने किसानलाई यसको भरपुर फाइदा लिन आग्रह गरे ।  ११ लाख बराबरको ५० प्रतिशत अनुदानमा उक्त कृषि औजार वितरण गरिएको उल्लेख गर्दैै उनले च्यापकटरले घाँस, पराल काट्न र म्याट ओछ्याएपछि गाईलाई न्यानो हुने, बिरामी नहुने र भर्खर जन्मेका बाच्छाबाच्छी, पाडापाडीलाई पनि सहयोग पुग्ने बताए ।  

 

नगरका ११ वडामा पशुपालन गर्दै आएका व्यावसायिक फर्मलाई गाईभैँसीका लागि आवश्यक पर्ने घाँस र पराल काट्न सहज होस् भन्ने उद्देश्यले उक्त च्यापकटर र न्यानोका लागि अनुदानमा म्याट वितरण गरिएको पशु विकास शाखा प्रमुख इन्द्रबहादुर खड्काले बताए । 

पशुपालक कृषक फर्ममध्ये छनोटमा परेका कृषकलाई मात्र उक्त च्यापकटर प्रदान गरिएको नगरपालिकाले जनाएको छ । कृषि औजारका लागि ३५ जनाको निवेदन पेश भएकामा २० जना मात्र छनोटमा परेका थिए । आगामी वर्ष पनि कृषि औजार वितरण कार्यक्रमलाई निरन्तरता दिइनेछ । 

 

निमित्त प्रशासकीय अधिकृत हेमराज अर्यालले कृषि औजारलाई सदुपयोग गर्दै कृषक प्रविधिसँग जोडिँदै व्यावसायिकरुपमा अघि बढ्नुपर्नेमा जोड दिए । कृषक सुरेन्द्रप्रसाद रेग्मीले व्यावसायिक पशुपालक कृषकले काउम्याट पाउनु खुसीको कुरा भएको भन्दै यसले किसानलाई उत्साहित बनाएको धारणा राखे । नगरपालिले विभिन्न समयमा यहाँका कृषकलाई यन्त्र तथा उपकरण वितरण गर्दै आएको छ ।