close

गाई पालेरै मासिक ५० हजार कमाउँछिन् दुलाल

गाई पालेरै मासिक ५० हजार कमाउँछिन् दुलाल

Trulli
ADVERTISEMENT

भक्तपुर– भक्तपुरकी चन्द्रकला दुलाल उमेरले भर्खरै ३२ वर्ष टेकिन् । तर, उनलाई न कुनै सरकारी जागिरको लोभ छ, न त सुख–सुविधायुक्त जीवनयापन नै । समाज सेवा र घरायसी काममा सधैँ तल्लीन हुन्छिन् । ‘सरकारी नोकरी गर्न कहिल्यै मन लागेन । नोकरीका लागि धेरैले करबल गरे पनि बेवास्ता गर्दै बसेँ,’ उनले भनिन्, ‘०६४ मा टेस्टपास भएपछि दिदीको घरमा छोरी स्याहार्न बसेँ । दिदी आर्मीमा जागिरे अनि छोरीलाई समय दिन नभ्याउने भएपछि आफैँले हेरेँ ।’

 

दिदीको घरमा बसेपछि उनकै देवरसँग चन्द्रकलाको विवाह भयो, जतिबेला उनी भर्खर १९ टेक्दै थिइन् । तर, विवाह भएको एक वर्ष नबित्दै उनीमाथि सौता थपिइन् । ‘श्रीमान्ले कोठामा अर्कै केटी ल्याएर बसेको गाइँगुइँ हल्ला सुनेकी थिएँ । पछि एक सन्तान पनि जन्मिएछ,’ विगत स्मरण गर्दै उनले सुनाइन्, ‘सासू–ससुराले उनीहरूलाई कोठामा राख्ने, मलाई घरको जिम्मेवारी दिने कुरा गरे पनि मैले मानिनँ । उनीहरूलाई घरमै भित्र्याउने ढिपी लिएँ ।’

 

आफूले ढिपी गरेपछि सासू–ससुराको पनि केही नलागेको उनले सुनाइन् । आफंैले सौता र श्रीमान्लाई धुप बत्ती दिएर भित्र्याएको उनी बताउँछिन् । त्यसपछि जेठी–कान्छी सँगै मिलेर बस्न थाले । ‘कान्छी भित्र्याएको दुई महिनापछि नै घरझगडा सुरु भयो । पैसा मागेर अलग हुने कुरा गर्न थालिन् । २ लाख रुपैयाँ लिएर छुट्टिने निर्णय गरिन्,’ उनले भनिन्, ‘त्यसबेला श्रीमान्को जागिर थिएन । कहाँबाट ल्याउने पैसा ! माइत गएर बासँग २ लाख रुपैयाँ ल्याएर कान्छीलाई दिएँ ।’

 

घरखर्च चलाउन आफ्नो पनि केही काम नभएपछि श्रीमान्लाई नेपाल प्रहरीमा जागिरे बनाएको उनी सुनाउँछिन् । परिवारका अरू बुहारी जागिरे भएकाले उनलाई खासै मतलव गर्दैनथे । जागिर र काम नभएपछि केही गर्ने सोच बनाएको बताउँछिन्, उनी । योजना बनाउन नपाउँदै परिवारले उनलाई भिन्दै राखिदिए ।

 

‘खेती गर्न जग्गा थिएन । लगानी गर्न पैसा’, उनले भनिन्, ‘केही सीप नलागेपछि माइतबाट ५० हजार रुपैयाँ ऋण ल्याएँ र गाईपालन थालेँ । अहिले त्यसैबाट राम्रो आम्दानी भइरहेको छ ।’ 


अहिले घरमा पाल्दै आएका तीन वटा गाईले दैनिक ३२ लिटर दूध दिन्छन् । त्यसैबाट मासिक ४० हजार रुपैयाँ आम्दानी हुने गरेको दुलालले बताइन् । ‘भाडामा केही जग्गा लिएकी छु । मौसमअनुसार तरकारी फलाएर मासिक ५ देखि १० हजार रुपैयाँसम्म आम्दानी हुन्छ । अहिले मासिक ५० हजारसम्म व्यक्तिगत आम्दानी गरिरहेकी छु’, उनले भनिन् ।


दुलालको हरेक दैनिकी बिहान ४ बजेदेखि सुरु हुन्छ । घरको सरसफाइ गरी गाईगोठ पस्छिन् । उनले भनिन्, ‘दूध दोहेर गाईलाई भुसा र पानी खुवाएर मात्रै गोठबाट निस्कन्छु ।’ श्रीमान्को जागिरबाट मासिक २२ हजार रुपैयाँ आए पनि केही रकम मात्रै बाँकी हुने उनी सुनाउँछिन् । ‘आफैंले कमाएको पैसाले एक टुक्रा घडेरी किनेकी छु । अब त्यहाँ घर बनाउने सपना छ’, उनले मुस्कुराउँदै भनिन् । 

 

श्रीमान्को तुलनामा दोब्बर आम्दानी गर्ने भए पनि जीवनशैली फरक भएको उनी बताउँछिन् । भन्छिन्, ‘उहाँ बाइकमा अफिस जानुहुन्छ । आउनुहुन्छ । सफा कपडा लगाउनुहुन्छ । तर, मेरो त्यस्तो छैन । रहर हुन्छ तर बाहिर निस्कने खासै काम पर्दैन ।’ 

 

कहिलेकाहीँ श्रीमान् घर चाँडै आउने र आफू व्यस्त हुने भएकाले काम सघाउन आग्रह गर्दा नमान्ने गरेको उनको गुनासो छ । श्रीमान्ले काममा नसघाएकाले दुवै जनाको तलब हिसाब गर्न लगाएपछि बल्ल सहयोग पाउन थालेको उनको अनुभव छ । ‘दिनको १५ घन्टा खट्छु । गाईपालनसँगै व्यापार पनि गर्छु । विवाहको सिजनमा रत्यौली खेल्न पुग्छु अनि खेलाउँछु,’ उनले भनिन्, ‘गाउँका दिदीबहिनी बटुल्छु । रत्यौली खेलाएको पारिश्रमिक २० हजार रुपैयाँ लिन्छु । सबैलाई बाँडेर दिन्छु । उहाँहरू पनि खुसी, म पनि खुसी ।’

 

महिला भएकै कारण संघर्ष धेरै गर्नुपर्ने उनको अनुभव छ । महिला श्रीमान्बाट पीडित भए पनि आफ्नो नैतिकताले प्रहरीमा उजुरी गर्न नसक्ने र गरे पनि कारबाही नहुने गरेको उनले बताइन् ।