close

त्रियुगाको १६ वटै वडामा बाँडियो च्याउ बिउ

त्रियुगाको १६ वटै वडामा बाँडियो च्याउ बिउ

Trulli
ADVERTISEMENT

उदयपुर–    उदयपुरको त्रियुगा नगरपालिकाले १६ वटै वडाका कृषकलाई च्याउको बिउ वितरण गरेको छ । त्रियुगा नगरपालिका कृषि विकास शाखाले नगरका १६ वटै वडामा ९६ च्याउ खेती कृषक पहिचान गरी बिउ वितरण गरेको हो ।


त्रियुगा नगरपालिकाले चालू आव ०७८/७९ मा च्याउ खेती प्रविधि विस्तार कार्यक्रम लागू गरेपछि च्याउ उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले कृषकलाई प्रविधिसँगै बिउ वितरण गरेको हो ।

 

च्याउ खेती प्रविधि विस्तार कार्यक्रमबाट विनियोजित ३ लाख रुपैयाँबाट कन्य जातको ५३ सय पोका च्याउ बिउ र आवश्यक च्याउ पोका बनाउने प्लास्टिक कृषकलाई वितरण गरिएको कृषि विकास शाखा प्रमुख माधव राउतले जानकारी दिए । च्याउ खेती व्यवसाय सुरु गर्ने नयाँ कृषकलाई ५० पोका र च्याउ खेती व्यवसाय पहिलेदेखि गर्दै आएको पुराना कृषकलाई १५० पोका वितरण गरिएको प्रमुख राउतले बताए ।

 

‘वडा कार्यालयको सिफारिसमा च्याउ खेती व्यवसाय कृषक छनोट गरी पठाएकालाई बिउ वितरण गरिएको छ । च्याउ बिउबाट उत्पादन भए÷नभएको बारे निरन्तर अनुगमन र कृषकलाई प्राविधिक सहयोग गरिनेछ’, प्रमुख राउतले भने । निरन्तर च्याउ खेती व्यवसाय गर्ने कृषकलाई आगामी वर्ष च्याउको सुकुटी बनाउने र अचार बनाउने प्रविधि विस्तार गर्ने योजना रहेको कृषि विकास शाखाले बताएको छ ।

 

गाई/बाख्रालाई रेबिजविरुद्धको खोप

 

उदयपुरको उदयपुरगढी गाउँपालिकाले गाईबाख्रालाई रेबिजविरुद्धको खोप लगाएको छ । उदयपुरगढी गाउँपालिका वडा नम्बर २ का तीन पशुपालक कृषकका गाई, बाख्रा, बाछी र पाडीलाई कुकुरले टोकेपछि रेबिजविरुद्धको खोप लगाइएको हो ।

 

उदयपुरगढी गाउँपालिका वडा नम्बर २ आलेडाँडाका कृषक मदन आलेका गाई र दुहुना बाछीलाई बहुला कुकुरले टोकेको थियो । कुकुरले टोकेपछि गाई र बाछीलाई रेबिजविरुद्धको खोप लगाइएको उदयपुरगढी पशु शाखा प्रमुख शेखर कार्कीले जानकारी दिए ।

 

उनका अनुसार पुजारी टारमा विश्वराज ढुंगानाको पाडी र बाछीलाई कुकुरले टोकेको छ भने माङ्सिटार घट्टामा खम्बबहादुर लायो मगरको बाख्रालाई कुकुरले टोकेपछि रेबिजविरुद्धको खोप लगाएको छ । गाई, पाडा, बाछी तथा बाख्रालाई पाँच डोज खोप लगाउनुपर्ने कार्कीले बताए । खोपको व्यवस्थापन पशु शाखाले गरेको हो । 


विगत वर्षमा कुकुरलाई रेबिजविरुद्धको सप्ताहव्यापी खोप लगाउने कार्यक्रम भए पनि स्थानीयको न्यून सहभागिताले बहुला कुकुरको जगजगी बढेको उनको भनाइ छ ।