close

मकवानपुरमा यो वर्ष उत्पादन भयो ४६ हजार मेट्रिक टन धान

मकवानपुरमा यो वर्ष उत्पादन भयो ४६ हजार मेट्रिक टन धान

Trulli
ADVERTISEMENT

हेटौंडा– मकवानपुरमा यो वर्ष ४६ हजार ६७७ मेट्रिक टन धान उत्पादन भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार गत वर्षको तुलनामा यो वर्ष जिल्लामा उत्पादनमा वृद्धि भएको हो । गत वर्ष ४४ हजार ४० मेट्रिक टन धान उत्पादन भएकामा यो वर्ष ४६ हजार ६७७ मेट्रिक टन उत्पादन भएको केन्द्रका सूचना अधिकारी मीनबहादुर पुनले जानकारी दिए ।


उनका अनुसार यो वर्ष २ हजार २५७ मेट्रिक टन उत्पादन बढेको हो । जिल्लामा यो वर्ष ३ दशमलव ७४ प्रतिहेक्टर उत्पादकत्व भएकामा गत वर्ष ३ दशमलव ७ प्रतिहेक्टर उत्पादकत्व थियो । उनले आधुनिक कृषि प्रणाली, सिँचाइ सुविधा, कृषकमा कृषिसम्बन्धी ज्ञान तथा उन्नत बिउबिजनका कारण जिल्लामा धान उत्पादन बढेको जानकारी दिए । 


जिल्लामा कुल १३ हजार ४२० हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको उनको भनाइ छ । उक्त क्षेत्रफलमा अनुमानित ५० हजार १९० मेट्रिक टन उत्पादन हुनुपर्नेमा बेमौसमी वर्षाले ३ हजार ५१३ मेट्रिक टन धानमा क्षति भएको सूचना अधिकारी पुनले बताए ।

 

जिल्लामा सावित्री, सावा, रामधान, मकवानपुरे, वारलगायतका धान लगाइन्छ । जिल्लाका सबै स्थानीय तहमा धान खेती हुने गरेको छ । सबैभन्दा धेरै मनहरि गाउँपालिकामा धान खेती हुने गरेको छ । त्यहाँ ३ हजार ९२५ हेक्टर क्षेत्रफलमा धान उत्पादन हुने गरेको छ ।


हेटौंडा उपमहानगरमा २ हजार, थाहा नगरपालिकामा २००, बागमतीमा २ हजार ७००, बकैयामा १ हजार ७००, मकवानपुरगढीमा १ हजार ४००, कैलाशमा १ हजार १००, भिमफेदीमा २००, राक्सिराङमा १५० र इन्द्रसरोवर गाउँपालिकामा ४५ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको केन्द्रले जानकारी दिएको छ ।