close

परदेशको लोभलाग्दो कमाइ चटक्कै भुलेर गाईपालन

परदेशको लोभलाग्दो कमाइ चटक्कै भुलेर गाईपालन

Trulli
ADVERTISEMENT

गुल्मी–गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसीथोक लाहाटाका ३५ वर्षीय तुल्सीराम कुँवर सात वर्ष विदेश बसे । उनले काजकिस्तानलगायतका देशमा खाना बनाउने काम गर्थे । विदेशमा आम्दानी पनि राम्रै हुन्थ्यो । तर, चार वर्ष पहिले गाउँ आएका उनको मन फेरियो । यसपछि उनले घर नजिकै जग्गा किनेर व्यावसायिक गाईपालन थाले । 

 

धनञ्जय कृषि तथा पशुपक्षी फार्ममार्फत ४ वर्षअघि ४ वटै गाईबाट व्यवसाय सुरु गरेका उनका गोठमा अहिले १३ गाई छन् । तीमध्ये १० ठूला र ३ वटा साना छन् । त्यसमध्ये पनि ४ दुहुना र ३ ब्याउने गाई छन् । उनले २ जर्सी र ११ होलिस्टिन क्रस गाई पालिरहेका छन् । गाईपालनका लागि उन्नत जातका घाँससमेत उनले लगाएका छन् ।


एउटा गाईले औसतमा दैनिक १५ लिटरभन्दा बढी दूध दिने उनी बताउँछन् । सबै गाईको दैनिक ६० लिटरभन्दा बढी दूध उत्पादन गर्ने उनले दैनिक ३० लिटरजति स्थानीय बजारमा खपत गर्ने र बाँकी ३० लिटर तम्घास पठाउँछन् । स्थानीय बजारमा प्रतिलिटर ७० मा बिक्री हुने दूध तम्घास पठाउँदा प्रतिलिटर ५४ रुपैयाँ पर्छ ।

 

‘मासिक डेढदेखि २ लाखसम्मको कारोबार हुन्छ, यसमा खर्च कटाउँदा पनि ४० हजार रुपैयाँ बचत हुन्छ’, उनले भने, ‘विदेशमा भन्दा कम बचत भए पनि सन्तुष्टि बढी छ ।’ विदेशमा कमाएको रकम स्वदेशमा लगानी गरेका उनले व्यवसायमा सन्तुष्टि मिलेको सुनाए । 


व्यावसायिक गाईपालन गरेबापत गाउँपालिकाले प्रदान गर्ने उत्पादनमा आधारित अनुदान प्रतिलिटर ३ रुपैयाँका दरले प्राप्त गर्छन् । त्यस्तै, ०७५÷७६ मा कृषि, पशुपक्षी तथा मक्ष विकास निर्देशनालयबाट ४ लाख प्राप्त गरे । सोही ठाउँकै ४० वर्षीय कमल पोखरेलले पनि १८ वर्ष रोजगारीकै लागि विदेशमा कटाए । १८ वर्षको हुँदा भारत गएका उनी दुबईसमेत पुगे, कामकै लागि ।

 

त्यहाँ उनले खाना बनाउने र सफा गर्ने काम गर्थे । विदेशमा मासिक ८० हजार कमाउने पोखरेलको ६० हजार रुपैयाँ बचत हुन्थ्यो ।  २ वर्षअघि घर आएका पोखरेलले गाउँमै भविष्य खोजे र गाईपालन व्यवसाय सुरु गरे । करिब ५ लाख रुपैयाँ लागतमा १८ वटा गाई अट्ने संरचना बनाए । 

 

यसपछि वसन्त पशु फार्म खोलेर ६ वटा ठूला गाई किनेर व्यवसाय सुरु गरेका व्यवसायी पोखरेलसँग अहिले ७ वटा ठूला गाई एवं ३ साना बाच्छा छन् । तीमध्ये पनि २ दुहुने र ५ ब्याउने छन् । अहिले दैनिक २० लिटर दूध उत्पादन भएको र सबै ब्याउँदा ८० लिटरसम्म उत्पादन हुने उनको भनाइ छ ।  अहिलेसम्म दैनिक ५५ लिटरसम्म दूध बिक्री गरेको र भविष्यमा दैनिक १०० लिटरसम्म दूध बिक्री गर्ने गरी योजना बनाएको उनले सुनाए । 

 

गाईपालनबाट वार्षिक २४ लाख रुपैयाँ कारोबार हुने उनले बताए । ‘सबै जग्गा आफ्नै भएकाले व्यवसाय गर्न सहज भएको छ’, उनले भने, ‘विदेशको भिसा त्यागेर गाईपालनमा लागेको हुँ । सोचेभन्दा बढी सन्तुष्टि मिलेको छ ।’

 

सडक, नियमित बिजुली र पानीको असुविधा

 

तुलसीराम र कमलले उत्पादन गरेको दूध गाउँपालिकाको केन्द्र बर्बोटमा रहेको देविस्थान उन्नत दुग्ध सहकारी संस्था लिमिटेडमार्फत बिक्री हुन्छ । उक्त संस्थाको व्यवस्थापकको जिम्मा उनले पाएका छन् ।  उक्त केन्द्रमा अन्य व्यक्तिले आफ्नो चाहनाअनुसार दूध बेच्न र किन्न सक्ने उनको भनाइ छ । 

 

गाईलाई दानाका लागि सहज ढुवानी एवं दूध बजारसम्म लैजान मोटरबाटो सहज बनाइदिन तुलसीरामले आग्रह गरे । सडकमा नाली नहुँदा एक पटक पानी आए बिग्रिने र त्यसपछि दूध लैजान तथा दाना ल्याउन अप्ठ्यारो पर्ने उनको गुनासो छ ।  गत जेठ र असारमा सडक बिग्रँदा २५ दिनजति दूध बेच्न नपाएको र त्यसबाट १ लाख २० हजार रुपैयाँ घाटा लागेको उनले बताए । ‘बाटो बिग्रेको जानकारी गराउँदा पालिकाले सकेसम्म छिट्टै समाधान गर्ने प्रयास गर्छ’, उनले भने, ‘नाली नहुँदा थप समस्या छ ।’

 

त्यसका साथै स्थानीय बजारमै दूध खपतको व्यवस्था, नियमित बिजुली, सिँचाइका लागि पानी एवं नगद अनुदानको सट्टा दाना, मल र बिउमा अनुदान दिएमा दूध उत्पादनमा वृद्धि गर्न सकिने कुँवरको भनाइ छ । 


व्यवसायी पोखरेल पालिकाबाट नियमित अनुगमन भए आफूजस्ता कृषकलाई हौसला मिल्ने बताउँछन् । ‘फार्म वरिपरि जाली आवश्यक छ । पालिकामा निवेदन दिएको छु’, उनले भने, ‘पालिकाका जनप्रतिनिधि र कर्मचारी फार्ममा आई सल्लाह सुझाव दिए पनि हौसला मिल्ने थियो ।’  धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले विदेशको आम्दानी स्वदेशमै लगानी गरेकामा आफू खुसी भएको बताए ।