close

धान उत्पादनको एकीकृत तथ्यांक बटुलिँदै

धान उत्पादनको एकीकृत तथ्यांक बटुलिँदै

Trulli
ADVERTISEMENT

काठमाडौं–कृषि तथा पशुपक्षी विकास मन्त्रालयले धान उत्पादनको एकीकृत तथ्यांक सार्वजनिक गर्ने भएको छ । किसानले धान काटेर घर भित्र्याइसकेपछि आर्थिक वर्ष ०७८÷७९ मा कति धान उत्पादन भयो, त्यसको तथ्यांक रुजु गर्ने तयारीमा मन्त्रालय जुटेको हो ।

 

कृषि मन्त्रालय तथ्यांक महाशाखाका प्रमुख रामकृष्ण रेग्मीले ७ वटै प्रदेशबाट धानको तथ्यांक प्राप्त भइसकेको बताए । त्यसलाई एकीकृत गर्ने काम भइरहेको उनको भनाइ छ । उनले भने, ‘सबै तथ्यांकलाई एकीकृत गरिसकेपछि १÷२ दिनमै धान उत्पादनको तथ्यांक सार्वजनिक गर्नेछौँ ।’


यसपालि कति धान उत्पादन भयो, सोही अनुमानको भरमा केही भन्न नमिल्ने बताउँदै उनले बेमौसमी वर्षाले धानमा भएको क्षतिका कारण उत्पादनमा केही ै केही कमी आउने हो कि भनी अनुमान मात्र रहेको उनले जानकारी दिए । तर, जबसम्म सम्पूर्ण तथ्यांकलाई केलाइँदैनन्, तबसम्म केही भन्न नसकिने उनले बताए ।

 

कृषि मन्त्रालयको प्रारम्भिक विवरणअनुसार बेमौसमी वर्षाका कारण ४ लाख मेट्रिक टनभन्दा बढी धानमा क्षति पुगेको छ । यसले धान उत्पादनमा केही असर पार्न सक्ने कृषि मन्त्रालयको अनुमान छ । कृषि मन्त्रालयका प्रवक्ता डा. प्रकाश सञ्जेलले मन्त्रालयमा तथ्यांक केलाउने काम भइरहेकाले कति उत्पादन भयो भनी त्यत्तिकै भन्न नमिल्ने बताए । यद्यपि, बाहिर अनुमान गरेजस्तो बाढीकै कारण धान उत्पादनमा कमी नहुने उनको दाबी छ ।

 

केही ठाउँमा धानमा ठूलो क्षति गरे पनि बाँकी ठाउँमा धान राम्रो उत्पादन भएको देखिएको छ । रोपाइँको समय रासायनिक मलको अभाव नहुनु, समयमा सिँचाइ हुनु, बिउ उपलब्ध हुनुलगायतका कारण यस पटक उत्पादनमा त्यति फरक नहुने अनुमान गरिएको उनले बताए ।

 

गत वर्ष ५६ लाख ३१ हजार मेट्रिक टन धान उत्पादन भएको थियो भने ०७६/७७ मा ५५ लाख ५० हजार ८७८ मेट्रिक टन उत्पादन भएको थियो । त्यस्तै, ०७५/७६ मा ५६ लाख १० हजार ११ मेट्रिक टन उत्पादन भएको थियो । ०७६/७७ मा पनि बाढीले क्षति पु¥याएका कारण उत्पादनमा केही कमी आएको थियो । ०७४/७५ मा ५१ लाख ५१ हजार ९२५ मेट्रिक टन र ०७३/७४ मा ५२ लाख ३० हजार ३२७ मेट्रिक टन उत्पादन भएको थियो ।