close

बाजुराको गौमूलमा कृषि खाद्य मेला 

बाजुराको गौमूलमा कृषि खाद्य मेला 

Trulli
ADVERTISEMENT

बाजुरा– बाजुराको गौमूल गाउँपालिकामा बृहत् कृषि तथा खाद्य मेला सुरु भएको छ । मेला उद्घाटन गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले उद्घाटन गरे । कार्यक्रममा अध्यक्ष रोकायाले प्रत्येक वर्ष पालिकाले विभिन्न अनुदान, तालिम तथा कृषि सामग्री र बिउबिजन वितरण गर्दै आए पनि कृषिमा आत्मनिर्भर बन्न नसकिएको बताए ।

 


पालिका दुई रणनीतिमा अघि बढेको जानकारी दिँदै उनले सबै परिवारले अनिवार्य हरियो तरकारी उपभोग गर्ने र खेतबारीको माटो परीक्षण गरी खेतबारीबाट उत्पादित वस्तु बिक्री वितरणमा सहजीकरण गर्दै आएको बताए । गाउँपालिकाले गरेको लगानीको प्रतिफल दिने गरी कृषि उद्यम अगाडि बढाउन उनले पालिकाबासीलाई आग्रह गरे ।

 


वर्षको एकचोटि सबै कृषकका उत्पादनको अनुपातलाई मूल्यांकन गरिँदै आए पनि पालिकाले गरेको लगानीअनुसार प्रतिफल प्राप्त नभएको उनको भनाइ छ । गौमूलमा झन्डै ९६ प्रतिशत नागरिक कृषिमा आश्रित रहेकाले सोहीअनुसार यस क्षेत्रमा लगानी बढाइँदै आएको उनले दाबी गरे ।

 


कृषकलाई बिउबिजन दिएर उत्पादित वस्तु बजारसम्म पु¥याउने जिम्मेवारी स्थानीय सरकारको भएकाले सोहीअनुसार उत्पादन बढ्नुपर्नेमा उनले जोड दिए । कार्यक्रममा पालिकाका उपाध्यक्ष सीता थापाले भूगोल र माटोसुहाउँदो उत्पादन गर्न पालिकाबासीले थप मिहिनेत गर्नुपर्ने बताइन् ।

 

पालिकालाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउन विभिन्न वडामा कृषि पकेट क्षेत्र घोषणा गरिएको उनले जानकारी दिइन् । गौमूलमा अगाडि सारेको एक घर एक करेसाबारी, हरेक दिन हरियो तरकारीलाई आत्मसात् गर्न उनले नागरिकलाई आग्रह गरिन् ।

 

 

कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख हरिप्रसाद पनेरुले बृहत् कृषि तथा खाद्य मेला प्रदर्शनीले कृषकलाई बजारीकरणमा थप हौसला दिने विश्वास व्यक्त गरे । गौमूल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदीशप्रसाद भट्ट, वडाध्यक्षहरू वीरेन्द्रबहादुर रोकाया, प्रकाश रोकाया, बलबहादुर रोकाया, सदस्य कलकबहादुर सिंह, पूर्वमानाकोट गाविस अध्यक्ष ज्ञानबहादुर रोकायालगायतले कृषि उत्पादनका लागि पालिका र कृषकबीच हातेमालो हुनुपर्ने आवश्यकता औँल्याए ।

 


उत्कृष्ट कृषक सम्मानित
गौमूल गाउँपालिकामा आयोजना गरिएको बृहत् कृषि तथा खाद्य मेला प्रदर्शनी अवसरमा एक उत्कृष्ट कृषकलाई सम्मानित गरिएको छ । वर्षभरिमा कृषि कर्ममा लागेर उत्कृष्ट बनेका वडा नम्बर ४ खडी खेतका रामबहादुर रोकायालाई १० हजार रुपैयाँसहित पालिका अध्यक्ष हरिबहादुर रोकायाले सम्मान गरे ।

 

 

देउडा प्रतियोगिता

गौमूल गाउँपालिकामा गरिएको बृहत् कृषि तथा खाद्य मेला प्रदर्शनी अवसरमा देउडा प्रतियोगिता आयोजना गरिएको छ ।  गाउँपालिकाको केन्द्र घटमुनामा सोमबार पालिकाका ६ वटै वडाका महिला दिदीबहिनीले देउडा प्रतियोगितामा भाग लिएका थिए । कीर्तिचौर मावि कालादहका विद्यार्थीले विभिन्न नृत्य प्रस्तुत गरेका थिए ।

 

 

मेलामा तरकारी, फलफूल, मसला, खाद्यान्न बाली, दलहन, नगदे बाली, नमुना घर बगैँचालगायत स्टलले सहभागिता जनाएका थिए । कृषि विकास शाखाका नायव प्राविधिक सहायक रमेश विकले सञ्चालन गरेको कार्यक्रममा करिब ३ सय बढी स्थानीयको सहभागिता थियो ।