close

चितवनमा हुँदै पाँचौँ राष्ट्रिय कृषि यन्त्रीकरण प्रदर्शनी 

चितवनमा हुँदै पाँचौँ राष्ट्रिय कृषि यन्त्रीकरण प्रदर्शनी 

Trulli
ADVERTISEMENT

काठमाडौं– नेपाल कृषि मेसिनरी व्यवसायी संघको आयोजनामा पाँचौं राष्ट्रिय कृषि यन्त्रीकरण प्रदर्शनी २०७८ चितवनमा हुने भएको छ । प्रदर्शनी आउँदो ५ देखि ८ माघसम्म चितवनमा हुने भएको हो ।  संघले काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रदर्शनीबारे जानकारी गराएको हो । ‘कृषि यन्त्रीकरणमा वृद्धि, व्यावसायिक कृषि विकास र समृद्धि’ नारासहित प्रदर्शनी आयोजना गरिन लागेको हो ।


प्रदर्शनी चितवन एक्स्पो सेन्टर भरतपुरमा सञ्चालन गरिनेछ ।  प्रदर्शनीको आयोजकमा संघसहित कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि विभाग, कृषि पूर्वाधार विकास तथा कृषि यन्त्रीकरण प्रवद्र्धन केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रहनेछन् । 

 


प्रदर्शनीको मुख्य प्रायोजकमा सलोम एग्रिकल्चर प्रालि एवं प्रायोजकमा कृषि कम्पनी र मुक्तिनाथ विकास बैंक रहेका छन् ।  संघका अनुसार सह–प्रायोजकमा एनटीएस इन्डस्ट्रिज, जीसेभेन एग्रिकल्चर, एसकेटी नेपाल, नेपाल–चीन एग्रिकल्चर सेन्टरलगायतका संस्था रहेका छन् ।

 


सहयोगी संस्थामा कृषि उद्यम केन्द्र, नेपाल कृषि अनुसन्धान परिषद्, चितवन उद्योग संघ, कृषि सहकारी केन्द्रीय संघ र आर एन्ड डी इनोभेटिभ सोलुसन रहेका छन् । प्रदर्शनीमा १५० बढी प्रदर्शनीकर्ताका २ हजार बढी कृषियन्त्र, औजार, उपकरण तथा प्रविधि रहनेछन् । २० बढी मुलुकको प्रदर्शनीमा सहभागिता रहनेछ । 

 

प्रदर्शनीमा मेड इन नेपाल प्याभिलियन, कृषि यन्त्रीकरण प्रवद्र्धनसम्बन्धी गोष्ठी तथा सेमिनार, कृषि कर्जाको छुट्टै मेला हुनेछ । करिब ७० जिल्लाका १ लाख बढी अवलोकनकर्ता आउने अपेक्षा गरिएको प्रदर्शनीमा २० करोड बढीको कारोबार हुने अपेक्षा राखिएको संघका अध्यक्ष खोजराज कटुवालले बताए ।

 


प्रदर्शनीले एकै थलोमा कृषिसम्बन्धी आधुनिक प्रविधि, विभिन्न कृषि औजार, उपकरण, यन्त्र तथा सेवाबारे जानकारी गराउने, नीति निर्माता, पेसागत समूह, अनुसन्धानकर्ता, कृषकलगायत सरोकारवालालाई कृषि यन्त्र तथा प्रविधिसम्बन्धी जानकारी गराउनेछ । संघले यसअघि पनि २०७० मा चितवनमै पहिलो राष्ट्रिय कृषि यन्त्रीकरण प्रदर्शनी आयोजना गरेको थियो ।