close

धान उत्पादनमा ९ प्रतिशतले कमी

धान उत्पादनमा ९ प्रतिशतले कमी

Trulli
ADVERTISEMENT

काठमाडौं– कृषि तथा पशुपक्षी विकास मन्त्रालयले गत आर्थिक वर्षको तुलनामा आव ०७८\७९ मा धान उत्पादन झन्डै ९ प्रतिशतले घटेको विवरण सार्वजनिक गरेको छ । चालू आर्थिक वर्षमा ४ लाख ९० हजार ३९६ मेट्रिक टन धान कम उत्पादन भएको हो । यो अघिल्लो वर्षको तुलनामा ८.७४ प्रतिशत कम हो ।

 

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता डा. प्रकाश सञ्जेलका अनुसार यो आव ०७८/७९ मा ५१ लाख ३० हजार ६०४ मेट्रिक टन धान उत्पादन भएको छ । धान उत्पादन आव ०७७/७८ मा ५६ लाख २१ हजार, ०७६/७७ मा ५५ लाख ५० हजार ८७८, ०७५/७६ मा ५६ लाख १० हजार ११, ०७४÷७५ मा ५१ लाख ५१ हजार ९२५ र ०७३/७४ मा ५२ लाख ३० हजार ३२७ मेट्रिक टन थियो ।

 

पाँच वर्षकै अवधिमा यस पटक सबभन्दा कम धान उत्पादन भएको हो । गत आर्थिक वर्षको तुलनामा धानबाली लगाइएको क्षेत्रफलमा करिब ४ हजार हेक्टरको सामान्य वृद्धि आएको छ भने उत्पादकत्वमा ८.६१ प्रतिशतले ह्रास आई ३.४७ मेट्रिक टन प्रतिहेक्टर कायम भएको अनुमान गरिएको मन्त्रालयले जनाएको छ ।

 

धान उत्पादनमा कमी हुनुको कारणमा कृषि मन्त्रालयले बेमौसमी वर्षालाई लिएको छ । असोज अन्तिम साता भएको वर्षाका कारण धानमा ठूलो क्षति पु¥याएको थियो । 

 

वर्षाले सुदूरपश्चिम र लुम्बनी प्रदेशको कैलाली, कञ्चनपुर, बर्दिया, बाँके तथा कपिलवस्तुमा धान थन्क्याउने बेलामा पारेको क्षतिले समग्र राष्ट्रिय उत्पादनमा कमी आएको मन्त्रालयले जनाएको छ । कृषि मन्त्रालयको प्रारम्भिक विवरणअनुसार चार लाख मेट्रिक टनभन्दा बढी धानमा क्षति पुगेको छ ।

 

गत आर्थिक वर्षको तुलनामा सबभन्दा कम सुदूरपश्चिममा ३१.४९ प्रतिशतले उत्पादनमा कमी आएको छ भने लुम्बनी प्रदेशमा १८.३८ प्रतिशत, प्रदेश १ मा ०.९३ प्रतिशत, प्रदेश २ मा ५.२४ प्रतिशत, बागमती प्रदेशमा ०.३५ प्रतिशत, कर्णालीमा ८.७६ प्रतिशतले उत्पादनमा कमी आएको छ । गण्डकी प्रदेशमा मात्र २.३३ प्रतिशतले धान उत्पादनमा वृद्धि भएको हो ।

 

मन्त्रालयका अनुसार ६० देखि ६५ लाख मेट्रिक टन धान उत्पादन भयो भने नेपाल धानमा आत्मनिर्भर हुन्छ । यस पटक कम्तीमा ६० लाख मेट्रिक टन धान उत्पादन हुने लक्ष्य कृषि मन्त्रालयले लिएको थियो ।