close

गल्छीका किसानलाई अनुदानमा हाते ट्रयाक्टर

गल्छीका किसानलाई अनुदानमा हाते ट्रयाक्टर

Trulli
ADVERTISEMENT

धादिङ– धादिङको गल्छी गाउँपालिकाले किसानलाई खेत जोत्न आधुनिक प्रविधिको हाते ट्रयाक्टर (मिनी पावर टिलर) वितरण गरेको छ । चालू आर्थिक वर्षको बजेटबाट ५० प्रतिशत अनुदानमा पावर टिलर वितरण गरिएको गाउँपालिकाले बताएको छ ।

 

कृषिमा यन्त्रिकीकरण गरी उत्पादन बढाउने र लागत घटाउने उद्देश्यले गाउँपालिकाले किसानलाई हाते ट्रयाक्टर वितरण गरेको हो । गाउँपालिकाको कृषि शाखाले १७५ किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्रयाक्टर वितरण गरिएको बताएको छ ।

 

गाउँपालिकाले ठेक्कामार्फत खरिद गरेर ल्याएको डिजेल इन्जिनको मिनिटिलर ९५ थान, पेट्रोल इन्जिनको ७९ थान र पावर टिलर १ थान गरी १७५ थान किसानलाई उपलब्ध गराएको गाउँपालिका कृषि शाखाका टीकाराम खतिवडाले जानकारी दिए । किसानलाई खेती गर्न सहज होस् भनेर अनुदानमा हाते ट्रयाक्टर दिइएको गाउँपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठले बताए । 

 

 

कृषिलाई आधुनिकीकरण गर्दै कृषि पकेट क्षेत्रको विकासका लागि किसानका मागका आधारमा कृषि औजार वितरण गरिएको अध्यक्ष श्रेष्ठको भनाइ छ । ७७ लाख १३ हजार रुपैयाँ बजेटबाट किसानको मागका आधारमा वडामा कृषि उपकरण वितरण भइरहेको गाउँपालिका कृषि शाखाले बताएको छ । 

 

कृषि उत्पादन बढाउन र लागत घटाउन गतवर्षदेखि नै किसानलाई कृषि सामग्री वितरण थालिएको र यसबाट किसानले फाइदा उठाउने गाउँपालिका उपाध्यक्ष राधा तिमल्सिनाले बताइन् ।