close

चन्द्रपुर नगरपालिका फोहोरले दुर्गन्धित बन्दै 

चन्द्रपुर नगरपालिका फोहोरले दुर्गन्धित बन्दै 

Trulli
ADVERTISEMENT

रौतहट– रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ स्थित मुख्य चोक दुर्गन्धित बन्दै गएको छ । स्थानीयले पटक–पटक फोहोर फाल्नेलाई कारबाही गर्न माग गर्दै आए पनि नगरपालिकाको बेवास्ताले चन्द्रपुरको मुख्य चोक दुर्गन्धित बन्दै गएको हो ।

 


होटल व्यवसायीले होटलबाट निस्कने फोहोर जथाभावी फाल्ने गरेका कारण मुख्य चोकको सडक हिलाम्य बनेको छ । फोहोर तथा हिलोका कारण यात्रु तथा स्थानीयलाई हिँडडुल गर्नसमेत समस्या भएको छ । राजमार्गमा गुड्ने सवारीको जक्सन पनि भएकाले चोकमा दैनिक सयौँको संख्यामा सवारीसाधन रोकिने गर्छन् । डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरले गत वैशाखमा मुख्य चोकको दुई लेनको सडकलाई चार लेनको बनाएको थियो ।

 

 

सडक फराकिलो भएसँगै सवारी आवागमन सहज हुने विश्वास गरिए पनि चार लेनको सडकको दुई लेन अहिले बसपार्कमा परिणत भएको छ । होटल व्यवसायीले नालामा छाडेको पानी सडकमा बग्न थालेपछि पार्किङ क्षेत्र फोहोर पानीले भरिएको छ । होटल व्यवसायीलाई पटक–पटक फोहोर पानी नफाल्न भने पनि अटेर गरेको वडा नम्बर ४ का वडाध्यक्ष अमर आलेले बताए ।

 

नगर उपप्रमुख रामरति चौधरीले नगरभित्रको सडक र फुटपाथको व्यवस्थापन गर्ने जिम्मेवारी नगरपालिकाको भएको बताइन् । फोहोरकै कारण दुर्घटना जोखिम बढेकाले ढल निकास र व्यवस्थित पार्किङ संरचना बनाउन लागिएको उनको भनाइ छ । दुई वर्षअघि डिभिजन सडकले चोकको उत्तरतर्फ सानो नाला बनाएको थियो ।

 

 

सोही नालामा होटल व्यवसायीले फोहोर फाल्ने गर्छन् । बेलाबेला नाला सफा गर्नुपर्नेमा गरिएको पाइँदैन । होटल सञ्चालकको बदमासीले चोकमा हिँड्नै नसक्ने अवस्था आएको चन्द्रपुर वडा नम्बर ४ का स्थानीय केदार तिमल्सिनाले बताए ।