close

सुन्तला गाउँ बन्दै उदयपुरको रौता निगाले

सुन्तला गाउँ बन्दै उदयपुरको रौता निगाले

Trulli
ADVERTISEMENT

उदयपुर–उदयपुरको रौतामाई गाउँपालिका वडा नम्बर ४ र ६ निगाले गाउँका किसान व्यावसायिक सुन्तला खेतीमा आकर्षित भएका छन् । गाउँमै यातायात सुविधा पुगेसँगै सुन्तलाबाट राम्रो आम्दानी हुन थालेपछि स्थानीय सुन्तला खेतीमा लागेका हुन् । पहिला बाजे पुर्खाले खान, बाँड्न र सामान्य बेच्न लगाएको २–४ बोट सुन्तला अहिले जीविकोपार्जनमा परिणत भएको किसान जीवन राईले बताए । राईका अनुसार गाउँमा पुरानो बोटबाट आम्दानी लिँदै र अन्य बिरुवा लगाउने क्रम बढ्दो छ । 

 

 

एकै घरमा ५ सय बढी सुन्तलाका बिरुवा लगाएर व्यवस्थित तरिकाले खेती हुन थालेको छ । परम्परागत रूपमा मकै, कोदो लगाइँदै आएको खेतीयोग्य जमिनमा अहिले सुन्तला खेती हुन थालेको स्थानीय बताउँछन् । गाउँमा यातायात पुगेसँगै बजारमा एकै पटकमा धेरै सुन्तला बजार पु¥याउन सकिने भएकाले किसानले सुन्तलाको राम्रो आम्दानी पाएका छन् । एकमुष्ट पैसा हात पर्ने र घरको समस्या टार्न सकिने भएपछि गाउँमा सुन्तला खेतीप्रति आकर्षण बढेको हो ।

 

आधिकारिक रूपमा मूल्यांकन नभए पनि निगालेमा उत्पादित सुन्तला अहिले गाईघाटमा १ करोड रुपैयाँ बढी भित्रिने अनुमान गरिएको सुन्तला किसान रामकुमार राईले बताए । व्यावसायिक रूपमा सुन्तला खेती थालेपछि निगालेका एकै घरले वार्षिक ५ देखि ६ लाख रुपैयाँसम्म सुन्तला बिक्री गर्दै आएका छन् । वार्षिक ५ देखि ६ लाख रुपैयाँसम्म सुन्तलाबाट आम्दानी लिँदै आएको राईले बताए । पहिले यातायात असुविधाका कारण सुन्तला धेरै उत्पादन भए पनि आम्दानी कम हुने गरेको थियो ।

 

यातायातको पहुँचले उत्पादनमा वृद्धि हुनुका साथै राम्रो मूल्य पाउने गरेको किसान राई सुनाउँछन् ।  परम्परागत रूपमा गरिँदै आएको खेतीपातीले गुजारा नचलेपछि बाहिर कमाउन जाने गरेको बताउने राई अहिले सुन्तलाबाट घरमै बसेर पारिवारिक गुजारा टार्न सफल भएको दाबी गर्छन् ।

 

कम मिहिनेतमा अन्य बालीभन्दा सुन्तलाले दोब्बर फाइदा दिने गरेको राईको अनुभव छ । गाउँमा सुन्तला नै नभएको कुनै घर छैन । सुन्तला बोट नभएका केही घरमा पनि अहिले बिरुवा लगाउने क्रम बढेको छ भने हुनेहरूले बिरुवा थपेर बारीका कान्ला भरिभराउ गर्न थालेको किसान सविन राईले बताए ।

 

एक पटक लागाएको सुन्तलाले जीवनभरि आम्दानी दिने तर वर्षैपिच्छे लगाएको बालीले खानै नपुग्ने किसानको गुनासो छ । घरैपिच्छे सुन्तला रोप्ने अभियानले गाउँमा बिरुवासमेत पाउन समस्या परेको उनको भनाइ छ । निगालेको हरेक घरमा सुन्तलाको बगैँचा छ । आर्थिक आम्दानीका लागि वैदेशिक रोजगार, जागिर अथवा मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका स्थानीयको अहिले जीविकोपार्जनको पहिलो माध्यम सुन्तला खेती बनेको छ । उनीहरूले अन्य पेसा गर्दै आए पनि सुन्तलामा लगानी बढी गरेका छन् ।

 

वर्षभरि लगाएको बालीनालीले ३ महिना खान नपुग्ने ठाउँमा थोरै मिहिनेतमा फलाएको सुन्तलाले आम्दानी दिन थालेपछि उत्पादन घरखर्च कटाएर पनि बचत गर्न सकिएको कृषक गणेश राई बताउँछन् । ‘वर्षभरिको खेतीपातीले ३ महिना पनि खान पुग्दैन । तर, एउटा सुन्तलाको बोटबाट १० हजार रुपैयाँसम्म आम्दानी लिन सकिन्छ’, उनले भने ।

 

उनले लगाएका ५ सयमध्ये करिब २ सय बोटले आम्दानी दिन थालिसकेका छन् । यस पटक मात्रै २ लाख ५० हजार रुपैयाँ बराबरको सुन्तला बिक्री गरेको उनले बताए । उदयपुरको सुन्तला जोन क्षेत्रभित्र पर्ने सो ठाउँमा सुन्तला खेतीका कारण विदेशबाट फर्किनेको पनि आकर्षणमा परिरहेको छ । उनीहरू पुन विदेश फर्किनुपरेको छैन ।

 

३ वर्ष विदेश बसेर आएका किसान हाकिमबहादुर राईले अहिले सुन्तलामै भविष्य देखेको बताउँछन् । कुनै समय सुन्तलामा लाग्ने किरा, ऐँजेरु, फल झर्ने समस्या, फूल झर्ने समस्या र विभिन्न रोगका कारण बिरुवा काट्नुपर्ने समस्याले भने चिन्तित बनाएको राई सुनाउँछन् । सुन्तला खेती लगाए पनि कृषि प्राविधिकको अभावमा किसानले बेलाबेला समस्या झेल्नुपरेको गुनासो गरे । स्थानीय तह र कृषि ज्ञान केन्द्र तथा सुन्तला जोन कार्यालयले समेत वास्ता नगरेको उनीहरू बताउँछन् ।