close

टीकापुरले बढायो दूधको मूल्य

टीकापुरले बढायो दूधको मूल्य

Trulli
ADVERTISEMENT

कैलाली– कैलालीको टीकापुर नगरपालिकाले दुग्धजन्य पदार्थको मूल्य निर्धारण गरेको छ । टीकापुर नगरपालिकाको उपभोक्ता हित संरक्षण समितिले दूधको मूल्य निर्धारण गर्न गठन गरेको समितिले शुक्रबार मूल्य बढाउने निर्णय गरेको हो ।

 

अब टीकापुर बजारमा उपभोक्ताले दूधका लागि प्रतिलिटर ७० रुपैयाँ तिर्नुपर्नेछ भने किसानले फागुनदेखि साउनसम्म प्रतिलिटर ५९ रुपैयाँ र भदौदेखि माघसम्म प्रतिलिटर ५८ रुपैयाँ पाउनेछन् । डेरी सञ्चालकले खुद्रा मूल्यमा ११ देखि १२ रुपैयाँ फाइदा पाउनेछन् । यसअघि किसानले प्रतिलिटर ५४ रुपैयाँमा बेच्थे । डेरीले ११ रुपैयाँ नाफा लिएर उपभोक्तालाई ६५ रुपैयाँमा बेचिरहेका थिए ।

 


डेरी व्यवसायीले यसअघि एकपक्षीय रूपमा दूधको खरिद मूल्य ६० र बिक्री मूल्य ७५ रुपैयाँ तोकेपछि उपभोक्ता र किसानले नगरपालिका गुहारेका थिए । किसानको उत्पादन लागत र कच्चा दूध खरिद बिक्रीमा डेरी व्यवसायीले पाउने मुनाफालाई हेरी मूल्य निर्धारण गरिएको र उपभोक्ताले पनि दुग्ध विकास संस्थानको भन्दा सस्तोमा दूध पाउने पशु सेवा शाखाका प्रमुख श्यामराज पाण्डेले बताए ।

 


टीकापुरमा दूधको गुणस्तर पनि तोकिएको छ । दूधको गुणस्तर ४ प्रतिशत फ्याट, ८ प्रतिशत एसएनएफ हुनुपर्ने र यो मापदण्ड पूरा भए गाई र भैंसीको दूध किनबेच गर्दा मूल्यमा विभेद नगरिने पाण्डेको भनाइ छ । बढेको मूल्यअनुसार १ फागुनदेखि दहीको अधिकतम खुद्रा मूल्य प्रतिलिटर १००, महीको ५०, घिउ प्रतिकिलो १ हजार, खुवा प्रतिकिलो ७०० र छुर्पी प्रतिकेजी १ हजार रुपैयाँ भएको छ ।

 


तोकिएको मूल्यले किसानको लागत नउठे पनि उपभोक्तालाई ध्यानमा राखेर समितिले निर्धारण गरेको मूल्यमा चित्त बुझाउनुपरेको पशुपालक किसानका प्रतिनिधि ललित थापाले बताए । डेरी व्यवसायीका प्रतिनिधि रवीन्द्र खड्काले नगरपालिकाको मूल्यवृद्धिले किसानलाई मात्रै फाइदा भएको तर व्यवसायीलाई फाइदा नभएको प्रतिक्रिया दिए ।

 

टीकापुर नगरपालिकाको उपभोक्ता हित संरक्षण समितिको २६ माघको बैठकले पशु सेवा शाखाका प्रमुखको संयोजकत्वमा प्रशासन, प्रहरी, डेरी व्यवसायी, पशुपालक किसान, दूध संकलक र उपभोक्ता प्रतिनिधि रहेको समिति गठन गरेको थियो । टीकापुरमा स्थानीय बजार व्यवस्थापन र अनुगमन ऐन, २०७६ बनेपछि नगरपालिकाले बेलाबेला वस्तुको मूल्य निर्धारण गर्ने गरेको छ ।