close

गोदावरीका खेतबारीमा छाडा गाईगोरुको राज

गोदावरीका खेतबारीमा छाडा गाईगोरुको राज

Trulli
ADVERTISEMENT

फागुन–कैलालीको गोदावरी नगरपालिकाले वार्षिक लाखौँ रकम खर्चेर हेरालु राखे पनि छाडा गाईगोरुले खेतमै किसानका बाली खाने गरेका छन् । किसानका खेतबारी बचाउन नगरपालिकाले १० जना हेरालु राखेको छ । तर, छाडा गाईगोरुले बाली खाने समस्या हट्न सकेको छैन । वडा नम्बर १ देखि ५ सम्म प्रतिवडा २ जनाका दरले नगरपालिकाले छाडा गाईगोरु हेरालु राखेको छ । हेरालुले छाडा गाईगोरु नियन्त्रण गर्न नसक्दा किसानले ठूलो क्षति बेहोर्नुपरेको छ । 

 


वडा नम्बर ४ का किसान दीपक चौधरी छाडा गाईगोरुले एकै दिन ७ बिघा क्षेत्रफलमा लगाएको गहुँ खाएको बताउँछन् । ‘गाईगोरुले खाएको बाली कामै नलाग्ने भएको छ,’ उनले भने, ‘बस्तीमा दैनिक १० देखि १५ छाडा गाईगोरु आउने गरेका छन् ।’ उक्त वडामा नगरपालिकाले २ जना छाडा गाईगोरु हेरालु राखे पनि स्थानीय हेरालु नदेखिने तर छाडा गाईगोरु भने गाउँमा दैनिक आइरहने गुनासो गर्छन् । 

 


वडाध्यक्ष प्रेमबहादुर भण्डारीले नगरपालिकाबाट बूढीतोलामा हेरालु खटाइएको बताए । बूढीतोलामा खटाइएका हेरालुले त्यहाँ कान्जी हाउसमा राखिएका छाडा गाईगोरु हेर्ने गरेको उनको भनाइ छ । ‘तल्लो भेगका छाडा गाईगोरु लगेर बूढीतोलाको फोक्सेडाँडामा राखेका छौँ । त्यही हेरालु खटिएका छन्,’ उनले भने, ‘तराई क्षेत्रका छाडा गाईगोरु ३ नम्बर वडामा रहेको गौशालामा पठाउँछौँ ।’ 


वडा नम्बर ४ को बूढीतोलामा कति छाडा गाईगोरु राखिएका छन् भन्नेबारे आफूलाई जानकारी नभएको वडाध्यक्ष भण्डारीले बताए ।वडामा परिचालन गरिएका हेरालुलाई बजार तथा गाउँमा छाडिएका छाडा गाईगोरुलाई साँझ कान्जी हाउस तथा कुनै निश्चित ठाउँमा राख्ने जिम्मेवारी दिइएको नगरपालिकाको दाबी छ । तर, हेरालुले सबै छाडा गाईगोरु नियन्त्रण गर्न नसक्दा किसानले लगाएको बाली खाइदिने गरेका छन् ।

 


नगरले मासिक ८ हजार रुपैयाँ तलब दिने गरी १० जना हेरालु राखेको नगरपालिकाका लेखा शाखा अधिकृत रामचन्द्र जोशीले बताए ।  नगरपालिकाले हेरालुको तलबमा मात्रै वार्षिक ९ लाख ६० हजार खर्च गर्दै आएको छ । लेखा शाखा अधिकृत जोशीले ३ वर्षदेखि नै नगरभित्र हेरालु राख्दै आएको जानकारी दिए । नगरपालिकाले छाडा गाईगोरु नियन्त्रणका लागि हेरालु राखे पनि दीर्घकालीन समाधानमा खासै पहल गर्न सकेको छैन ।