close

नेपालबाट कृषि प्रशिक्षार्थी लैजाने इजरायलको प्रतिबद्धता

नेपालबाट कृषि प्रशिक्षार्थी लैजाने इजरायलको प्रतिबद्धता

Trulli
ADVERTISEMENT

काठमाडौं–नेपालका साना किसान कृषि सहकारी संस्थाका सदस्यका छोराछोरीलाई प्रशिक्षार्थी कृषि अध्ययनका लागि इजरायल पठाउन नेपालस्थित इजरायली दूतावासले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । साना किसान लघुवित्त वित्तीय संस्था एंव नेपाल कृषि सहकारी केन्द्रीय संघ अध्यक्ष खेमबहादुर पाठक, साना किसान विकास लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. शिवरामप्रसाद कोइराला, डिसिइयो डा. नवराज सिंखडा र डिसिईओ झलेन्द्र भट्टराईसँगको भेटमा इजरायली राजदूत हानान गोडरले कोभिड–१९ का कारण केही समयदेखि रोकिएको कृषि प्रशिक्षार्थी पठाउन प्रतिबद्ध रहेको बताए ।

 

उनले साना किसान सदस्यको जीवन रुपान्तरणका लागि कृषि र पशुपालनमा आधारित प्रशिक्षार्थी नेपालबाट पठाउने कार्यले नेपालको आर्थिक, सामाजिक रुपान्तरणमा सहयोग पुग्ने उनको विश्वास छ । नेपालका ७५ बढी जिल्लामा साना किसान सञ्जाल रहेको छ भने साना किसान अभियानसँग जोडिएर गाउँ तहका साना किसान सदस्यलाई कृषि उत्पादनका लागि प्रविधिको सहयोग गरिने उनको भनाइ छ ।

 

नेपालबाट प्रशिक्षार्थीका रूपमा इजरायल गएर १० महिना कृषिको अभ्यास र अध्ययन गरेर फर्केका धेरै युवा अहिले व्यवसायी बनिरहेका उनले बताए । ‘यी युवाले नेपालमै सम्भावनाको ढोका खोलिरहेका छन्,’ उनले भने । भेटमा साना किसान लघुवित्त वित्तीय संस्था एंव नेपाल कृषि सहकारी केन्द्रीय संघ अध्यक्ष खेमबहादुर पाठकले कृषि तथा पशुजन्य उत्पादनमा युवा किसानले खेलेको भूमिका प्रशंसा गर्न लायक रहेको सुनाए ।

 

युवालाई इजरायलले प्रशिक्षार्थीका रूपमा अवसर दिएर नेपालका किसानलाई ठूलो गुन लगाएको उनको धारणा छ । इजरायल र नेपालस्थित इजरायली दूतावास एवं राजदूत गोडरले खेलेको भूमिका महतत्वपूर्ण रहेको भन्दै अध्यक्ष पाठकले धन्यवाद दिए । उनले नेपाल र इजरायलबीचको सम्बन्ध सुधारमा कृषि अध्ययनका लागि विद्यार्थी इजरायल पठाउने कार्यक्रमले सहयोग पुगिरहेको उनको दाबी छ ।

 


‘इजरायलमा प्रयोग भएको नवीनतम प्रविधिलाई नेपालमा भित्र्याउन कार्यक्रम महत्त्वपूर्ण रहेको छ । मेचीदेखि महाकालीसम्मका युवा किसानलाई समेट्दै यो कार्यक्रमलाई अझै व्यापक बनाइनुपर्छ’, उनले भने । इजरायले उपलब्ध गराएको अवसरका कारण नेपालका गरिब, विपन्न, दलित, महिला, अल्पसंख्याकलगायतको जीवन परिवर्तनमा ठूलो सहयोग पुगेको अध्यक्ष पाठकले बताए ।

 


अहिले इजरायलबाट नेपाल फर्केका युवाले देशका लागि नमुनायोग्य कृषि कर्म गरिरहेको स्मरण गर्दै अध्यक्ष पाठकले सरकारले कार्यक्रमलाई साथ दिनुपर्नेमा जोड दिए । इजरायलबाट सिप सिकेर फर्केका धादिङको जीवनपुरका युद्ध न्यौपानेले अहिले वार्षिक १ करोड रुपैयाँ बराबरको तरकारी बिक्री गर्दै आएका छन् । धादिङकै नौबीसेका देवराज आचार्यले पनि उदाहरणीय तरकारी खेती गरिरहेका छन् ।

 

तनहुँको बाख्रा फार्म रूपन्देहीकी सिर्जना चौधरीले गरेको माछापालन व्यवसाय, झापाका चन्द्र बस्नेतको कृषि कर्मलगायत धेरै युवाको कृषि तथा पशुपालन कर्म गौरव गर्नलायक देखिएको उनले जानकारी दिए ।