close

चैनपुरको कृषि अनुदानले रोकिँदै विदेश जाने युवा

चैनपुरको कृषि अनुदानले रोकिँदै विदेश जाने युवा

Trulli
ADVERTISEMENT

संखुवासभा– कृषिमा लाग्ने अधिकांश किसानको आर्थिक अवस्था कमजोर छ । युवा पुस्ता कृषिमा आबद्ध हुनै चाहँदैन । रोजगारीको आसमा युवा शक्ति विदेश पलायन हुने क्रम रोक्ने जिम्मा अहिले स्थानीय सरकारको काँधमा छ । संखुवासभाको चैनपुर नगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर लागू गरेका योजनाले युवाहरू कृषि पेसाप्रति आकर्षित हुन थालेका छन् ।


 
कृषि र पशुपालनमा युवा आकर्षण बढाउन त्यति सजिलो छैन । छिटो मुनाफा नआउने कारणले पनि युवाहरू कृषि पेसाप्रति आकर्षित नभएका हुन् । चैनपुर नगरपालिकाले युवालाई कृषिमा आकर्षित गर्न विभिन्न कार्यक्रम लागू गरेको छ । युवाकै सहभागितमा कस्तो कार्यक्रमले फाइदा गर्छ भनेर अन्तरक्रिया आयोजना गरियो । कृषि उद्यमी, सीप विकासमा जोडलगायत नगरबासीकै मागअनुसार जनप्रतिनिधि अघि बढे । युवालाई रोजगारी दिने र कृषिमा लाग्नेलाई अनुदानका कार्यक्रम अघि सारियो । अहिले ती कार्यक्रमले नगरमा रोजगारी र उद्यमी बन्नेको संख्यामा वृद्धि हुँदै गएको चैनपुर नगरप्रमुख भरतकुमार खत्रीले बताए ।

 

युवालाई उद्यमी बनाउन नगरपालिकाले कृषिमा अनुदान दिँदै आएको छ । अनुदानकै कारण कृषि तथा पशुपालनमा युवा सहभागिता बढ्दै गएको छ । प्राविधिक सहयोग, सीपमूलक तालिम तथा आर्थिक अनुदानको कारण युवा अहिले स्वरोजगार बनिरहेका छन् । नगरपालिकाले पकेट क्षेत्र घोषणा, गोठ सुधार कार्यक्रमअन्तर्गत युवालाई प्रोत्साहन गर्दै आएको स्थानीय दुर्गा कटुवालको भनाइ छ ।

 


युवा उमेर केही सपना र आत्मविश्वास बोकेको समय हो । यस्तो समय युवा पुस्ता फुर्सदिला भए भने गलत बाटोमा लाग्न सक्छ । उनीहरुको ध्यान नभड्कियोस् भनेर नगरपालिकाले खेलकुद कार्यक्रम सञ्चालन गर्न थालेको छ । नगरभित्रका खेलाडीको सीप र क्षमता बढोस् भनेर खेलकुदका कार्यक्रम आयोजना गरिएको छ । प्रदेश स्तरको मेयर गोल्डकप कार्यक्रमले युवामा उत्साह भर्न थाले नगरप्रमुख खत्रीको दाबी छ ।

 

खेलकुद विकासका लागि विभिन्न विद्यालयमा भएका खेल मैदान तथा विभिन्न वडामा खेल मैदान निर्माण गर्ने काम भएको छ । नगरपालिकाका साथै वडाले पनि आफ्नो ठाउँबाट खेलाडीलाई सहयोग गरिरहेको नगरपालिकाको वडा नम्बर ४ का वडाध्यक्ष धनबहादुर तामाङले जानकारी दिए ।

 

नगरपालिकाले युवाको जोस, जाँगर र आत्मविश्वास बढाउने खालका कार्यक्रम सञ्चालन गरेको छ । यसका लागि युवालाई उद्यम, खेलकुदमा संलग्न गराएर उनीहरूको सिप, ज्ञान र क्षमता प्रयोग गर्ने काम जारी छ । युवाले आफ्नै नगरमा उत्पादनमुखी काम गर्न पाएका छन् । सहुलियत ब्याजदरमा ऋण र ब्याजमा अनुदान दिँदा युवा विदेश पलायनबाट रोकिएका छन् । रोजगार रोज्ने युवालाई काम, उद्यमी बन्नेलाई ऋण र खेलाडी बन्ने सपना बोकेकालाई खेलाडी बन्ने अवसर नगरपालिकाले सिर्जना गरिदिएको छ ।