close

कृषिबाट नागरिकको आर्थिक स्तर उकास्दै अर्जुनधारा

कृषिबाट नागरिकको आर्थिक स्तर उकास्दै अर्जुनधारा

Trulli
ADVERTISEMENT

झापा–पशुपालन ग्रामीण अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको आयमूलक पेसा हो । पशुपालनलाई सम्मानजनक र व्यावसायिक पेसा बनाउने मुख्य जिम्मेवारी स्थानीय तहकै काँधमा छ । झापाको अर्जुनधारा नगरपालिकाले अघि सारेका कृषिमैत्री योजनाले पशुपालक किसानको आर्थिक स्तर उकास्न मद्दत गरेको छ । पशुपालनबाटै आयआर्जन बढाउन सकिन्छ भन्ने सफल उदाहरण अर्जुनधाराले प्रस्तुत गरेको छ । 

 

कृषि क्षेत्रमा मात्र नभई राष्ट्रिय अर्थतन्त्र, खाद्य तथा पोषण सुरक्षा, रोजगारी बढाउन पशुपालन पेसाको महत्त्वपूर्ण भूमिका छ । अर्जुनधारा नगरपालिकामा पशुपालनबाट विकासका रेखा कोर्ने धेरै आधार बनिसकेका छन् । नगरमा व्यावसायिक रूपमा खसीबाख्रा बंगुर, कुखुरापालन गर्ने किसानको संख्या बढ्दै छ । दैनिक १५ सय लिटर दूध बिर्तामोड बजारमा बिक्री हुने गरेको छ । नगरपालिकामा पशुपक्षी, मत्स्य तथा कछुवा विकास शाखा खोलिएको छ । यसबाट पशुपालक किसानलाई आइपर्ने समस्या समाधान गरिदिँदा पशुपालन क्षेत्रमा आमूल परिवर्तन भएको नगरपालिकामा रहेको आरके एग्रिकल्चर सञ्चालक कमल कडरिया बताउँछन् ।

 

कृषि तथा पशुपक्षी क्षेत्रमा देखिएको बिचौलिया अन्त्य गर्न सुरु गरिएको पशुपक्षी पकेट कार्यक्रम क्रमशः विस्तार भइरहेको छ । नगरको वडा नम्बर २ मा आर्थिक वर्ष ०७५/७६ बाट सुरु गरिएको उत्पादन, प्रशोधन र बजारीकरणमा सहजीकरण र सहयोग गर्ने कार्यक्रमले १ सय जना परिवार लाभान्वित भएका छन् । आर्थिक वर्ष ०७६/७७ मा वडा नम्बर १ का ३ सय र आर्थिक वर्ष ०७७/७८ मा वडा नम्बर ९ र १० मा १ सय जना परिवारमा आत्मनिर्भर बनाउने गरी सुरु भएको कार्यक्रमबाट किसानले लाभ लिइरहेका छन् । नगरले कृषकसँगको साझेदारीमा मिल्क ड्याम, मिल्क पम्प र गेट भल्भ वितरण गरेको छ । 


यस्तै, मिल्क एनलाइजर, डजिटल तराजु, १५ केभीको जेनेरेटर वितरण गरेको छ । मिल्क होलिडे अन्त्य गर्ने क्रममा नगरले दुग्ध संकलन केन्द्र स्थापनामा पनि सहयोग गरेको छ । नगरपालिकाको आर्थिक सहयोगकै कारण किसान समूहले चिलिङ भ्याट स्थापना गरेर दूध संकलन थालेका छन् । आफ्नो टोलछिमेकमै दूध बिक्न थालेपछि किसान पशुपालनमा हौसिएको नगरभित्र रहेको हाम्रो स्वावलम्बी उद्यमी महिला सहकारीका अध्यक्ष खड्गमाया पराजुली र खुदुनबारी कृषक समूहका अध्यक्ष तुलसीप्रसाद ढकालको भनाइ छ ।

 

नगरले पशुपक्षी तथा मत्स्य नीति बनाएरै पाँच वर्षमा किसानको अपेक्षाअनुसार काम गरेको छ । किसानलाई आवश्यक पर्ने प्राविधिक सेवा, पशुपक्षीलाई चाहिने दाना, घाँस तथा घाँसको बिउ उत्पादनमा प्रोत्साहन, परजीवी नियन्त्रणका लागि नाम्ले, जुका, जुम्रा आदिको औषधी निःशुल्क वितरण, उन्नत जातको नश्ल सुधारका लागि अनुदान व्यवस्था, व्यावसायिक कृषक समूह तथा फर्मलाई बिमामा अनुदान, पशुपक्षी, मत्स्य तथा कछुवा विकास शाखाले पशुको रोग र उपचार तथा विकासमा अध्ययन, अनुसन्धान गरेर रोग लाग्न नदिने अवस्था सिर्जना गर्न तालिम र प्रशिक्षण समेत किसानलाई दिँदै आएको नगरपालिकाका पशु सेवा प्राविधिक बेनुकुमार बस्नेत र वडा नम्बर ११ का वडाध्यक्ष भैरवबहादुर खड्काले बताए ।

 

पशुरोग र उपचार क्षेत्रमा काम गरेकै कारण नगरमा खोरेत, रेबिजलगायतका रोग उन्मूलन भएका छन् । यसले पशु मर्ने र किसानले नोक्सानी बेहोनु पर्ने समस्या समाधान हुनुका साथै मानव स्वास्थ्यमा पनि फाइदा पुगेको नगरपालिकाको पशुपक्षी, मत्स्य तथा कछुवा विकास शाखाका प्रमुख पदमलाल राईले जानकारी दिए ।

 

कृषिबाट समृद्धि हासिल गर्न नसकेरै विदेशिएका युवालाई अहिले नगरले गरेको सहयोग र लगानीले स्वदेश फर्कने वातावरण बनेको छ । सिँचाइ सुविधा र नगद साझेदारीले धेरै किसान उद्यमी बनेका छन् । पशुपक्षी पकेट क्षेत्रले नगरलाई आत्मनिर्भर बनाउने आधारशिला तयार भएको नगरप्रमुख हरिकुमार रानाको बुझाइ छ ।

 

पशु बिमा कार्यक्रम पनि नगरपालिका सफल हुँदै गएको छ । अर्जुनधारामा पशु बिमा गराएबापत संघीय सरकारले ७५ प्रतिशत बिमाबापतको प्रिमियम रकम दिने गरेको छ । संघीय सरकारसँगै नगरले पशुपालक किसानलाई थप आर्थिक सहयोग गरेपछि अहिले पशु बिमा गराउने बढ्दै गएका छन् ।