close

किसानलाई कृषि तथा पशुपालनमा आकर्षित गर्दै महालक्ष्मी

किसानलाई कृषि तथा पशुपालनमा आकर्षित गर्दै महालक्ष्मी

Trulli
ADVERTISEMENT

धनकुटा–सरकारले कृषिलाई गरिबी निवारण, बेरोजगारी अन्त्य र खाद्य सुरक्षाको आधारका रूपमा चित्रण गरेको छ । कृषिबाटै आर्थिक समृद्धि सम्भव तुल्याउने जिम्मा तीनै तहका सरकारले पाएका छन् । कृषिबाट नागरिकको जीवनस्तर परिवर्तन गर्न सकिन्छ भन्ने बुझेरै धनकुटाको महालक्ष्मी नगरपालिकाले कृषि र पशुपालनमा होमिन किसानलाई प्रोत्साहन गरिरहेको छ । 

 

‘कृषि उद्यम, व्यापार, पर्यटन र स्वरोजगार, दिगो, शान्ति, सुशासन र समृद्ध महालक्ष्मी नगर’ । यो महालक्ष्मी नगरपालिकाले लिएको नारा हो । यही नारालाई आत्मसात् गरेकै कारण अहिले नगरका सबै क्षेत्रमा विकासको रेखा कोरिएका छन् । नारामा समावेश कृषिलाई उद्यम र व्यापारसँग जोड्दा नगरले नगरबासीबाट ठूलो प्रशंसा बटुलिरहेको छ । नगरपालिकाले पशुपालन तथा कृषि कर्ममा लाग्ने कृषकलाई अनुदानमा बिउबिजन दिने गरेको छ । विभिन्न सीपमूलक र प्रविधिको तालिम दिइरहेको छ । 

 

अनुदानमा औजार तथा उन्नत पशुको बिउ दिँदा कृषि कर्म गर्ने हौसिएका छन् । नगरका विभिन्न वडालाई कृषि पकेट क्षेत्रमा विभाजन गरिएको छ । अहिले नगरको वडा नम्बर १ लाई गाई पकेट क्षेत्र घोषणा गरेर पशुपालनबाट कृषकलाई लाभ दिलाउन कार्यक्रम सञ्चालन गरिएको छ । वडा नम्बर ९ मा प्रदेश सरकार र नगरपालिकाका साथै छथर गाउँपालिकाको संयुक्त लगानीमा रहेको सगरमाथा बहुउद्देश्यीय सहकारीको लागत साझेदारीमा गाई स्रोत केन्द स्थापना गरिएको वडा नम्बर ८ का वडाध्यक्ष भोलानाथ काफ्लेले बताए ।

 

गाई स्रोत केन्द्र स्थापनाको उद्देश्य उन्नत जातका गाई खोज्न बाहिर जान नपरोस् भन्ने हो । उन्नत जातका बाख्रापालनमा पनि नगरपालिकाले कृषकलाई अनुदान दिँदै आएको छ । वडा नम्बर ५ र ६ मा बाख्रा पकेट कार्यक्रम लागू गरिएको छ । कार्यक्रमअन्तर्गत दुई सहकारीलाई १५ लाख प्रदान गरिएको छ । बोयर जातका बोका, बिउ राँगो र साँढे पशुपालकलाई बाँडिँदै आएको नगरपालिकाको पशु शाखा प्रमुख किरण कार्कीको भनाइ छ ।

 

बढी आम्दानी लिन सकिने हुँदा बोयर बोकामा बढी आकर्षित भएको स्थानी किसानले बताए । नगरपालिकाले आर्थिक वर्ष ०७८/८९ देखि नश्ल सुधार गर्न थप कार्यक्रम ल्याएको छ । कृत्रिम गर्भधान कार्यक्रम सुरु भएको छ । यो सेवा नगरपालिकाले निःशुल्क दिँदै आएको छ ।

 

यसका लागि प्राविधिक घरघरै पुग्छन् । तीन÷चार वर्षमा यसले राम्रो मुनाफा दिने लक्ष्य राखिएको छ । बाख्रा र गाईसँगै बंगुरपालनलाई पनि नगरपालिकाले प्रोत्साहन गरेको छ । नगरपालिकाले दुई वटा सहकारीमार्फत पचास वटा उन्नत जातका बंगुर वितरण गरेको छ । नगरले आर्थिक वर्ष ०७७/७८ मा चिलिङ भ्याट सञ्चालन गरेको थियो । 

 

यो प्रविधिले दूधलाई चिसो बनाएर राख्छ र किसानको दूध धेरै दिनसम्म टिकाउँछ । घाँस काट्ने मेसिन किसानलाई उपलब्ध गराइएको छ । बाख्राको नयाँ पकेट क्षेत्र बनाउने योजना अघि बढेको छ । नगदे बालीमा प्रोत्साहन गर्न किसानलाई तालिम र बिउ दिने काम गरिएको छ । कुन ठाउँमा कुन बाली वा अन्न उत्पादन हुन्छ, त्यहीअनुसार नगरपालिकाले सहयोग गर्दै आएको छ । नगरपालिकाले अदुवा, बेसार, ल्वाङ, सुकमेल र मरीचका विरुवा वितरण गरेको छ । एभोकाडो, ड्रागन फ्रुट, आँप, लिचीजस्ता फलफूललाई प्रवद्र्धन गरिएको स्थानीय दिलकुमारी राईको बुझाइ छ । 

 

नगरपालिकाले कृषकलाई नयाँ बिउबिजन, नयाँ कृषि औजारमा अनुदान दिने गरेको छ । नगरपालिकामा गहुँ, मकै र फापर उत्पादन विस्तार गर्न बाली क्षेत्र विस्तार कार्यक्रम लागू गरिएको छ । पकेट क्षेत्र घोषणा कार्यक्रम प्रभावकारी भएको छ । नगरबासीको समृद्धिका लागि नगरपालिकाले लिएको संकल्प कृषि क्षेत्रमार्फत पूरा हुँदै गएको छ । 


नगरपालिकाले आव ०७८/८९ देखि नश्ल सुधार कार्यक्रम कार्यान्वयन, कृत्रिम गर्भधान कार्यक्रम सुरु, आव ०७७/७८ मा चिलिङ भ्याट सञ्चालन, घाँस काट्ने मेसिन वितरण, बाख्राको नयाँ पकेट क्षेत्र, अदुवा, बेसार, ल्वाङ, सुकमेल र मरीचका बिरुवा वितरण गरेको छ ।