close

कृषि अनुसन्धान केन्द्रको सहकार्यपछि पाख्रीबासको पशुपालनमा उछाल

कृषि अनुसन्धान केन्द्रको सहकार्यपछि पाख्रीबासको पशुपालनमा उछाल

Trulli
ADVERTISEMENT

धनकुटा–सरकारले कृषिसम्बन्धी अनुसन्धान र प्रविधि विकासका लागि सञ्चालन गरिरहेका कृषि अनुसन्धान केन्द्रले जनशक्ति, उपकरण र पूर्वाधार अभावमा सोचेजति काम गर्न सकिरहेका छैनन् ।

 

तर, धनकुटाको पाख्रीबासमा रहेको कृषि अनुसन्धान केन्द्रले कृषि र पशुपालन क्षेत्रमा लोभलाग्दो काम गरेको छ । नगरपालिकाको समन्वयमा केन्द्रले अघि बढाएका कार्यक्रमले अहिले नगरपालिकामा पशुपालन व्यवसाय फस्टाएको छ ।

 

४७ वर्षअघि धनकुटाको पाख्रीबासमा स्थापना भएको कृषि अनुसन्धान केन्द्रले गरेका अनुसन्धानमध्ये कालो बंगुरले देशभरि ख्याति कमाएको छ । कालो बंगुरसँगै गिरिराज कुखुरा, खयर र बोयर जातका बाख्राको अनुसन्धान पनि यसै केन्द्रले गरेको हो । केन्द्रबाट विकास गरिएका कतिपय अनुसन्धानले पशु व्यवसायीलाई फाइदा पुगेको छ । कतिले पशुपालनलाई आयआर्जनको माध्यम बनाएका छन् भने दूधबाट चिज उत्पादन गरेर मनग्ये आम्दानी लिइरहेका छन् । 

 

स्थानीय युवराज कार्कीले पाख्रीबास बजारबाट ३ किलोमिटर टाढाको आफ्नै घरमा चिज उद्योग खोलेका छन् । उनले पाख्रीबास बजारबाट दैनिक दूध संकलन गरेर आफ्नो डेरीमा ल्याउँछन् र त्यसबाट नौनी र छुर्पी उत्पादन गर्छन् । छुर्पी अमेरिका र युरोपका बजारसम्म पुगेको नगरपालिकामा रहेको विकास डेरी उद्योगका सञ्चालक युवराज कार्की बताउँछन् ।

 

यो उद्योगले पाख्रीबासमा दूधको राम्रो बजार पशुपालनको गतिलो संभावना देखाएको छ । गरे गाउँ घरमै के हुँदैन र भनेर उदाहरण बनेको छ । त्यसैले नगरपालिकाले विकास डेरीलाई केही सहयोग गरेको सञ्चालक कार्की सुनाउँछन् ।

 

कुनै समय उत्पादित दूध नबिकेर खेर जाने स्थिति थियो । तर, त्यो दूधलाई प्रयोग गरी गाउँघरमै छुर्पी, नौनी उत्पादन गर्न सकिने जनचेतना जगाउन नगरपालिकाले काम गर्दै आएको छ । यसले गर्दा गाउँघरमा पशुपालन र दूधजन्य व्यवसायमा लाग्ने बढेको वडा नम्बर ९ का वडाध्यक्ष चन्द्रलाल घिसिङको भनाइ छ ।

 

नगरपालिकाले हालसम्म पशुपालक किसानका लागि १० वटा कार्यक्रम अघि सारेर नगरबासीलाई जनप्रतिनिधिको कर्तव्य प्रस्ट्याउने गरेको छ । हालसम्म नगरपालिकाले आकस्मिक पशुपक्षी उपचार सेवा, हरेक वडामा एउटा पशुपक्षी पकेट क्षेत्र, बाख्रा प्रवद्र्धन कार्यक्रम, बंगुर प्रवद्र्धन कार्यक्रम, छुर्पी प्रवद्र्धन कार्यक्रम, रेबिज रोग नियन्त्रण, नश्ल सुधार कार्यक्रम, पशु बिमा कार्यक्रम, डालेघाँस नर्सरी, पशुपक्षीपालनसम्बन्धी तालिम तथा गोष्ठी सञ्चालन गरेको छ । 

 

नगरका अन्य किसानलाई पनि अनुदान दिएको छ  । गाईका साथै बाख्रा, बंगुरपालनमा नगरले विशेष अनुदान दिइएको नगरपालिकाका प्रमुख वृषबहादुर राईले जानकारी दिए ।

 

नगरपालिकाले पशु स्वास्थ्य सुधारमा पनि काम गर्दै आएको छ । नगरले समय–समयमा शिविर सञ्चालन गरेर पशुको स्वास्थ्योपचार पनि गर्ने गरेको छ । स्वस्थ पशुपालन गरी स्वच्छ दूध, अन्डा र मासु उत्पादनमा प्राविधिक परामर्श दिई जनचेतना दिइँदा पशुपालक लाभान्वित हुँदै आएको नगरपालिकाका पशु विकास अधिकृत गोर्खबहादुर तामाङले बताए ।

 

पशुपालनमा युवा आकर्षण बढेको छ । विदेश किन जाने, यही काम गरौँ भनेर युवाले काम थालेका छन् । यसबाट उनीहरूले राम्रो आम्दानी गरिरहेको वडा नम्बर ६ का वडाध्यक्ष दलबहादुर तामाङको भनाइ छ ।

 

कृषि क्षेत्रमा मात्र नभई राष्ट्रिय अर्थतन्त्र, खाद्य तथा पोषण सुरक्षा, रोजगारी अभिवृद्धि गर्न पशुपालनले ठूलो भूमिका निर्वाह गर्दै आएको छ । पशुपालनमा गरिएको लगानीले भविष्यमा पाख्रीबासलाई आत्मनिर्भर बनाउँदै कुल गार्हस्थ उत्पादनमा नगरपालिकाको योगदान महत्वपूर्ण हुने जनप्रतिनिधिको दाबी छ ।