काठमाडौं । भीमदत्त नगरपालिका–२ भाँसीका ललित अवस्थीले आठ वर्षअघि व्यावसायिक रूपमा गड्यौलापालन सुरु गर्दा स्थानीय पढेलेखेको मान्छेले के गर्न थालेको हो भनेर मुखामुख गर्थेे ।
गड्यौला खेतमै थुप्रै पाइन्छ किन खरिद गरेर ल्याएर पाल्नुपरेको होला भनेर भनेर हाँस्थे ।
गड्यौलापालन सुरु गर्दा गिज्यउने व्यक्ति पनि अहिले गड्यौलाबाट उत्पादित कम्पोष्ट मलको महत्त्व विस्तारै बुझ्दै गएका छन् । ‘हाँस्नेहरुले नै गड्यौँला मलको माग गर्न थालेका छन् । मलको माग अधिक छ,’ अवस्थीले भने, ‘मागअनुसारको मल उत्पादन गर्न सकिरहेको छैन ।’
अवस्थीले हाल बाह्रवटा चेम्बरमा भर्मी मल उत्पादन गर्दै आएका छन् । मलको माग अधिक हुन थालेपछि उनले आधुनिक उपकरणसमेत राखेका छन् ।
मल परीक्षण गरी प्लाष्टिकरहित प्याकेटमा राखेर मागअनुसार आपूर्ति गर्ने व्यवस्था गरिएको छ । माटोलाई प्लाष्टिकजन्य वस्तुले असर गर्ने हुनाले प्रांगारिक वस्तुले नै प्याकिङ गरी मल बिक्री गर्दै आएको उनको भनाइ छ ।
प्याकिङमै लेवल राखेर त्यसमा कुन बोट बिरुवामा कसरी कति मात्रा मल राख्ने भनेर उल्लेख गरिएको छ अवस्थीले भने, 'मल प्रयोगकर्ताले सजिलै बुझन सकून् भनेर यस्तो गरेका हौँ ।’
गड्यौलाले उत्पादन गरेको मल किसानमाझ निकै लोकप्रिय हुँदै गएको छ ।विरुवाको वृद्धि विकासका लागि यस मलमा पोषक तत्व नाइट्रोजन, फस्फोरस, पोटास, क्याल्सियम, म्याग्नेसियम, फलाम, मोलिब्डेनलगायत पाइन्छ ।
विशेषगरी, नर्सरी र गमलामा घर सजावटका लागि राख्ने विरुवा र धानको बेर्नामा राख्नका लागि यो मलको माग बढी आउने गरेको उनले जानकारी दिए ।
किसानले खेतबारीमा समेत यही मल प्रयोग गर्न थालेको उनले बताए । ‘यस वर्ष ४० क्विन्टल मल तीन हजार ५०० का दरले बिक्री गरेँ,’ उनले भने, ‘गड्यौला मात्रै एक गैरसरकारी संस्थालाई एक सय किलो दुई हजार ५०० प्रति किलोका दरले बिक्री गरेँ ।
अहिले मागअनुसार मल पुुर्याउन गाह्रो भइरहेको बताउँदै उनले गड्यौलाले उत्पादन गरेको मलले तत्काल उत्पादन नबढाउने बताए । ‘मल राख्दै गए माटोको गुणस्तरमा सुधार गरी विस्तारै उत्पादनसमेत बढाउँदै लैजान्छ,’ उनले भने ।
किसानले मल मात्रै होइन गड्यौलासमेत खरिद गरी घरमै मल उत्पादन गर्नसमेत थालेका छन् । अवस्थीबाट गड्यौला खरिद गरेर कृष्णपुर नगरपालिका–२ का ईश्वर थापाले समेत घरमै भर्मी कम्पोष्ट मल तयार गर्नका लागि आठ वटा च्याम्बर राखेका छन् ।
दुई हजार ५०० प्रतिकिलोका दरले चार किलो मल तयार गर्ने गड्यौला खरिद गरेको उनले बताए । ‘चेम्बरमा राख्नका लागि आठ किलो गड्यौला माग गरेको थिए,’ थापाले भने, ‘चार किलो मात्रै पाएको छु । चेम्बरमा कच्चापदार्थ राखेर मल तयार गर्न जुटेको छु ।’
थापाजस्तै कृष्णपुर नगरपालिका– २ वाणीका शेरबहादुर सिंहले समेत एक दशकदेखि घरमै बनाइएको चेम्बरमा गड्यौलापालनबाट भर्मी कम्पोष्टमल तयार गरी खेतबारीमा राख्दै आएका छन् ।
चितवनको रामनगरका किसानले पनि गड्यौलापालन गरी मल उत्पादन गरेको हेर्न गएका बखत प्रति गड्यौला दुईका दरले खरिद गरी ल्याएर घरमै पाल्न सुरु गरे । ‘पानीले कुहाउने स्याउला, पुरानो गोबर, गत्ता, केराको थाम, जुटका बोरी, खेर गएको तरकारी, सुती कपडालगायत कुहिने वस्तु चेम्बरमा राख्छौँ । यी वस्तु राखेको ४५ दिनमै मल तयार हुन्छ,’ उनले भने ।