close

भैंसीको जन्मदर्ता गर्ने किसानलाई भत्ता

भैंसीको जन्मदर्ता गर्ने किसानलाई भत्ता

Trulli
ADVERTISEMENT

काभ्रे । पनौती नगरपालिकाले भैंसीको पाडापाडीको जन्मदर्ता गराउने भएको छ । स्थानीयहरूको घरमा जन्मिएको पाडापाडीको जन्मदर्ता बनाउने र जन्मदर्ता बनिसकेपछि भैंसीधनी किसानलाई नगरपालिकाले भत्ता दिने गरेको छ । 

आर्थिक वर्ष २०७६/०७७ बाट भैंसी सुत्केरी भत्ता तथा जन्मदर्ता कार्यक्रम नगरपालिकाले ल्याएको थियो । कार्यक्रम ल्याएको पहिलो वर्ष भने लगभग ६ लाख रुपैयाँ सुत्केरी भत्ता प्रदान गरेको पनौती नगरपालिकाका कृषि शाखा प्रमुख लिलानाथ सापकोटाले बताए । 

सो रकम लिने किसानको सङ्ख्या हरेक वर्ष बढ्दै गएको छ । आर्थिक वर्ष २०७८/०७९ मा मात्रै भैंसी सुत्केरी स्याहार भत्तामा नगरपालिकाले ४० लाख रुपैया भन्दा बढी खर्च गरेको उनले बताए । 

‘भैंसीको संरक्षण प्रवर्धन अभियान’अन्तर्गत भैंसी पहिलो बेत व्याउँदा पाँच हजार रुपैयाँ र दोस्रोपछि अन्य बेत व्याउँदा प्रति बेत दुई हजार रुपैयाँ किसानलाई दिने गरेको छ । 

पाडीहरूलाई हुर्कने वित्तिकै बेच्ने चलन पनि कम भएको उनको अनुभव छ । पाडी पहिलो बेत ब्याउँदा पाउने सुत्केरी भत्ताको लागि पनि किसानहरुले पाल्न थालेका छन्  । साथै भैँसीको बिमा गर्ने किसानको संख्या पनि बढेको उनी बताउँछन् । 

भैंसीको सुत्केरि भत्ता पाउनको लागि पाडापाडीको जन्मदर्ता अनिवार्य गर्नुपर्ने नगरपालिकाले जनाएको छ । त्यसको लागि भैंसी व्याएपछि माउ, बच्चा र पशुधनीको एकैठाउँमा उभिएको फोटो चाहिन्छ । नगरपालिकाले जारी गरेको प्रमाण पत्र लिनको लागि भैंसी धनी किसानको नाम, ठेगाना, सम्पर्क नम्बरसहित फारम भर्नुपर्छ । 

फारममा भैंसीको बेत कुन हो, भैंसी बीमा गरिएको कम्पनी कुन हो ? खुलाउनुपर्ने साँपकोटा बताउँछन् । त्यस विवरणलाई प्रमाणित गर्दै प्राविधिकको प्रमाणीकरण र ३ जना छिमेकीको साक्षी आवश्यकता पर्छ । वडा जनप्रतिनीधिले प्रमाणित गरेपछि पाडापाडीको जन्मदर्ता प्रमाणपत्र बन्छ । यही आधारमा सुत्केरी भत्ता किसानले  रकम पाउने प्रावधान रहेको नगरपालिकाले जनाएको छ ।