close

उपत्यकाका नगरप्रमुखहरूद्वारा मल उत्पादन केन्द्रको अवलोकन (भिडियो रिपोर्ट)

उपत्यकाका नगरप्रमुखहरूद्वारा मल उत्पादन केन्द्रको अवलोकन (भिडियो रिपोर्ट)

ADVERTISEMENT

काठमाडौं । फोहोरमैला व्यवस्थापनमा काठमाडौं उपत्यकाका १८ वटै पालिकाले साझा अवधारणासहित काम गर्ने भएका छन् ।

त्यही क्रममा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहको आग्रहमा उपत्यकाका नगरप्रमुखले मध्यपुर थिमिस्थित रिकिसी प्रांगारिक मल उत्पादन केन्द्रको भ्रमण गरेका छन् ।

उपत्यकाका फोहोर व्यवस्थापन गर्न साझा अवधारणा बनाउनका लागि काठमाडौं उपत्यकाको सबै पालिकाका मेयरहरूले मध्यपुर थिमिस्थित प्रांगारिक मल उत्पादन केन्द्रको अवलोकन गरेका हुन् । 

काठमाडौँ मेयर बालेन्द्र शाहसहित उपप्रमुख सुनिता डंगोल, ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन, दक्षिणकालीका नगरप्रमुख मोहन बस्नेत, गोकर्णेश्वरका नगरप्रमुख दीपककुमार रिसाल, मध्यपुर थिमिका प्रमुख सुरेन्द्र श्रेष्ठ, चाँगुनारायणका प्रमुख जीवन खत्रीले जापानी प्रविधिबाट मल उत्पादन गरिरहेको रिकिसी कम्पोष्ट प्रालिको भ्रमण गरेका हुन् । 

मल कारखानाको अवलोकनपछि उपत्यकाका नगर प्रमुखहरूले बञ्चरे डाँडाको विकल्पमा अन्य स्थानको खोजी गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । साथै अबदेखि उपत्यकाको घर–घरबाट दैनिक निस्किने फोहोर छुट्याएर व्यवस्थापन गर्नसक्ने गरी विकल्पको खोजी गर्ने क्रममा मध्यपुर थिमि आएको समेत बताए ।

मध्यपुर थिमिमा तत्कालीन नगरप्रमुख मदनसुन्दर श्रेष्ठले चार वर्षअघि जापानी प्रविधिबाट कम्पोस्ट मल उत्पादन गर्न सक्ने प्राविधि टोली झिकाएर सिकेर प्राविधिक टोलीसहित ल्याएर थिमिमा मल उत्पादन सुरु गरेका थिए । अहिले मध्यपुर थिमिको वडा नम्बर ४ र ५ बाट संकलित फोहोरबाट मात्रै मल उत्पादन हुँदै आएको छ । साथै यो प्रविधिबाट भक्तपुर नगरपालिकाले पनि परीक्षणका रुपमा मल उत्पादन सुरु गरेको छ । 

हरेक दिन झन्डै एक हजार मेट्रिक टन फोहर उत्पादन हुने काठमाडौँमा यो प्रविधि अनुसार मल उत्पादन गर्न भने केही चुनौती छन् । काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्थापन विभागका अनुसार यहाँ उत्पादित फोहोरको ७० प्रतिशत कुहिने फोहोर हुन्छन् ।

जसबाट कम्पोष्ट मल बनाएर कृषि कार्यको लागि प्रयोग गर्न त सकिन्छ । तर, त्यति धेरै मल उत्पादन गर्न सकिने जग्गा भने उपत्यकामा भेट्न मुस्किल नै छ । काठमाडौंमा उत्पादन हुने फोहर मध्ये २० प्रतिशत कुन कुनै आधारमा पुनःप्रशोधन गर्न सकिन्छ । १० प्रतिशत भने व्यवस्थापन नै गर्नुपर्ने हुन्छ । जसका कारण उपत्यकाका स्थानीय तहहरू कस्ता प्रकृतिका फोहोर कसरी व्यवस्थापन गर्ने भन्ने अन्योलमा छन् ।

हुन त कुहिने फोहरबाट कम्पोष्ट मल बनाउँदा व्यवस्थापनमा लाग्ने खर्चको बचत मात्रै हुँदैन, उल्टै आम्दानी हुन्छ । 

हरेक वर्ष मलको अभाव झेलिरहेका किसानलाई राहतमा मल वितरण गर्न सकिन्छ । मल बनाउँदा आउने दुर्गन्धबाट सबैभन्दा बढी सास्ती मजदुर र स्थानीयबासीले व्यहोर्नुपर्ने हुन्छ । 

तर, जापानी प्रविधिबाट मल उत्पादन गर्दा दुर्गन्ध नआउने रिकिसी कम्पोष्ट प्रालिको भनाइ । प्राकृतिक विधिबाट तयार पारिने हुँदा यो मल कृषि उत्पादनका लागि राम्रो रहेको बताइन्छ । 

रिकिसी कम्पोष्ट तयार पार्न भने ३ महिना लाग्छ । काठमाडौँ उपत्यकाका पालिकाको टोलीलाई यस बारे समेत जानकारी गराइएको छ । मल उत्पादन हुन लामो समय लाग्ने तथा जग्गा पनि पर्याप्त मात्रामा चाहिने हुँदा काठमाडौं उपत्यकाको एउटै ठाउँमा सबै फोहर प्रशोधन गर्न सकिँदैन । तर, विभिन्न ठाउँ छुट्याएर मल उत्पादन गर्न भने कुनै कठिनाइ नहुने देखिन्छ ।