close

एउटै वडाबाट वार्षिक चार करोडको दूध बिक्री

एउटै वडाबाट वार्षिक चार करोडको दूध बिक्री

Trulli
ADVERTISEMENT

काठमाडौं । म्याग्दीको बेनी नगरपालिकाको एउटै वडाबाट वार्षिक चार करोड मूल्यबराबरको दूध निकासी हुन थालेको छ ।  

बेनी नगरपालिका–४ को सिङ्गा, बास्कुना, सुर्केमेला, राक्से, ठूलोखोला, स्वाँत, थामडाडा र तातोपानीका कृषकले दैनिक एक हजार लिटर दूध बेच्छन् ।

वडाध्यक्ष अणबहादुर खड्काका अनुसार तीन वटा सहकारी संस्था र एक जना कृषकले बेनीमा दूध निर्यात गर्दै आएका छन् ।

‘सहकारीले कृषकले उत्पादन गरेको दूध सङ्कलन गरेर बजार लैजाने गरेका छन्,’ उनले  हाँले भने, ‘यो वडाबाट मात्रै दैनिक एक हजार लिटर दूध निकासी हुन्छ ।’

बास्कुना कृषि सहकारी संस्थाले बास्कुना र थामडाँडाबाट दैनिक दुई ६० लिटर, सिङ्गाको शुभकामना दुग्ध सहकारीले दैनिक दुई सय ६० लिटर र सिमलचौर विउविजन तथा कृषि सहकारी संस्थाले मङ्गलाका कृषकसहित चार सय ५० लिटर दूध बेनीमा ल्याउने गरेका छन् ।

सिङ्गाका कृषक कोपीपाल पौडेलले व्यक्तिगतरुपमा दैनिक ४० लिटर दूध बिक्री गर्छन् । वडाभर करिब सय बढी कृषकले गाईभैँसी पालन गरेर दूध उत्पादन गरेका छन् । बास्कुना कृषि सहकारीले बेनीमा आफ्नै बिक्री कक्ष सञ्चालन गरेको अध्यक्ष तिलक गुरुङले बताए । 

‘बास्कुनालाई फलफूल र दूधमा नमुना (एफएम फ्रुट–मिलक) भिलेज बनाउने अभियानमा छौँ,’ उनले भने, ‘गाईभैँसी पालनबाट कृषकको जीवनस्तरमा परिवर्तन आएको छ ।’

उपभोक्ताको घरमै पुर्‍याँउदा प्रतिलिटर एक सय २० र डेरीलाई प्रतिलिटर एक सय १० का दरले दूध बिक्री हुने गरेको कृषक कोपीपाल पौडेलले बताए । 

‘वार्षिक करिब १७ लाख आम्दानी हुन्छ । खर्च कटाएर ६/७ लाख बच्छ,’ उनले भने, ‘पशुपालनबाट छोराछोरीको पढाइसँगै घरव्यवहार चलाउन सहज भएको छ ।’

कृषकले घरबाट सङ्कलन केन्द्रमा ल्याउने दूध गाडीमा राखेर बेनी पठाउने गर्छन् । सडक यातायातको सुविधासँगै सिङ्गाका कृषकले दूध उत्पादनका लागि व्यावसायिक गाईंभैँसी पाल्न थालेका थिए । विदेशबाट फर्किएका र युवाले पनि गाईभैँसीपालन गरेका छन् । 

भेटेरीनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रका प्रमुख जीवनप्रसाद आचार्यले सिङ्गा, अर्थुङ्गे र बरङ्जा क्षेत्रका कृषकले दूध उत्पादन गर्न थालेपछि आयात घटेको बताए । 

नयाँ फार्म स्थापना, स्तरोन्नति, गोठ सुधार, सङ्कलनकेन्द्र स्थापना, दूध ढुवानी गर्ने क्यान आदीमा केन्द्रले सघाएको छ । गत आर्थिक वर्षमा १८ लाख बजेट विनियोजन भएको उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रममार्फत दोभान, बास्कुना र सिमलचौर कृषि सहकारीमा आबद्ध सय कृषकले प्रतिलिटर २.५० का दरले १५ लाख ९० हजार अनुदान पाएका थिए ।