close

झापाका कृषकले तरकारी खेतीबाट मनग्य आम्दानी

झापाका कृषकले तरकारी खेतीबाट मनग्य आम्दानी

Trulli
ADVERTISEMENT

काठमाडौं । जिल्लाको उत्तरी भेगका कृषकले तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन् । बुद्धशान्ति–१, ६ र ७का कृषकले व्यावसायिक तरकारी खेतीबाट नगद आम्दानी गर्दै आएका हुन् ।

कृषकले खुर्सानी, गोलभेँडा, घिरौँला, बन्दा, करेला, धनियाँ, काँक्रो, सिमी, बोडी, कोपी, सागजस्ता तरकारीबाट राम्रो आम्दानी गर्न सफल भएका हुन् । 

टनेल विधिबाट खेती गर्दा मौसमी र बेमौसमी तरकारी दोब्बर उत्पादन हुने भएपछि किसान यसतर्फ आकर्षित भएका छन् । पहिले खुला स्थानमा तरकारी फलाउन नसकेका कृषकले टनेल प्रविधिमा खेती गर्न थालेपछि मनग्य उत्पादन गरिरहेका छन् ।

कृषकले बारीमा मकै, कोदो, धानखेतीको सट्टा तरकारीखेती गर्न थालेका हुन् । अन्नबाली छाडेर व्यावसायिक तरकारीखेती गर्न थालेका कृषकमा पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने मान्यता विपरीत स्वदेशमै राम्रो आम्दानी गर्न सकिने विश्वास पैदा भएको शान्तिनगरका रघुनाथ कोइरालाले बताए । 

उनले दुई बिघा छेत्रफलमा सब्जीखेती लगाएका छन् । 

शान्तिनगरकै अर्का कृषक दलबहादुर राई परम्परागत तरिकालेभन्दा नयाँ विधिबाट गरिएको खेतीले किसानलाई फाइदा दिएको बताउनुहुन्छ । लागत घटाउन, उत्पादन बढाउन र रोग किराको समस्याबाट बच्न टनेलभित्र ‘हाइटेक’ प्रविधि किसानले प्रयोग गर्न थालेका छन् ।

स्थायी संरचनाको प्लास्टिकको टनेल बनाएर बिरुवाको जराजरामा आवश्यकताअनुसार सिँचाइ हुने थोपा सिँचाइ प्रविधि जडान गरिएको छ ।

थोपा सिँचाइ प्रविधिमार्फत बिरुवाको जरा जरामा पाइपमार्फत बिरुवालाई आवश्यकपर्ने पानी र खाद्य तत्व आपूर्ति गराइन्छ । सुधारिएको गोठ निर्माणले बस्तुभाउको मूत्र पनि सदुपयोग हुने गरेको बाहुनडाँगीका कृषक प्रदीप भण्डारी बताउँछन् । 

उत्पादन भएको तरकारी बिक्रीका लागि समस्या नभएको बुद्धशान्ति– ६ का तरकारी कृषक राजेन्द्र भट्टराईले बताए । उत्पादित सब्जी झापाकै बिर्तामोड, दमक, धुलाबारी, काँकडभित्तालगायत बजारमा बिक्री हुने गरेको भट्टराईले बताए । 

तरकारी बेचेर एक सिजनमा करिब रु एक लाखदेखि डेढ लाख आम्दानी हुने गरेको भट्टराईको भनाइ छ ।